सागमा पदकको अपेक्षा गरिएको भलिबलको अभ्यास कमजोर ! | Khabarhub Khabarhub

सागमा पदकको अपेक्षा गरिएको भलिबलको अभ्यास कमजोर !



काठमाडौं – नेपालमा तेस्रो पटक आयोजना हुन लागेको दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि खेल क्षेत्र जुटिरहेको छ । १३ औं सागमा सहभागी २७ खेल मध्ये क्रिकेट बाहेक अहिले सबै खेल सागको अभ्यास जारी छ ।

अधिकाशं खेलका पदाधिकारीले घरेलु मैदानमा आयोजना हुन लागेको सागमा स्वर्ण जित्ने दाबीसहित अभ्यासमा गरिरहेका छन् । खेलाडीले पनि त्यसलाई सार्थक बनाउन बिहानदेखि साँझसम्म अभावका बीच कडा मेहनतसहित पसिना बगाइरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागमा राम्रो नतिजा ल्याउने घोषणा गर्दै आएको छ । त्यसकै लागि साउन १६ गतेदेखि सबै खेलको बन्द प्रशिक्षण पनि शुरु भएको छ । तर, कस्तो वातावरणमा खेलाडीले अभ्यास गरिरहेका छन् ? प्रशिक्षणको अवस्था कस्तो छ ? पूर्वाधारकै अभावमा गरिएको अभ्यासबाट उत्कृष्ट नतिजा आउने राखेपको दाबी कति आशलाग्दो छ । यो फरक पाटो हो ।

झण्डै एक महिनादेखि नेपालको राष्ट्रिय खेल भलिबलका महिला खेलाडीले अभ्यास शुरु गरे । २५ जना खेलाडीसहित अहिले भलिबल टोलदी राखेप कभर्ड हलमा अभ्यासरत छ । कहिले बिहान त कहिले बेलुका भलिबल टोलीले अभ्यास गर्ने गरेको छ । त्यो पनि निर्माणधीन अवस्थाको राखेप कर्भड हलमा ।

निर्माणधीन कभर्ड हलमा खेलाडीहरु शतर्क भएर अभ्यासमा जुटिरहेको उनीहरु बताउँछन् । अन्य खेलभन्दा सागको १३ औं संस्करणको बन्द प्रशिक्षण शुरु हुँदा भलिबलले धेरै चर्चा पायो । कारण थियो, जेठ दोस्रो साता भलिबल संघले प्रारम्भिक टोलीका लागि २५ खेलाडी बोलाउँदा राष्ट्रिय टोलीका ६ जना खेलाडीलाई आराम दिनु ।

भलिबल संघले कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, अनुभवी खेलाडी कोपिला उप्रेती, नेबिका चौधरी, मनिषा चौधरी र कृपा अधिकारीलाई प्रारम्भिक टोलीको छनौट गर्दा हटाइएको थियो । बढ्दो उमेर र खस्किँदो प्रदर्शनको कारण देखाउँदै भलिबल संघले बनाएको छनोट समितिले ६ जनालाई योग्न ठानेन । यो विषयले राष्ट्रिय बलिबल टिमलाई नै विवादमा तानेको थियो ।

सिनियर खेलाडी टोलीमा नहुँदा अहिले भलिबलको अभ्यासमा आधाभन्दा बढी नयाँ खेलाडी छन् । अभ्यासमा नयाँ खेलाडी हुनुँ र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो सावित हुनुपर्ने बाध्यात्मक अवस्थामा नेपाली टोलीले स्वर्णसहित पदक ल्याउनु चुनौतिपूर्ण छ । यो चुनौती सामना गर्ने र पदकका लागि अन्तिम अवस्थासम्म प्रयास गर्ने प्रशिक्षकको दाबी छ । भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट भन्छन्, ‘अहिले राम्रो सेटर छन्, लिब्रो छन्, र ब्लक राम्रो छ । त्यसैले यिनीहरुले राम्रो खेल खेल्ने र नेपालका लागि पदक ल्याउनेमा म ढुक्क छु ।’

