शृङ्खलाबद्ध एसिड आक्रमण : मुख्य निशानामा युवती | Khabarhub Khabarhub

शृङ्खलाबद्ध एसिड आक्रमण : मुख्य निशानामा युवती



काठमाडौं– पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना दाहोरिन थालेका छन् । अहिलेसम्म भएका एसिड आक्रमणका घटना विश्लेषण गर्ने हो भने एसिड आक्रमणको निशानामा किशोरी, युवती तथा महिला पर्ने गरेका छन् । यसबाहेक बालबालिकामा पनि एसिड आक्रमण भएको पाइएको छ ।

एसिड प्रहारका घटना बढीजसो तराइका जिल्लाहरु देखिएका छन् । यसबाहेक शहरी क्षेत्रमा पनि एसिड आक्रमण भएको देखिन्छ । नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालका अनुसार, कहिले दाइजोको बहानामा त कहिले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलामाथि यस्ता हिंसा भइरहेका छन् । प्रहरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो १ बर्षमा मात्र ६ वटा एसिड आक्रमणका घटना भएका छन् ।

एक वर्षको एसिड आक्रमण शृङ्खला

– जेठ १ गते बुधबार राति, काठमाडौंको कालोपुलमा २२ बर्षीया जोनी खड्कामाथि आफ्नै श्रीमानले एसिड आक्रमण गरे । आक्रमणमा परी घाइते जेनीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घटनाको केही घण्टा पछि नै प्रहरीले एसिड आक्रमणको आरोपमा उनकै श्रीमान विष्णु भुजेललाई पक्राउ गर्‍यो । उनले पारीवारिक विवादमा श्रीमतीमाथि एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

– २०७५ पुस १८ गते, पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ बर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरे । भतरतपुर माइतीमा बस्दै आएकी २० बर्षीय डोल्मा रुम्बालाई गुरुङले पोखराबाट भरतपुर नै पुगेर एसिड आक्रमण गरेका थिए । पारिवारीक झगडाका कारण एसिड प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

– २०७५ असोज ८ गते राति, पूर्वी नवलपरासीको कावासोतीमा एसिड र छुरा प्रहारबाट २० बर्षीया बसन्ती परियार गम्भीर घाइते बनिन् । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गर्‍यो ।

एकतर्फी प्रेमबाट उत्पन्न इगोको भावनाले एसिड आक्रमणका घटना बढेका छन् । अपराधी मनसाय भएका ब्यक्तिले वातावरण उपयुक्त देख्ने बित्तिकै मनमा दुरासय भाव ल्याएर यस्ता घटना घटाउने गरेका छन्

– २०७५ असोज ३ गते मात्र अछामको तुर्माखाद गाउँपालिकामा ६ महिनाका एक बालक माथि एसिड प्रहार भयो । घरमा सुताइरहेको अवस्थमा बालकको अनुहारमाथि एसिड प्रहार भएको थियो । बालकको उपचारका क्रममा मृत्यु भयो । यो घटना पारिवारिक कलहकै कारण भएको खुलेको थियो ।

– २०७५ भदौ २६ गते, रौतहट चन्द्रपुरका सुतिरहेको अवस्थामा एकसाथ दुई दिदीबहिनी माथि एसिड प्रहार भयो । एसिड लागि १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारी दास गम्भिर घाइते बने । घाइते भएका दिदी बहिनीलाई उपचारका लागि काठमाडौंको कीर्तीपुर अस्पताल ल्याइए पनि ३५ प्रतिशत शरीरको भाग जलेकी दिदीको मृत्यु भयो ।
– २०७५ बैशाख १० गते, चितवन टाँडी अस्थायी ट्राफिक पोष्टका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले नै भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए ।

यी त प्रतिनिधिमुलक घटना मात्र हुन् । नेपालमा एसिड आक्रमणका घटना पटक–पटक दाहोरिएका छन् । काठमाडौंमा २०७१ फागुन १० गते काठमाडौं वसन्तपुरमा डेरा गरी बस्ने १६ वर्षकी संगीता मगरलाई एउटै घरमा डेरा गरेर बस्ने जीवन खड्का भन्ने जीवन विश्वकर्माले एसिड आक्रमण गरेका थिए । एसएलसीको तयारी गरिरहेकी संगीतालाई ट्युसन सेन्टरमै गएर विश्वकर्माले एसिड प्रहार गरेका थिए । उनलाई एसिड प्रहार गर्दा सँगै कक्षामा रहेकी संगीताकी साथी सीमा बस्नेतलाई पनि एसिड लाग्यो । दुवै जना घाइते बनेका थिए ।

राजधानी हल्लाएको त्यो एसिड आक्रमण

१० फागुन २०७१ मा काठमाडौंको बसन्तपुरमा २ किशोरीमाथि एसिड आक्रमण भयो । डेरा नजिकै ट्यूसन पढ्न गएका संगीता मगर र सीमा बस्नेतमाथि एक युवकले एसिड प्रहार गरेका थिए ।

पछि एसिड आक्रमणकारी संगीता बस्ने घरमै डेरा गरी बस्ने रामेछापका जीवन खड्का भनिने जीवन विश्वकर्मा भएको पत्ता लाग्यो । प्रहरीले गरेको अनुसन्धानबाट संगीतालाई मन पराउने गरेको खुल्यो । जीवनले आफू खड्का थरको बताएर संगीतासँग प्रेम प्रस्ताव राखेका थिए । तर, आफू विश्वकर्मा भएको थाहा पाएपछि संगीताले वेवास्ता गर्न थालेपछि एसिड आक्रमण गरेको जीवनले प्रहरीलाई बयान दिएका थिए ।

परीक्षाको तयारीमा रहेकी संगीतालाई लक्षित गरी गरिएका एसिड आक्रमणबाट उनीसँगै ट्युसन पढ्न गएकी रौतहट घर भएकी सीमा बस्नेतलाई पनि लाग्यो ।

राजधानीको केन्द्रमै ट्युसन पढ्न गएका बेला दुई किशोरीमाथि भएको एसिड आक्रमणको घटना राजधानी काठमाडौंसँगै देशभर चर्चाको विषय बन्यो ।

दुईजना किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन अहिले जेल जीवन बिताइरहेका छन् । काठमाडौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै उनलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।

एसिडको मुख्य निशानामा युवती

अहिलेसम्म भएका एसिड आक्रमणका घटनाहरुको अध्ययन गर्दा प्रायजसो महिलालाई चरम यातना, पीडा दिने, कुरुप र अन्धो तथा अपांग बनाउने उद्देश्यबाट भएको देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीका अनुसार किशोरी तथा युवतीहरुको टाउको र अनुहारलाई बढी लक्षित गरी धेरैजसो एसिड प्रहार हुने गरेको छ ।

मानसिक रुपमा परेको यस पीडालाई सहन नसकेर धेरैले आत्महत्या समेत गर्ने गरेका छन् । यस्ता घटनाका पीडितलाई शारीरिक उपचारको साथै मनोवैज्ञानीक उपचार तथा समाजमा पुनर्स्थापनाको आवश्यकता छ

प्रवक्ता अन्सारी भन्छिन् – एसिड आक्रमण महिलाविरुद्धको हिंसाका विभिन्न स्वरुप मध्ये एक हो । यसबाट संसार भरिनै महिला तथा किशोरीहरु बढी मात्रामा पीडित भएका छन् । एसिड आक्रमण कुनै विशेष जाति, धर्म वा भौगोलिक स्थानमा मात्र सीमित छैन, यो एक विश्वव्यापी समस्याको विषय हो । एसिड पछिल्लो समयमा आएर महिला हिंसाको लागी हतियारको रुपमा संसार भरी नै प्रयोग भएको पाईन्छ ।

पूर्वएआइजी नवराज ढकाल, बढीजसो घटना एकतर्फी प्रेममा हुने गरेको इगोको भावनाले भएको बताँछन् । उनका अनुसार, अपराधी मनसाय भएका ब्यक्तिले वातावरण उपयुक्त देख्ने बित्तिकै मनमा दुरासय भाव ल्याई यस्ता प्रकुतिका घटना घटाउने गरेका छन् । अपराध शास्त्री प्रा. माधवराज आचार्य समाजमा यस्ता अपराधिक गतिविधी बढ्दै जानुमा असक्षम प्रहरी, सरकारको गैरजीम्मेवार व्यवहार भएको तर्क गर्छन् । उनि भन्छन् – सरकारकै लाचारीका कारण अपराधीको मनोबल बढेको छ । त्यसैले यस्ता घटना पटक पटक दोहोरिरहेका छन् ।

कुन एसिडको प्रयोगले के असर पार्छ ?

