आज पुस १ गते । २०१७ साल पुस १ गते तत्कालिन प्रधानमन्त्री बीपी कोइरालासहितका नेताहरुलाई तत्कालिन राजा महेन्द्रले शाही ‘कू’ गरेर प्रजातान्त्रिक शासन व्यवस्थालाई नै अपदस्त गरेको दिन । २०१७ सालको पुस १ गतेलाई नेपाली राजनीतिमा कालो दिनका रुपमा समेत लिने गरिन्छ ।
२०१५ सालमा भएको आमचुनावपछि गठन भएको सरकार अपदस्त गरेर राजा महेन्द्रले शासनसत्ता हातमा लिएको दिनको घटना कसरी सिर्जना भयो भन्ने विषयमा तत्कालीन समयमा बीपीसँगै जेल बसेका विश्वबन्धु थापा थापासँग हामीले कुरा गरेका छौँ ।
थापा तिनै व्यक्तित्व हुन्, जो कांग्रेसका महामन्त्री समेत भएका थिए, तर बीपी कोइरालासँगको मनमुटावका कारण उनी राजाको समर्थनमा लागे ।
उमेरले ९३ वर्ष पुरा भइसकेका थापासँग तत्कालीन बेलाको राजनीतिक घटनाक्रम लगायतका विषयमा खबरहबले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–
पुस १ गतेको चासो सबैतिर हुने गरेको छ, खासमा के करणले त्यस्तो परिस्थितिको सिर्जना भएको थियो ?
त्यसबेला म नेपालमा थिइन, म अमेरिकामा थिँए । बीपी कोइराला समेत यहाँ हुनुहुन्नथ्यो, उहाँ फर्केर आउनुभयो, तर यहाँ गडबड हुन्छ भन्ने हामीलाई लाग्याथ्यो ।
त्यही शिलशिलामा मैले बीपीलाई भनेको थिँए, सान्दाजु तपाईंले गणेशमानलाई प्रधानमन्त्री बनाइदिनुस् राजाको चित्त पनि बुझ्छ भनेर ।
पुस १ गतेको घटनाको कारण चाँहि के हो भने राजा एकदम महत्वाकांक्षी थिए, अर्को भनेको जंगबहादुरबाट भयभित थिए ।
आफ्नो मामालाई मार्न लगाएर प्रधानमन्त्री बनाएको हो नि । तर त्यही जंगबहादुरले खायो उनलाई । त्यसैले जंगबहादुरजस्तो बीपी पनि छ कि भनेर उनलाई लाग्यो । बीपी जनप्रिय पनि थिए ।
उनको भारतसँग पनि सम्बन्ध राम्रो थियो । हुनत बीपीको सम्बन्ध चाउ एनलाई सँग पनि राम्रो थियो । तर पछि जवाहरलाल रिसाए पनि भनिन्छ । त्यही रिसाएको भरमा मातृका वावु चुनाव जितेको भए उनी प्रधानमन्त्री बन्थे । उनलाई बीपीहरुले हराइदिए चुनावमा ।
बीपीहरुको योजनामै मातृकाहरुले चुनाव हारेको ?
त्यस्तो त नभनौँ, हारेर उनी दुखित चाँहि भएको पक्का हो । गिरिजाबाबु पनि हारे । मातृका संसदमा नआएपछि उनी प्रधानमन्त्री हुने अबस्था रहेन । तर सुवर्णशमशेरले २०१५ सालको चुनाव तीनवटा स्थानबाट जितेका थिए ।
तीन ठाउँबाट चुनाव जितेको सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाए नेहरु खुसी हुने । तत्कालिन समयमा राजाले सुवर्णलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल समेत गरेका थिए ।
उनलाई पार्टीले सिफारिस नगरेसम्म प्रधानमन्त्री नहुने अबस्था थियो । तर बीपीकी श्रीमती सुशीला कोइरालाले समेत बीपीलाई एकवर्ष मात्रै प्रधानमन्त्री बनेर सुवर्णलाई हस्तान्तरण गर्न भनेकी थिइन् ।
बीपीसँग मेरो अमेरिकामा भेट हुँदासमेत मैले भनेको थिए, बीपी बाबु तपाईं एकवर्षमा प्रधानमन्त्री बन्ने भन्नुभएको थियो । अब तपाईं राजीनामा दिनुस् भनेर मैले भनेको थिँए ।
त्यसबेलामा बीपीले रामेछाप पुगेर फर्केर आएपछि राजीनामा दिने भन्नुभएको थियो । तर रामेछाप जाने दिन नै राजा महेन्द्रले सत्ता हातमा लिए ।
