नेपालमा कर छलि गर्ने भारतीय व्यापारीको काइदा– साथीकी श्रीमतीको नाममा घर ! | Khabarhub Khabarhub

नेपालमा कर छलि गर्ने भारतीय व्यापारीको काइदा– साथीकी श्रीमतीको नाममा घर !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ करोड ७ लाख गरी कूल ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजस्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

बङ्शलले काठमाडौँमा सञ्चालन गरेको हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरीद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको सो अनुसन्धानमा देखिएको हो । छली गरेको रकमबाट उनले नेपालीको नाममा विभिन्न भौतिक सम्पत्ति जोडेको फेला परेको छ ।

उक्त घटनामा सहयोगी बनेका दुवै कम्पनीका सञ्चालक रामसुन्दर राय र राकेश पाण्डेयसहित ११ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यही कात्तिक २५ गते मुद्दा दर्ता गरिएको छ । अन्य ८ जना नेपाली उनको सम्पत्ति आफ्नो नाममा राखिदिएकाले मतियारका रुपमा मुछिएका हुन् ।

‘बङ्शलले रु ११ करोड १९ लाख ८४ हजार १६४ बिगो बराबरको आर्थिक अपराध गरेको भेटियो, बिगो असुल उपर गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग गर्दै मुद्दा चलाएका छौँ,’ महानिर्देशक मैनालीले भने । मैनालीका अनुसार बङ्शलले दुई वटा गाडी, एउटा घर तथा सर्जिकल सामग्री बिक्री गर्ने फर्म नेपालीको नाममा राखेर राजस्व छली गरेका हुन् । मैनाली यस्तो घटना विभागका लागि पहिलो भएको बताउँछन् ।

‘आर्थिक अपराधविरुद्ध विभागले सूक्ष्म निगरानी गरिरहेको छ, यो घटना त्यसैको उपलब्धि हो, यस्ता झण्डै ६० वटा फर्म अहिले पनि अनुसन्धानको दायरामा छ,’ मैनालीले थपे । बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले विभागले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको छ ।

विभागले झुठो बिल जारी गरी ११ अर्बभन्दा बढी बिगो बराबरको राजस्व चुहावट गरी आर्थिक अपराध गरेको आरोप लागेका ४३१ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमध्ये ८ जना भन्सार कर्मचारीसमेत छन् ।

राजस्व अनुसन्धान विभागले उनीहरुमाथि बिगो असुल गरी दोब्बर जरिवाना र ३ वर्ष कैदको माग दाबीसहित विभिन्न मुद्दा चलाएको छ । बङ्शल जस्ता केही विदेशी नागरिक पनि राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा मुछिएका छन् ।

यसरी पत्ता लाग्यो राजस्व छली

आठ वर्षअघि सर्जिकल सामानको व्यापारका लागि बङ्शल नेपाल छिरेका थिए । गोरखा वेलफेयरमार्फत इसिजी पेपरको बिक्री व्यवसाय पनि गर्दथे । उनले आपूर्ति बढी मूल्यमा गर्ने तर नक्कली बिलबाट न्यून खरीद (कम सामान आपूर्ति गरेको) देखाएर हिसाब मिलान गरी राजस्व छली गर्दै आएका थिए । ८ वर्षअघि व्यवसाय थाले पनि विभागले उनीविरुद्ध भने २०७५ साल माघदेखि मात्रै अनुसन्धान थालेको थियो ।

शुरुमा विभागले हस्पी केयर इन्टरनेशनललगायत फमका आर्थिक गतिविधि शङ्कास्पद लागेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा हस्पी केयरसँगै श्याम ट्रडर्स पनि झुठो बिलबीजक बनाएर कर छलीमा तानियो । दुवै कम्पनी बङ्शलकै लगानीमा नेपालीको नाममा दर्ता गरेको भेटियो ।

गतिविधि थप शङ्कास्पद देखियो । झण्डै चार महिनाअघि अनुसन्धान नसकिँदै आफू पक्राउपर्ने देखेपछि उनी नेपालबाट भाग्न सफल भएको विभागले जनाएको छ । ‘जब हामीले उनको घर पत्ता लगाएर छापा मार्न गयौँ, उनी केही घण्टाअघि नै निस्किएका रहेछन्,’ विभागका एक अनुसन्धान अधिकृतले भने ।

साथीकी श्रीमतीको नाममा घर

अनुसन्धानमा बङ्शलले सर्जिकल सामानको कारोवार गर्ने नेपाली साथीकी श्रीमतीको नाममा कोहिनुर हिल हाउजिङमा घर किनेको पत्ता लाग्यो ।

त्यसैगरी दुई वटा गाडी पनि नेपालीकै नाममा खरीद गरेर प्रयोग गर्दै आएका थिए तर गाडी पत्ता लगाउन विभागलाई ठूलो सकश भयो । खोज्दै जाँदा गाडी वल्ड ट्रेड सेन्टरभित्र लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।

विभागले अहिले दुई गाडी, एउटा घर नेपालीको नाममा खरीद गरेको फेला पारेको छ । उसको तीन वटा सर्जिकल गोदाम सिल गरिएको छ ।

केही सामान स्थानान्तरण गरेको फेला परेको छ । बङ्शल फरार रहेकाले विभागले अहिले ४ करोड ८८ लाखको सामान लिलाम बिक्री गरी विभागको धरौटी खातामा जम्मा गरेको छ । केही ठाउँबाट आउने रु ४० लाख भुक्तानीसमेत रोक्का गरिएको छ ।

उनले नेपाली नागरिकता समेत नक्कली बनाएको भेटिएको विभागले जनाएको छ । विभागले यस्ता ६० भन्दा बढी फर्मको अनुसन्धान गरिरहेको जनाएको छ ।


नारायण ढुङ्गाना / रासस

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ३ : ४० बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी