काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ ।
शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै २६ रनमा अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर देखिएको खेलमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।
भारतका प्रिन्स यादवले ५ विकेट लिए । त्यस्तै, हर्षित रानाले ४ तथा शाहबाज अहमदले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ए ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।
भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ्स खेले । कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । त्यस्तै, सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोड्दा वैभव सूर्यवंशीले २६ रन बनाए ।
४२ रनमा ३ विकेट गुमाएको भारतलाई कुशाग्र र तिलकले सम्हालेका थिए । उनीहरूले चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा पुर्याए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले एक विकेट हात पारे ।
भारतसँगको हारसँगै नेपालको राइजिङ स्टार्स एसिया कप यात्रा निराशाजनक बनेको छ । नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।














प्रतिक्रिया