तत्कालिन समयमा विकासको काम आफै गर्ने राजा महेन्द्रको महत्वाकांक्षाका कारण २०१७ साल पुस १ गतेको घटना घटेको हो ।
विकासका कामले जनप्रिय हुन्छन् भन्ने थियो । त्यसबाहेक बीपीसँग राजा महेन्द्रलाई भय समेत थियो । त्यसबेलामा बीपी धेरै पपुलर थिए ।
शाही नेपाली सेनामासमेत उनको लोकप्रियता पनि बढ्दै थियो । त्यसैले बीपीलाई हटाउन राजाले पहिला उनीसँग कुरा पनि गरे, हटेन ।
सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउने राजाको इच्छा पनि पुरा हुन सकेन, एउटै बाटो बाँकी रहेका बेला बीपी कोइराला तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई लिएर चीन भ्रमणमा निस्के ।
त्यसबेला हामीले भनेका थियौँ, तपाईं चीन गएपनि गृहमन्त्रीलाई नलैजानु । किनकि सूर्यप्रसादलाई त्यसबेलामा भारत निकटको भनेर चिन्थे । चीन भ्रमणका बेला बीपीले चाउ एन लाईसँग गरेको गोप्य कुराको रिपोर्टिङ यहाँ राजालाई समेत भयो ।
नेहरुलाई पनि भयो । बीपीलाई हटाउने विषयमा राजाले अर्को प्रधानमन्त्रीका रुपमा सुवर्णलाई परिक्षण समेत गरेका थिए ।
चीन भ्रमणमा बीपी गएपछि नेहरु समेत बीपीसँग रिसाएको बेलामा राजाले समेत एक्सन लिए । तत्कालिन प्रधानमन्त्री बीपीसँगै गणेशमान लगाएतका नेताहरुलाई राजाले जेल हाले । त्यस्तो भएपछि म अमेरिकाबाट नेपाल आएँ, तर मलाई समेत विमानस्थलबाट पक्राउ गर्नका लागि टोली परिचालन भइसकेको रहेछ ।
मलाई पक्राउ गर्ने विषयमा तत्कालिन सेनापति निरशमशेरले दरबारमा समेत छलफल गरे । अन्तिममा मलाई समेत पक्राउ गरियो ।
तपाईंंलाई विमानस्थलबाट कहाँ लगिएको थियो ?
सिंहदरबारमा लगियो । त्यहाँ बीपीलाई समेत राखिएको थियो । तुलसी गिरीलाई पनि पक्राउ गरिएको रहेछ । पछि मलाई लिन तुलसी गिरी आए, मलाई चाँहि २ दिनपछि छाडे, अनि म गिरीको गाडी चढेर हिँडे ।
यदि राजा महेन्द्र र कांग्रेस मिलेको भएको नेपालको राजनीति कुन रुपमा अघि बढ्ने अबस्था थियो ?
अहिलेको अबस्था त अर्कै हुने थियो होला । राजा वीरेन्द्र्र नमरेको भए नेपालबाट राजसंस्था हट्ने थिएन ।
राजा महेन्द्रपछि वीरेन्द्रसमेत नेपालमा संवैधानिक राजतन्त्रको पक्षमा थिए । तर रानी ऐश्वर्याको भने आफ्नो चाहना बेग्लै थियो । तर नेपाल के हुन्थ्यो भन्ने खतरा थियो ।
नेपाल त्यस्तो हुनसक्छ भन्ने तपाईंको आधार के हो ?
त्यसको आधार के भने, एउटा दक्षिणतिरको शक्तिशाली मुलुक छ, अर्कोतिर चीनले समेत नेपालमा आँखा लगाउने अबस्था बन्न सक्ने प्रसस्त आधार छन् ।
बंगलादेश र पाकिस्तान एउटै देश थिए, ती देशहरु खण्डित भए, आज पाकिस्तान तीनवटा हुने खतरा आजपनि छ ।
त्यो बेलाको नेपाली कांग्रेस र तत्कालिन कम्युनिस्ट पार्टी र अहिलेका तिनै पार्टीको भिन्नता केहि देख्नुहुन्छ ?
अहिलेको अबस्थामा नेपालको राजनीतीमा कांग्रेस र कम्युनिस्ट दुबै पार्टी कमजोर छन् ।
नेपाली कांग्रेसको महामन्त्री समेत भइसक्नुभएको तपाईंं, अहिलेको अबस्थामा कांग्रेस परिस्कृत भएर अघि बढ्ने सम्भावना केही देख्नुहुन्छ ?
जनमत भएको आफुतिर धेरै मान्छे भएपछि हुने हो । हामी नेपाली चाँहि बुद्धिचाल खेल्दैनौ, बाघचाल खेल्छौँ । जहाँ बाघ मार्न नपाईने, तर घेर्न सकिने अबस्था हुन्छ ।
त्यस्तै नीति भारत र चीनका बिचमा खेल्नुपर्छ । दुईवटा शक्ति राष्ट्रहरु छन् नेपालमा छिमेकमा । यहाँका नेताहरुले विग पावरसँग कसरी खेल्न सक्ने भन्ने कुरा बाघचालको बाख्राजस्तो कसरी भन्ने सोँच्नुपर्छ ।
भारतलाई हामीले मार्न सक्दैनौँ तर घेर्न त सक्छौँ नि । भारतले पायो भने हामीलाई मारिहाल्छ । आफु मरेपनि बाख्राले बाघलाई घेर्नुपर्छ ।
कालापानीमा हामीले बाख्रा भएर भारतलाई घेर्न सक्छौँ, तर लडाई लडेर लिन सक्दैनौँ । मुस्ताङ चीनले खाइदियो भने चीनसँग लड्ने होइन, घेर्नसक्ने कुटनीति नेपाली नेताहरुले अपनाउन सक्नुपर्छ ।
तपाईंले अघि भन्नुभयो, नेपालका नेताहरु जनप्रिय छैनन् भनेर, त्यसको आधार चाँहि के हो ?
जनप्रिय छन्, इमान्दार पनि होलान् । तर विग पावरले पैसाले किन्न सक्छन् । पैसाका लागि नेपालीहरु जे गर्न पनि तयार हुने गरेका छन् । आज बाहुनले रक्सी र राँगाको मासु खाइरहेका छन् । हाम्रो हिन्दु भारतको जस्ता छैनन्, हामी कट्टर छैनौँ ।
त्यो पनि कहिलेकाँही खतरनाक हुन्छ । जनजाति तुलनात्मक रुपमा कट्टर छन् । नेपालको मुद्धामा चीन र भारत मिल्नैपर्छ । चाउ एनलाई र नेहरु मिलेका भए नेपाल उहिल्यै खाइसक्थे । नेपाल वलियो हुनुपर्छ । नेपालीहरुका बीचमा ।
हामीले आफ्नो अस्तित्व रक्षाका लागि के गर्नुपर्छ ?
पहिलो कुरा नेपालले घोषणा गर्नुपर्छ कि नेपालमा कुनै प्रकारको युद्ध हुँदैन भनेर । साढेको जुधाई बाच्छाको मिचाई हुने अबस्था बनाउन दिनुहुँदैन ।
भारत र चीन वा अन्य कुनै पनि देशहरुबिचको विवाद छ भने उतै मिलाउ तर नेपालमा कुनै पनि प्रकारको हस्तक्षेप नगर भन्न सक्नुपर्छ । भारतीय सेनामा नेपाली युवाहरु भर्ति गर्ने विषय नेपाल आर्थिक रुपमा वलियो भएपछि स्वतः बन्द हुन्छ ।
पहिला वलियो हुनुपर्यो । पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाबीचको तरुल भनेका थिए, भारत र चीन ढुंगा नै हुन् त्यसलाई नेपालले भुल्नुहुँदैन ।
अहिलेको नेतृत्वले त्यस्तो गर्नसक्छ त ? तपाईं त पुरानो राजनीतिज्ञ ?
सम्भावनाको कुरा कस्तो हो भने परिस्थितिले निर्माण गर्ने कुरा हो । पञ्चायतमा पनि सबै नेता सक्षम थिएनन् नि । तर परिस्थिती त्यस्तै बन्यो । आँट हुनुपर्यो, नेताहरुमा ।
नेपालको नेतृत्वले अन्य देशको रक्षा गर्ने होइन नि नेपालको रक्षा गर्ने हो । हाम्रो बेलामा हामीले राजालाई सल्लाह दिने गरेका थियौँ, सरकार आटिबक्सियोस् भनेर ।
अहिलेको जुन व्यवस्था छ नि, यो व्यवस्थाका बारेमा तपाईंको टिप्पणी ?
हेर्नुस्, अहिलेको व्यवस्था तत्कालिन राजपरिवारकै कारण आएको जस्तो लाग्छ मलाई । गिरिजाप्रसाद कोइराला जो राजसंस्थाका पक्षमा रहेको मानिन्थे, उनी समेत राजसंस्था हटाउने अभियानको नेतृत्व गरे ।
ज्ञानेन्द्रलाई राजा बनाउन ढुंगामुढा खाए । तर तिनै राजाले गिरिजालाई समस्या सिर्जना गरे । तत्कालिन माओवादीलाई रोल्पाको होलेरीमा नेपाली सेनाले घेरेका बेला तत्कालिन राजाले नै हो आक्रमण गर्न नदिएको छ ।
गिरिजालाई असफल बनाउन राजाले सेनाको आक्रमण रोके । तत्कालिन राजा ज्ञानेन्द्र र रानी ऐश्वर्या न प्रो चाइनिज न प्रो इण्डियन । उनीहरु पैसाका लागि मात्रै काम गरेकोजस्तो मलाई लाग्छ ।
कोही मान्छेपनि पैसाको जब पछि लाग्न थाल्छ अनि उ विग्रिन्छ । गिरिजावावु समेत छोरीको पछि लाग्न थालेपछि उनी पनि बिग्रिए ।
प्रतिक्रिया