नेपालको ‘नानो स्याटेलाइट’, जापानमा विद्यार्थीले गरेको ‘प्राक्टिकल’ ! « Khabarhub

नेपालको ‘नानो स्याटेलाइट’, जापानमा विद्यार्थीले गरेको ‘प्राक्टिकल’ !



काठमाडौं– बिहीवार विहान २ बजेर ३१ मिनेटको समयमा अमेरिकाको भर्जिनिया राज्यमा रहेको वालोप्स फ्लाइट फेसिलिटीबाट नेपालको पहिलो ‘नानो स्याटेलाइट’ अर्थात् फुच्चे भू–उपग्रह बोकेको अन्तरिक्ष यान अन्तरिक्षतर्फ प्रक्षेपण भएको छ ।

जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को बड्र्स परियोजनाअन्तर्गत निर्माण भएको नेपालीस्याट १ नामक फुच्चे भू उपग्रहको खर्च भने नेपाल सरकारले व्यहोरेको छ ।

नथ्र्रोप ग्रुमान सिग्नस १ नामक मालवाहक अन्तरिक्ष यानबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको अन्तरिक्ष यानमा बड्स परियोजना अन्तर्गत नेपालको नेपालीस्याटसहित जापानको युगुई र श्रीलंकाको रावण १ नामक फुच्चे भू उपग्रह पनि सँगै थिए । यससँगै नेपाल पनि अन्तरिक्षमा भूउपग्रह हुने मुलुकको सूचीमा गनिएको छ ।

बड्र्स परियोजनाले सार्वजनिक गरेको नेपालीस्याट १ को तस्बीर हेर्दा त्यहाँ नेपालको चन्द्रसूर्य अंकित झण्डा देखिन्छ । केबल १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाइ र १.३३ किलोग्राम अर्थात् वैज्ञानिक एकाईमा १ ‘यू’को नानो भू उपग्रह नेपालीस्याट १ केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिनेछ ।

यसअनुसार नेपालीस्याट १ ले पृथ्वीको सतहबाट ४ सय किलोमिटर माथि अन्तरिक्षको तल्लो तहबाट पृथ्वीको फन्को मार्नेछ । यसले पृथ्वीको फन्को मार्ने क्रममा हरेक दिन नेपालको आकाशमा केही मिनेट रहने र यसले नेपालको डेटा संकलन गरेर पृथ्वीतर्फ पठाउने दाबी गरिएको छ ।

प्रचार धेरै ?

भू उपग्रह प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री गोकुल बास्कोटा, राष्ट्रपति उपराष्ट्रपति लगायतका उच्च पदस्थ व्यक्तिहरुले गौरवका साथ नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको समेत घोषणा गरिसकेका छन् । तर, अन्तरिक्षमा एक नानो स्याटेलाइट पठाएरमात्र नेपाल अन्तरिक्षको युगमा प्रवेश गर्यो भन्नु अपरिपक्वता हुने यस वियषका जानकारहरु बताउँछन् ।

नेपालले अन्तरिक्षमा भू उपग्रह त पठाएको छ तर, त्यो भू उपग्रहले पठाएको डेटा रिसिभ गर्नका लागि नेपालमै डेटा रिसिभर र डेटा एनालाइसिसका लागि ग्राउण्ड स्टेशनको भने अभाव छ । यसको अभावमा अन्तरिक्षमा नानो स्याटेलाइट नै भएपनि त्यसले दिने लाभबाट भने बन्चित हुनेमा आशंका छैन । यसकारण भू उपग्रह प्रक्षेपण गरेपनि ‘अन्तरिक्षमा भू उपग्रह रहेका मुलुकहरुको सूची’ मा नेपालको नाम राख्नुसिवाय केही उपलब्धी नहुने र नानो स्याटालाइटका विषयमा चर्चा धेरै गरिएको केहीको मत रहेको छ ।

डा. उत्तमबाबु श्रेष्ठले नानो स्याटेलाइटलाई परम्परागत स्याटेलाइटको रुपमा प्रचार गर्न नुहुने तर्क गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ खुशीको कुरा नेपालको नानो स्याटेलाइट अन्तरिक्षमा लग्न लागिएको छ । तर यसलाइ परम्परागत रूपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु ‘डुंगा चलाएको कुरालाई पानी जहाज भनेर प्रचार गर्नु’ जस्तै हो । यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है।अलि हल्ला कम गर्ने कि ?’