प्रशिक्षक भट्ट खेलाडी राम्रो उचाइका भएकाले पनि घरेलु कोर्टमै हुन लागेको सागमा मेडल प्राप्त गर्न सक्ने बताउँछन् ।

यद्यपी नयाँ र पुराना खेलाडीको मिक्सअप अभ्यासले अहिले टोलीको अभ्यासमा रहेका सिनियर खेलाडीलाई भने अभ्यास शुस्त गतिमा चलिरहेको हो कि भन्ने अनुभूति भएको बताउँछन् । एक खेलाडीले खबरहबसँग भनिन्, ‘अहिलेसम्म अभ्यासले एक उचाइ लिइसक्नु पर्ने हो । तर, त्यो हुन सकेको छैन । १ महिना हुन लाग्दा पनि हामी सामान्य अभ्यासमै ब्यस्त छौं ।’ उनले टिममा धेरै नयाँ खेलाडी भएकाले पनि अभ्यासले गति लिन नसकेको तर्क गरिन् ।

तर, अभ्यासमा रहेकी रेश्मा भण्डारीले भने आफुहरुको तयारी राम्रो भइरहेको बताएकी छन् । ‘अभ्यासका लागि लामो समय बाँकी छ । त्यसैले पनि अहिले टिमको अभ्यास विस्तारै विस्तारै भइरकेको छ । त्यहीँ पनि राम्रो छ अभ्यास चाहीँ,’ भण्डारीले अगाडि भनिन्, ‘नयाँ खेलाडीहरुसँग प्रशिक्षकले भनेको कुरा बुझ्ने र बल टिप्ने क्षमता त छ । जति धेरै ट्रेनिङ भयो त्यही अनुसार राम्रो हुँदै जाने त हो नि ।’

यता प्रशिक्षक भट्ट भने नयाँ खेलाडीहरु टिममा आएसँगै अब नेपाली भलिबल टोलीले नयाँ तरिकाले अगाडि बढ्ने विश्वास व्यक्त गर्छन् ।

‘अहिले सागको अभ्यासमा रहेका महिला खेलाडीमा उत्साह जागेको छ । अभ्यास गर्नुपर्छ भन्ने छ । पहिला खेलाडीहरुमा जित्नका लागि तयार गर्नु पर्छ भन्ने थियो । तर, अहिले हामी त्यो ‘एटिट्युड’ परिवर्तन गर्न खोज्दै छौं,’ भट्टले भने, ‘हामी राम्रो खेल्न अभ्यास गर्नुपर्छ र राम्रो खेलेपछि नतिजा आफ्नो पक्षमा पार्न सहज हुन्छ भन्ने तरिकाले खेलाडीलाई उत्प्रेरणा भर्ने काम गरिरहेका छौं ।’

भारत, माल्दिभ्स, श्रीलंका जस्ता बलिया देशसँग खेल्न अहिले बन्ने टोलीले नतिजा घरेलु टोलीले हात पार्नेमा भने खेलविज्ञहरु भने सशंकित छन् । कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न अनुभवी खेलाडीको आवश्यकता पर्दैछ । तर, काठमाडौंमा हुने सागका लागि महिला भलिबल टोलीसँग अनुभवकै अभाव रहने उनीहरुको तर्क छ ।

रेश्मा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभवी खेलाडी टिममा रहनु पर्ने तर्क गर्छिन । तर, अहिले धेरै नयाँ खेलाडी भएकाले उनीहरुलाई अझै धेरै एक्सपोजर दिनु पर्ने उनको भनाइ छ ।

‘नयाँ टिम बन्दा नराम्रो छैन, राम्रै छ । नयाँ खेलाडीहरुसँग सेन्स राम्रो छ तर, अन्तर्राष्ट्रिय खेलका लागि खेलाडीमा अनुभव हुनु जरुरी छ । जुन हाम्रा खेलाडीहरुसँग कम छ,’ रेश्माले अगाडि भनिन्, ‘खेल अनुभवका लागि साग अगाडि एक–दुई वटा मैत्रिपूर्ण खेल खेल्न पाएर राम्रो हुन्थ्यो । श्रीलंकासँग हामीले पहिले नै पनि खेलिसकेका छौं । जसलाई रोक्न हामीले अलिकति मेहनत गरेपुग्छ । तर, भारत बलियो टोली छ । त्यसलाई रोक्नु पर्छ ।’

