यातायात व्यवस्था कार्यालय : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती | Khabarhub Khabarhub

यातायात व्यवस्था कार्यालय : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिचौलियाबाटै बार्गेनिङ हुने भएपछि कर्मचारीलाई टाउको दुःखाइको विषय छैन ।

बिहीबार स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखिएको गोरखापत्र दैनिकमा खबर छ । कार्यालयको प्रवेशद्वारमै “छिटो लाइसेन्स निकालिदिन्छु, लाइन बस्नु पर्दैन, लिखित र ट्रायलमा पास गराइदिन्छु” भन्नेहरूको तानातानमा पर्छन् सेवाग्राही ।

सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भर्‍याङमा थप भएपछि पहिलाको तुलनामा सेवाग्राहीको भीड आधा घटेको छ तर सेवाग्राहीलाई दिने सास्ती र ठगिने क्रम भने घटेको छैन ।

प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई विगत १२ वर्षदेखि सहयोग गर्दै आएको बताउने ५० वर्षीय केशव भन्छन्, “मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटकपटक धाइरहन पनि चाहँदैनन् । बरु दुई चार सय रुपियाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्, त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौँ । ”

कार्यालय खुल्ने समयभन्दा तीन घण्टाअगावै सेवाग्राही टोकन लिन बस्ने गर्छन् । त्यो टोकन लिइदिने, लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गरेका छन् । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । तर अनलाइन प्रणालीलले गर्दा भीड कम भएको अधिकारीहरूको दाबी छ ।

कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरि भीडभाड छ । कोलाहल छ । धुलोधुवाँ र अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन । लामको व्यवस्थापन छैन, महिला पुरुषको लाम एउटै छ । कार्यालयका संरचनाहरू महिला र अपागङ्तामैत्री देखिँदैन । शौचालय अत्यन्त दुर्गन्धित छ ।

भर्‍याङका भित्ताहरूमा गुट्खा चपााएर थुकिएको छ तर सरसफाइको कुनै प्रयास छैन । सेवाग्राहीको स्वास्थ्य वा सुविधालाई चासो दिएर कार्यालयको व्यवस्थापन छैन । अर्घाखाँची अर्घातोषका प्रदीप कुँवर यातायात कार्यालय धाएको तीन दिन भइसक्यो । लाइसेन्सको ग्रेड ‘ए’ र ‘बी’ दुवै उत्तीर्ण गरे पनि नवीकरण गर्ने बेलामा पास गरेको प्रमाण नभेट्टाएपछि पटकपटक धाउनु परेको छ ।

लाइसेन्स नवीकरण त भयो तर ग्रेड ‘बी’ छुटेपछि ढड्डामा प्रमाण खोज्न उहाँले सास्ती भोग्नु परेको छ । कुँवरले भने, “‘ए’को रेकर्ड छ तर ‘बी’को रेकर्ड नहुँदा समस्या भयो । पास गरेकै हो, रेकर्ड नभेटिनु मेरो समस्या होइन तर दुःख मैले भोग्नु परेको छ । ” प्रमाण तथा कागजातको व्यवस्थित पञ्जीकरण नहुँदा सेवाग्राही नै मर्कामा परेका छन् ।

रेकर्ड नभेटिने, प्रमाण फरक पर्ने समस्याले सेवाग्राही हैरानीमा छन् । तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख डम्बरबहादुर चन्द भने विगतको तुलनामा सुधार भएको दाबी गर्छन् । उनी भन्छन्, “अहिले ‘अनलाइन’ प्रणाली छ । प्रक्रिया सुरु भएपछि पद्धतिमा काम हुन्छ । पुराना १०/१५ वर्षअघिका दस्तावेजमा आधिकारिक प्रमाणको अभाव छ । प्रमाणबिना हामीले नवीकरण गर्न सम्भव छैन । सेवाग्राही भन्छन्, हाम्रो के गल्ती छ । हेर्छौं, उहाँहरूको कुरा पनि जायज छ । ”

कार्यालयले ७७ वटै जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्छ । दैनिक तीन हजारलाई सेवा प्रवाह गरिरहेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा लिने, नयाँ लाइसेन्स वितरण तथा नवीकरण गर्ने काम कार्यालयले गर्छ । सेवाग्राहीको चापले बेथिति बढेको हुनसक्ने उनको दाबी छ ।

चन्दको प्रतिबद्धता छ, “कार्यालयलाई चुस्तदुरुस्त राख्ने प्रयास गरिरहेका छौँ । पहिलाको तुलनामा धेरै सुधार भएको छ, अझै गर्छौं । बिचौलियाहरूको बिगबिगी हटेको छ । हामी नियन्त्रण गर्छौं । अनलाइनमा काम गर्दा केही प्राविधिक समस्या पनि हुने भएकाले अप्ठेरो परेको छ, हामी छिटो काम गरिदिने अभियानमै छौँ । ”

कार्यालयका अनुसार २५ प्रतिशत काम अझै पनि अनलाइनमा लैजान सकिएको छैन । पुराना ढड्डाहरूलाई अनलाइनमा राख्न खोजिएको छ । दिनको दुई/तीन पटक अनलाइन सिस्टमले काम नगर्ने भएकाले पनि दिनहुँ सास्ती भोगिरहेको छ कार्यालयले । तर विभागले आफ्नै सफ्टवेयर निर्माण गर्न लागेको चन्दले
जानकारी दिए ।

कर्मचारी अभावले गर्दा पनि सेवाग्राहीलाई असहज हुन गएको प्रमुख चन्दको दाबी छ । करिब एक सय जना कर्मचारीको आवश्यकता छ तर कार्यालयमा ३८ जना मात्रै कर्मचारी छन् । कर्मचारीभन्दा बिचौलियाको सङ्ख्या धेरै छ; जो माथिल्लो तहका कर्मचारीसँगको सेटिङमा सक्रिय भएका छन् । कार्यालयमा यस्तो गतिविधि खुला देख्न सकिन्छ ।

अनेक सास्तीका बीच यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि सेवाग्राहीले अर्को सास्ती भोग्नुपर्छ । लाइसेन्स उत्तीर्ण भएको डेढ वर्षसम्म लाइसेन्स नपाउने समस्या वर्षौंदेखि उस्तै छ । यातायात व्यवस्था कार्यालयले अहिले पनि छ लाखभन्दा बढी सेवाग्राहीको लाइसेन्स दिन सकिरहेको छैन । सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ०१ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व संकलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१-८२ को