आखिर के हो नानोस्याटेलाइट ?

अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाको परिभाषा अनुसार १ किलोग्रामदेखि १० किलोग्राम सम्मका स्याटेलाइटहरु नानो स्याटेलाइट हुन् । अन्तरिक्षसम्बन्धी वेब पोर्टल एलन डट स्पेसका अनुसार नानो स्याटेलाइट धेरै सस्ता, थोरै आयतनका तथा छोटो आयुका हुने गर्छन् ।

सामान्यतः नानो स्याटेलाइटहरु १० सेन्टिमिटर लामो १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाई तथा १.३३ किलोग्राम वजन अर्थात् वैज्ञानिक एकाईमा १ ‘यू’ को हुने भएपनि पछिल्ला समयमा १.५ यू, २ यू, ३ यू देखि १२ यू सम्मको हुने बताइन्छ । त्यसबाहेक अन्य शैलीका नानो स्याटेलाइटहरु पनि अन्तरिक्षतर्फ प्रक्षेपण गरिँदै आएका छन् । नानो स्याटेलाइटहरु खासगरी पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको तल्लो तहमा रहने एलन डट स्पेसले जनाएको छ ।

नानो स्याटेलाइटहरु विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो वैज्ञानिक अध्ययन अनुसन्धानका लागि पनि निर्माण गर्ने गर्छन् । नेपालीस्याट १ नै पनि जापानको क्युटेकका विद्यार्थीहरुले बनाएका हुन् । नेपालीसहित  ८ जनाको समूहमा रहेका विद्यार्थीले नेपालको सहित जापानर र श्रीलंकाको नानो स्याटलाइट बनाएका छन् ।

बढीमा १० किलोग्रामसम्म वजनको रहने नानो स्याटेलाइट र केही टनभन्दा बढी वजनको रहने ठूला स्याटेलाइटबीचको अन्तर स्पष्टै देखिन्छ । पृथ्वीबाट पहिलोपटक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको भू उपग्रह सन् १९५७ मा तत्कालिन सोभियत संघको स्पुत्निक १ को वजन ८० किलोग्रामको रहेको थियो । दोश्रो स्पुत्निकको वजन भने ५ सय किलोग्राम थियो । हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको वजनमात्रै ४ लाख २० हजार किलोग्रामको रहेको बताइन्छ ।

त्यसबाहेक नानो स्याटेलाइट बनाउन औषतमा ८ महिनाको समय लाग्ने बताइन्छ । ठूला स्याटेलाइट बनाउन दशौं वर्षसम्म लाग्न सक्छ । त्यसबाहेक नानो स्याटेलाइटको आयु केही वर्षसम्म हुने गर्छ भने ठूलो आकारको स्याटेलाइटलाई सही स्थानबाट पृथ्वीको फन्को मार्नका लागि मात्रै पनि ५ देखि १० वर्षको समय लाग्ने बताइन्छ । हाल अन्तरिक्षमा नानो स्याटेलाइट, स्याटेलाइट, अन्तरिक्ष यानका भग्नावशेष, प्रोबहरु गरी ८ हजारभन्दा धेरै मानवनिर्मित वस्तुहरु रहेको बताइन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ३ : ५६ बजे

राष्ट्रिय ज्यापु दिवस कार्यक्रम (फोटो फिचर)

काठमाडौं– राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना

गहुँ खेतीका लागि आवश्यक मल अभाव

वीरगञ्ज– धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक

रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु 

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको

आलै छ कोरोनाले बनाएको घाउ

लुम्बिनी– सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन

‘एमाले सरकार गठनको दौडमा छैन’

चितवन– नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको