समाचार

फुटपाथको समस्या, सडकमा गाडी गुड्ने कि मान्छे हिँड्ने ?

By सविना कार्की

February 15, 2019

काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश सडकमा फुटपाथ छैनन् । भएका पनि साँघुरा छन् । उपत्यकामा उस्तै सवारी चाप, त्यही सडकमै हिँड्नुपर्ने बाध्यता पैदलयात्रीको ।

गौशलाकी मेनुका थापा बिहानी पख शारीरिक व्यायामका लागि निस्किन्छिन् । उनी गौशलादेखि जयबागेश्वरी, मित्रपार्क, चावहिल हुँदै सुकेधारासम्म जान्छिन् र सोहीबाटो फर्किन्छिन् । फुटपाथको व्यवस्था नहुँदा उनी सडकमै दौडिन्छिन् ।

मेनुका त एक प्रतिनिधिपात्र मात्र हुन् । उनी जस्ता हजारौंं‍ सर्वसाधरणले यस्तै सास्ती खेप्नुपरेको छ । राजधानीका धेरै स्थानमा फुटपाथका समस्या छन् । कहीँ साँघरो फुटपाथ त काँही फुटपाथ नै छैन ।

जयवागेश्वरी क्षेत्रका एक पैदलयात्रुले भने– ‘दैनिक आवजावत गर्नेहरु एकअर्कालाई धकेल्दै हिड्नुपर्ने अवस्थाछ । यस्तो अवस्थामा दुर्घटनाको जोखिमपनिउत्तिकै हुन्छ । सडकमा हिड्दा सवारी साधनले हान्दिने हो कि भन्ने त्रासपनि हुन्छ । छेउबाट सवारी साधन हुँइकिएर आउँछन्, बाटो हिड्दा डराउनुपर्ने अवस्था छ ।’

सामान्यतया फुटपाथ १ दशमलव ८ मिटरको हुनुपर्ने मापदण्ड छ । यद्यपि राजधानीका सबै स्थानका फुटपाथ हेर्ने हो भने मापदण्ड अनुसार बन्न सकेका छैनन् ।

फुटपाथ मापदण्ड अनुसार बन्न नसक्नुमा ठाउँकै अभाव रहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर दीप बराहीले बताए । उनका अनुसार ठाउँ अभाव तथा जग्गाको कमीका कारण पछिल्ला समय १.५ मिटरसम्मको फुटपाथ बनेका छन् भने कहीँकतै त्यो भन्दा कममा ।

‘फुटपाथविनाको सडक बनाउने नीति होइन, फुटपाथ राखेरै बनाउनुपर्छ अझ सहरी क्षेत्रमा यो आवश्यकपर्छ नै । तर पनि जग्गा अभावको कारण बाटो साँघुरो हुँदा राख्न नमिलेको अवस्था छ । सकेसम्म ठाउँ पाएसम्म फुटपाथ राख्ने गरेका छौँ,’ बराहीले भने ।

उनका अनुसार राज्यले विगतमा फुटपाथलाई प्राथमिकतामा राखेको थिएन । जसकारण फुटपाथ नराखी देशैभरी सडकमात्र विस्तार गरिए । सिंगल लेनमा नै पुलनिर्माण भए । अहिले सवारी चाप बढेसँगै थप समस्या सिर्जना भएको हो ।

वर्तमान बाध्यतालाई मध्यनजर गर्दै विभागले अहिले पुल दुई लेनमै बनाउने र सडकको हकमा जहाँ–जहाँ अनिवार्य छ त्यहाँ फुटपाथ बनाउने नीति ल्याएको विभागका शाखा अधिकृत अर्जुन सुवालले बताए ।

उनले भने– ‘साघुरा ठाउँमा फुटपाथ बनाउनतत्काल समस्या छ, सडकका छेउका घर भत्काउने प्रक्रियाकालागिपनि समय लाग्न सक्छ । मुआब्जाको कुरा आउँछ ।’

‘राजधानीमा सबैभन्दा ठूलो फुटपाथ बबरमल क्षेत्रमा रहेको छ भने भर्खरै बनेको कोटेश्वर कलंकी सडकखण्डमा पनि फुटपाथ फराकिलै छ,’ सुवाल भन्छन्,  ‘फुटपाथ नभएका क्षेत्रपनि धेरै छन्, विभागले त्यसमा ध्यान दिएको छ ।’

फुटपाथसँगै उपत्यकाका सडकमा रेलिङको पनि अभाव रहेको उनले बताए । सडकका छेउमा रेलिङ राख्ने तयारी पनि गरेको विभागले गरेको छ ।