काठमाडौं– खबरहबकर्मी थानेश्वर गुरागाईं फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर अगाडि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स थप चार कीर्तिमान बनाउने भएका छन् ।
उनले जुलाई महिनाको अन्तिम सातामा विभिन्न चार कीर्तिमान राख्ने तयारी गरेका छन् । जसका लागि उनले मुखमा दाँतमाझ्ने ब्रस राखेर बास्केटबललाई ६० सेकेण्डसम्म घुमाउनेछन् ।
त्यस्तै, उनले कुहिनामा पनि बास्केटबल १० सेकेण्डसम्म घुमाउनेछन् । कीर्तिमान राख्ने क्रममै उनले एक मिनेटमा १० पटक २८ सेन्टिमिटर परिधी भएको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकाल्ने छन् ।
उनले चिउँडोमा ३ मिनेटसम्म कुर्सी अड्याएर अर्को कीर्तिमान राख्नेछन् । उनले यी चार कीर्तिमान राखेमा गिनिज बुकमा उनको कीर्तिमान सङ्ख्या २३ पुग्नेछ ।
उनलाई फ्रान्सतर्फ बिदाई गर्ने क्रममा पेभेलियन हल दरबारमार्गमा आयोजित कार्यक्रमा नेपालका लागि फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजरले शुभकामना व्यक्त गरे ।
‘उनले फ्रान्समा कीर्तिमान राख्ने कुराले मलाई खुशी र गर्व लागेको छ,’ राजदूतले भने ।
फ्रान्सका जनता सिजर्नशीलताको कदर गर्ने भन्दै पेरिस शहरका बासिन्दाले गुरागाईंको प्रस्तुतीबाट मनोरञ्जन लिने राजदूतको विश्वास छ ।
त्यसैगरी फ्रेन्च दूतावासका उपप्रमुख (डीसीएम) अर्नौड च्याम्पीले गुरागाईंले विगतमा राखेका कीर्तिमानीको प्रसंशा गर्दै पेरिसमा गर्न लागेको नयाँ चार विश्व कीर्तिमानका लागि सफलताको शुभकामना दिए ।
नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा गुरागाईंले कीर्तिमान राख्न लागेका हुन् ।
त्यस्तै, पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले समेत उनलाई सफलताको शुभकामना दिएका छन् । गुरागाईं खबरहब डटकमका विशेष सम्वाददाता हुन् ।
प्रतिक्रिया