संसद्को विकास खर्चले सांसदलाई विलासी साधन : तीन सय ३४ सांसदलाई एक-एक लाखका ल्यापटप ! « Khabarhub

संसद्को विकास खर्चले सांसदलाई विलासी साधन : तीन सय ३४ सांसदलाई एक-एक लाखका ल्यापटप !


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो। कतिपय सांसदले पनि विरोध जनाए। ६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ। संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ। संसद्कै साढे ६ करोड विकास खर्चबाट संसदीय समिति सभापतिहरूका लागि ११ वटा गाडी पनि खरिद गरिन लागेको नयाँ पत्रिकामा खबर छ ।

तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ। प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष, विभिन्न संसदीय समिति सभापति र मन्त्री पदमा आसीनको कमाइ झन् बढी हुन्छ। मासिक ८० हजारभन्दा बढी कमाउने जनप्रतिनिधिले एउटा ल्यापटप आफैँ किन्न नसक्ने भन्ने प्रश्न नै रहँदैन। जब कि बजारमा ३० हजारदेखिका ल्यापटप पाइन्छन्।

तर, संसद् सचिवालय प्रत्येक सांसदका लागि कम्तीमा एक–एक लाख पर्ने ल्यापटप खरिदमा लागेको छ। संसद्को व्यवस्थापन बोर्डले ल्यापटप खरिद निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ। बोर्डमा सभामुखको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, उपाध्यक्षसहित संघीय संसद् सचिवालयका महासचिव र सचिव सदस्य रहन्छन्। चालू आर्थिक वर्षमा पुँजीगततर्फ छुट्याएको बजेटबाट खर्च हुन नसकेको साढे तीन करोडले सांसदलाई ल्यापटप किन्न लागेको संसद् सचिवालयले बतायो।

‘अर्थ मन्त्रालयको स्वीकृति लिएर १९ जेठमा टेन्डर आह्वानको सूचना प्रकाशित गरिएको छ र १९ असारपछि टेन्डर खुला गरेर कम्पनी छनोट गरी खरिद गरिन्छ। असार मसान्तसम्म ल्यापटप आइसक्छ,’ सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले भने। प्रतिनिधिसभा र राष्ट्रिय सभामा अहिले कुल सांसद सिट तीन सय ३४ छ।

संसद्को सदस्य छँदा लिएका भौतिक सुविधा कार्यकाल सकिएको सात दिनभित्र बुझाउनुपर्ने नियम छ। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ। तर, दुई संविधानसभामा प्रतिनिधित्व गरेका २९ सभासद्ले अहिलेसम्म सुविधाको ल्यापटप फिर्ता गरेका छैनन्। त्यतिवेला संसद् सचिवालयले युएनडिपीको सहयोगमा चीनबाट ल्यापटप खरिद गरेको थियो। सचिवालयका अनुसार संविधानसभा छँदा अध्यक्ष तथा अन्य पदाधिकारी, दलका प्रमुख सचेतक र सचेतकसम्मलाई ल्यापटप बाँडिएको थियो। ‘पहिलो र दोस्रो संविधानसभाका कुल २९ पूर्वमाननीयले अझै ल्यापटप बुझाउनुभएको छैन। तर, नाम सार्वजनिक गर्न मिल्दैन,’ सचिवालय स्रोतले भन्यो।

संघीय संसद्मा हाल डेढ सयभन्दा बढी ल्यापटप छन्। ६५ वटा चालू अवस्थामा रहे पनि अधिकांश बिग्रिएको संसद् सचिवालय स्रोतले बतायो। जसमध्ये सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले मात्रै चारवटा ल्यापटप चलाएका छन्। बाँकी सबै संसद्का सचिवदेखि उपसचिवसम्मले प्रयोग गर्दै आएका छन्। ‘६५ वटाजति ल्यापटप सञ्चालनमा छन्। अरू बिग्रिएका समेत गर्दा डेढ सयवटा जति होलान्,’ सचिवालय स्रोत भन्छ, ‘हाल चारवटा ल्यापटप संसद्का पदाधिकारीले चलाएका छन्। अरू सचिवदेखि उपसचिवसम्मले चलाएका छन्।’

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ०३ बजे

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा