विश्वमा चिकित्सा विज्ञानमा भएको प्रगतिले बढाएको उपलब्धिहरु सँगै मानिसको बाँच्ने संभाव्यता (औषत आयु) बढ्दो क्रममा छ । यसैले विगत ५० वर्षको तुलना गर्दा विश्वभरि नै धेरै संख्यामा ज्येष्ठ नागरिकहरु छन् ।
सन् २०४८ को जनगणना अनुसार नेपालमा ६० बर्ष र सोभन्दा माथी उमेरका ज्येष्ठ नागरिकहरुको जनसंख्या ५.८ प्रतिशत रहेको थियो भने १० बर्ष पछि २०५८ मा त्यो संख्या बढेर ६.५ प्रतिशत भएको छ । अबको ११ वर्ष पछि अर्थात् सन् २०३० सम्ममा यो संख्या (६.५ प्रतिशत ) बढेर १२.६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
वृद्ध अवस्था आफैमा समस्या नभए तापनि शारीरिक र मानसिक क्षमता सुस्त हुँदै जाने भएकोले विश्वका लगभग ६० प्रतिशत ज्येष्ठ नागरिकहरुले औषधि सेवन गर्ने गरेका छन् । ग्यास्ट्रिक, उच्च रक्तचाप, दम, मुटु रोग, चिनी रोग, वातरक्त र क्यानसर रोगहरु वृद्ध अवस्थामा लाग्ने प्रमुख रोगहरु हुन् । वृद्ध अवस्थामा पुगेपछि मानिसलाई बढी मात्रामा परिवारको साथ, माया र हेरचाह चाहिन्छ ।
नेपालको साँस्कृतिक र सामाजिक पक्ष हेर्दा, ज्येष्ठ नागरिकहरुलाई उच्च आदर सम्मान दिने परम्परा थियो । यो संस्कार अझै पनि हामी माझ रहेकाले वृद्धाहरुलाई बढि आदर सम्मान दिने गरिन्छ । तर पछिल्ला केहि समय यता शिक्षा तथा रोजगारीका लागि घर बाहिर जानुपर्ने बाध्यता बढ्दो छ । जसको कारणले गर्दा परिवारका सदस्यहरुले आफ्नो बुवा आमालाई चाहिए जतिको हेरचाह गर्न वा उनीहरुसँग बस्न सक्दैनन् ।
यस्तो स्थितिले गर्दा ज्येष्ठ नागरिकहरु एक्लिने र सहाराविहीन हुने क्रम बढ्दो छ । आफ्नो हेरचाह गर्ने कोही नहुँदा ज्येष्ठ नागरिक स्वयंले आफ्नो सबै कुराको ख्याल राख्नुपर्ने अवस्था छ । प्रायः ६० वर्ष कटेको व्यक्तिले कुनै न कुनै औषधि सेवन गरेकै हुन्छ । घर परिवारमा कोही नहुँदा ज्येष्ठ नागरिकहरु आफैँले औषधि सेवन गर्नु पर्ने हुन्छ ।
यसै क्रममा ज्येष्ठ नागरिकहरुले आफ्नो औषधि सेवन गर्दा औषधिको अनुचित सेवन गर्ने गरेको पाइन्छ । अर्थात् औषधि खाने क्रममा मात्रा नमिलाउने, समय नमिलाउने, धेरै किसिमका औषधि भएमा एउटा खानुपर्नेमा अर्कै औषधि खाइदिनाले के कस्तो समस्या सिर्जना गर्ने रहेछ भन्ने जानकारीको लागि यो अनुसन्धान गरिएको हो ।
विश्वका लगभग ६० प्रतिशत ज्येष्ठ नागरिकहरु लामो आयुको लागि र स्वस्थ रहनको लागि औषधिको भर परिरहेका छन् । तर, त्यहि औषधिको प्रयोगमा धेरै लापरवाही हुने गरेको छ । सुरुमा लापरवाही ढंगले औषधि प्रयोग गर्दाको नतिजाबारे खासै वास्ता गर्दैनन् । नेपालमा पनि औषधिको अनुचित प्रयोगको समस्या धेरै छ । यस्तो किसिमको समस्या धेरै भएता पनि यसलाई बेवास्ता गरिएको छ ।
औषधिको अनुचित प्रयोगले गर्दा नेपालका धेरै ज्येष्ठ नागरिकहरुलाई प्रभाव परेको छ । तथापि त्यस्ता घटनाहरुले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पारेको असरको बारेमा कुनै अध्ययन भएको पाइँदैन । यस्ता समस्याको बारेमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक छ । यस्ता अनुसन्धानले लापरवाही ढंगले औषधि लिँदा आउने समस्याहरु बुझ्न र त्यसको न्युनिकरणका उपाय अबलम्वन गर्न सहयोग गर्दछ ।
एजिङ नेपालको आर्थिक सहयोगमा गरिएको यो अनुसन्धानमा ललितपुर महानगरपालिका वडा नम्बर ३ का १ सय जना ज्येष्ठ नागरिकहरुलाई समावेश गरिएको थियो । अनुसन्धानका ६८ प्रतिशत सहभागी कुनै न कुनै प्रकारका औषधिको प्रयोगकत्र्ता थिए । ज्येष्ठ नागरिकहरुमा औषधिको अनुचित प्रयोग र त्यसको प्रभाव सम्बन्धी पूर्वपरीक्षण गरी तयार गरिएको १८ वटा प्रश्नावलिलाई अन्तरर्वार्ताको रुपमा प्रयोग गरेर प्रतिक्रिया सङ्कलन गरिएको थियो ।