प्रशिक्षक भट्टले यसअघिको भन्दा अहिलेका खेलाडीहरुको हाइट, ब्लक, स्पाइक राम्रो रहेको बताउँछन् । ‘यसअघिको टिममा सेटरहरु राम्रा थिए, तर, उनीहरु होचो भएकाले ‘ब्लक’ कमजोर थियो । अहिले हाइट राम्रो भएका खेलाडी छन् । क्विक स्पाइकरहरु राम्रो छन्, स्पाइकर राम्रो छन । रिसिभ र सर्भिस पनि राम्रो छ,’ भट्टले भने ।

सिनियर खेलाडीलाई टिमबाट हटाएपछि यतिबेला अभ्यासमा रहेका प्रशिक्षक भट्टसामू सागमा घरेलु टोलीलाई पदक दिलाउनु महत्वपूर्ण चुनौति रहेको उनी स्वीकार्छन् ।

‘अहिले दबाब त छ । तर, नेपाली भलिबलको कुरा गर्नु पर्दा जिम्मेवारीका हिसाबले म जति गम्भिर छु जति मलाई टिमको माया छ । जति टिमका लागि राम्रो गर्ने कोसिस गरेको छु, त्यो अरु कसैको भन्दा मेरो टाउकोमा धेरै छ,’ भट्टले टोलीको लक्ष्य सुनाउँदै भने, ‘नेपालको राष्ट्रिय खेल । त्यो पनि घरेलु मैदानमा हुने प्रतियोगिता । सागमा हामी यसअघिको भन्दा एक स्टेपमाथि, दुई स्टेपमाथि हुँदै स्वर्ण पदकसम्म पुग्ने लक्ष्यमा छौं ।’

कप्तानी दिए तयार छु–भण्डारी

सागको अभ्यासमा रहेको महिला टोलीसँग अहिले टोलीको कप्तान छैन् । नियमित कप्तान विनिता बुढाथोकिलाई प्रारम्भिक टोलीमै नराखेपछि अहिले भलिबल टोली कप्तान बिनै अभ्यासमा छ ।

तर, सागको तयारीसँगै अब नेपाली महिला भलिबल टोलीको कप्तानी कसले पाउला भन्ने पनि चाँसोको विषय बनिरहेको छ । अभ्यासमा रहेका सिनियर खेलाडी मध्येकी रेश्मा भण्डारी अहिले आफुले कप्तान पाउनु पर्ने दाबी नगरेको उनको भनाई छ।

यद्यपी उनी आफुलाई टोलीको कप्तानी सुम्पिए सहर्ष स्वीर्ने समेत बताउँछिन् । ‘अहिले टोलीसँग कप्तान त छैन् । तर, पनि अहिले म कप्तान बन्छु भनिहाल्ने अवस्था पनि छैन् । तर, अवसर दिए पछि पनि हट्दिन्,’ रेश्माले भनिन्, ‘अहिले टोलीमा मसँगै उषा विष्ट, सरस्वती चौधरी, करुणा शाहीलगायत सिनियर खेलाडी छन् । त्यसैले मै कप्तान बन्छु भन्दिन । जो भएपनि हुन्छ ।’

छनौटमा परेको भलिबल टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, अरुणा शाही, कमला पुन, हिरा केसी, उषा विष्ट, रेश्मा भण्डारी, जानकी भण्डारी, सुनिता खड्का, पुनम चन्द, सोफिया पुन, कविता भट्ट, निरुता ठगुन्ना, शान्ति थारु, उषा भण्डारी, संगम महतो, ममता डगौरा, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, चन्द्रकला खरेल, सरस्वती कट्टेल, सलिना श्रेष्ठ, शान्ति तामाङ, यामकली कुँवर छन्।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ३८ बजे

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम