काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले खेलाडी अभाव र तयारीको कमीलाई मुख्य चुनौतीका रूपमा औँल्याएका छन् ।
सन्दीपले नेपाल पूर्ण तयारीसहितको टोली लिएर प्रतियोगितामा नआएको बताएका छन्। उनका अनुसार केही खेलाडी खेलकै दिन बिहान मात्रै कतार पुगेका थिए ।
नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन भइरहेका कारण प्रतियोगिताका लागि नयाँ खेलाडी समेटेर जसोतसो टोली व्यवस्थापन गर्नुपरेको उनले बताएका छन् ।
भारत ‘ए’ले नेपाललाई पूर्ण रूपमा खेलमा पछि पारेको उल्लेख गर्दै सन्दीपले जितको सम्पूर्ण श्रेय भारतीय टोलीलाई दिएका छन् ।
उनले आजको नतिजालाई मात्रै हेरेर निष्कर्ष निकाल्न नहुने बताएका छन् । यो प्रतियोगिता नेपाली क्रिकेटका लागि राम्रो सुरुवात भएको र आगामी दिनमा यसले सकारात्मक नतिजा दिने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाल भारत एसँग ३०६ रनले पराजित भएको थियो । भारतले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभरमै २६ रनमा समेटिएको थियो ।
नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाएका थिए ।
नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।














प्रतिक्रिया