यस अध्ययनमा ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुष सहभागीहरु थिए । कुल सहभागीमध्ये आधा भन्दा बढि (५४ प्रतिशत) निरक्षर थिए भने तुलनात्मक रुपमा महिला भन्दा पुरुषहरु बढी साक्षर थिए ।
यसैगरी, तीनचौथाई भन्दा बढी (८९ प्रतिशत) सहभागीहरु आफ्नो परिवारका साथ बस्दथे । बाँकी (११ प्रतिशत) सहभागीका परिवारहरु विदेशमा भएकाले एक्लै बस्दथे । लगभग तीन चौथाई (७० प्रतिशत) वृद्धवृद्धाहरुमा पुरानो रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, दम र मानसिक विकारको समस्या भएको देखियो ।
६८ प्रतिशत औषधि सेवन गरिरहेका सहभागीहरुमध्ये २४ प्रतिशत सहभागीहरु औषधि लिन मद्दत खोज्ने गरेका थिए । २२ प्रतिशतले बिना मद्दत आफैं औषधि सेवान गर्ने गरेका थिए । त्यसैगरी १५ प्रतिशत सहभागीहरुमा स्वंयमले औषधिको पर्चि (प्रिस्क्रिप्शन) फेर्ने गरेको पाइयो । बाँकी (२९ प्रतिशत) सहभागीहरुले फार्मासिस्ट, छिमेकी र परिवारका अन्य सदस्यहरुको सुझाव लिई औषधी फेर्ने गरेको देखियो ।
कूल सहभागीहरुमध्ये ४४ प्रतिशत सहभागीहरु एउटै तरिकाबाट अनुचित औषधि सेवन गरेको देखियो । उमेर समुहको आधारमा हेर्दा ६५–६९ वर्ष र ७०–७४ वर्षमा डाक्टरलाई नसोधी पर्चि परिवर्तन गर्ने र आफैंले औषधि लिनेको सङ्ख्या बढि देखियो । यस्तो नतिजा आउनुको कारणहरुमा अशिक्षा, औषधि चिन्नमा भ्रम परेर र औषधि सेवनको लागी अरुको मद्दत नपाएर आदि जस्ता कारणहरु पर्दछन् ।
कूल १६ प्रतिशत अनुचित औषधि सेवन गर्ने सहभागीहरुमा उल्टी आउने, रिङ्गटा लाग्ने, अनुचित औषधिको प्रभावले अस्पताल भर्ना हुने तथा फेरि रोग बल्झिने आदि स्वास्थ्य सम्बन्धी समस्याहरु देखिने गरेको पाइयो । उनीहरुले आफूले खाने औषधिको रंग, आकार र औषधिको पत्ता हेरेर पहिचान गर्ने बताए । उनीहरुले एउटै रंग अनि आकारको औषधिले गर्दा औषधि खाने बेलामा औषधिको पहिचानमा भ्रम पर्ने गरेको बताए ।
आधा भन्दा बढी सहभागीहरु औषधिको अनुचित सेवनका हानिकारक प्रभावबारे अनविज्ञ छन् । त्यस्तैगरी महिला (२० प्रतिशत) सहभागीहरुको तुलनामा पुरुष (२५ प्रतिशत) सहभागीहरुसँग आफूले सेवन गर्ने औषधिबारे धेरै ज्ञान भएको पाइयो । शिक्षित ५ प्रतिशत सहभागीहरु भन्दा ३४ प्रतिशत अशिक्षित सहभागीहरुमा चेतनाको कमी भएको पाइयो ।
अन्त्यमा,
यस अध्ययनले देखाउछ कि ज्येष्ठ नागरिकमा उचित औषधि प्रयोगको बारेमा चेतनाको कमी छ । त्यसका साथ साथै परिवारको अन्य सदस्यहरुमा पनि यसको बारेमा कम ज्ञान भएकोले औषधिको अनुचित प्रयोग बढ्दो देखिएको छ । ज्येष्ठ नागरिकहरु लामो आयु बाँच्न तथा निरोगी रहन विभिन्न प्रकारका औषधिहरु सेवन गर्दछन् । तर, तीनै औषधिको अनुचित प्रयोेगले उल्टो असर बेहोर्न बाध्य हुन्छन् । परिवारका सदस्यहरुमा समेत त्यसको असर पर्दछ ।
हाम्रो समाजमा यस्ता विषयमा शिक्षा तथा चेतना छैन । अब यो विषयमा शिक्षा तथा जन–चेतना जगाउनु आवश्यक छ । परिवारका सदस्यहरुले भ्याएसम्म आफैंले ज्येष्ठ नागरिकलाई औषधि खुवाउने र नभ्याएको खण्डमा ज्येष्ठ नागरिकहरुले नझुक्किने तरिकाले सिकाउनु पर्दछ । साथै ज्येष्ठ नागरिक स्वयंले चिकित्सकको सल्लाहमा मात्र औषधि फेर बदल या मात्रा घटबढ गर्नु पर्दछ ।
प्रस्तोता
एजिङ नेपाल
प्रतिक्रिया