विभिन्न अध्ययन अनुसन्धान अनुसार, धैरै एसिड आक्रमणका घटनाहरूमा हाइड्रोक्लोरिक टीफ सल्फ्यूरीक नामक एसिडको प्रयोग भएको पाईन्छ । कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन डा. सुरेन्द्र बस्नेतका अनुसार, यो खतरनाक एसिड हो । यो मानव शरीरमा परेमा यसले छाला मात्र नभई हड्डि समेत जलाउने गर्दछ । यसको तत्काल उपचार नगरेमा प्लास्टिक सर्जरीबाट समेत यसको उपचार सम्भव छैन ।

डा. बस्नेत भन्छन् – यदि आँखामा परेको खण्डमा तत्कालै दृष्टिविहीन बनाईदिन्छ । छालामा परेको खण्डमा तत्कालै प्राथमिक उपचार गरी यसको असरलाई कम भने गर्न सकिन्छ । त्यसैले एसिड आक्रमणका पीडितको तत्काल उपचार तथा प्राथमिक उपचारको विधिको जनचेतना आम जनतामा हुनु आवश्यक छ ।

एसिडले हुने क्षति

कुनैपनि व्यक्तिलाई एसिड प्रहार हुँदा निजको अनुहार र शरीरमा मात्र चोट लाग्दैन । उसको आत्मसम्मान तथा आत्मविश्वासमा पनि चोट पुग्दछ । जसको फलस्वरुप निजले पटक–पटक पीडा, तिरस्कार र हेला सहेर आजीवन बाँच्नुपर्ने हुन्छ ।

मानवअधिकार आयोगकी प्रवक्ता अन्सारी भन्छिन् –कतिपय महिलाहरूले मानसिक रुपमा परेको यस पीडालाई सहन नसकेर आत्महत्या समेत गर्ने गरेको उदाहरण प्रसस्त छन् । यस्ता घटनाका पीडितलाई शारीरिक उपचारको साथै मनोवैज्ञानीक उपचार तथा समाजमा पुनर्स्थापनाको आवश्यकता पर्दछ ।

कानूनी प्रावधान

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) अनुसार, कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

पटकपटक एसिड आक्रमणका कारण किशोरीहरूले ज्यान गुमाएको, शारीरिक रूपमा अंगभंग भएकोजस्ता घटना बारम्बार सार्वजनिक हुँदापनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पुर्‍याएको छैन

त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।

जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ । एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ । मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ ।

बजारमा छ्यास्छ्यास्ती पाइन्छ एसिड

एसिड आक्रमणलाई नेपालमा अपराधको रुपमा परिभाषित गरिएतापनि एसिडको बिक्री वितरण, ओसारपसारलाई नियमन तथा नियन्त्रण गर्ने तथा अनुगमन गर्ने सम्बन्धमा भने खास कानूनी प्राबधान छैन ।

एसिड अन्य सामान्य खाद्यवस्तु जसरी बजारमा सहजै खरिद गर्न पाईने हुनाले पनि एसिड आक्रमणको घटना बढ्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । पूर्वएआइजी ढकाल भन्छन् –एसिड आक्रमणको बढ्दो प्रवृत्तिलाई मध्यनजर गरेरै अहिले धेरै देशले यसको बिक्री वितरणका लागि अनिवार्य लाइसेन्सको व्यवस्था गरेको छ । आवश्यकताको कारण पुष्टि गरेर तोकिएको कामका लागि तोकिएको कडापनको एसिड खरिदबिक्री गर्न पाइने गरी कानुन तर्जुमा गर्न आवश्यक छ ।

तर, विडम्बना पटकपटक एसिड आक्रमणका कारण किशोरीहरूले ज्यान गुमाएको, शारीरिक रूपमा अंगभंग भएकोजस्ता घटना बारम्बार सार्वजनिक हुँदापनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पुर्‍याएको छैन । आवश्यक कडा नियम र नियमन गर्न नसक्नु सरकारको कमजोरी हो । बजारमा पानी किनेजस्तो सहज तरिकाले एसिड पाउनु भनेको अपराधका निम्ति चरहरू खुला राख्नु हो । सरकार यसमा सचेत हुनुपर्छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : २२ बजे

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली