‘लुट्न सके लुट’ गीत हटाइएपछि ‘हाइलाइट’, किन बन्यो राजनीतिक ‘इस्यु’ ? | Khabarhub Khabarhub

‘लुट्न सके लुट’ गीत हटाइएपछि ‘हाइलाइट’, किन बन्यो राजनीतिक ‘इस्यु’ ?



काठमाडौं – गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ मा सत्तापक्षधर नेता कार्यकर्ताले असन्तुष्टि देखाएपछि उक्त गीत शनिवार युट्युब च्यानलबाट हटाइयो । गीत हटाएसँगै गायक शर्माले फेसबूकमा लेखे – ‘गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकाले जुन शब्दमा असन्तुष्टि देखियो, म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु ।’

उनले यो गीत हटाइसकेपछि बल्ल गीत भाइरल भयो । लोकगीत सुन्ने दर्शक तथा स्रोताले मात्र सुनिरहेको यो गीत एकाएक सबैको चासोको गीत बन्यो । पशुपति शर्माले गीत हटाउनुको कारण आफूलाई आएका केही एक/दुई फोन र आफैं पनि केही शब्दमा चित्त नबुझेको बताएका छन् ।

तर आफैलाई चित्त नबुझेको उनको भनाइलाई भने कतिपयले पत्याएका छैनन् । शर्मा स्वयम्लाई नभई सत्तापक्षका नेता कार्यकर्ताको धम्कीपछि गीत युट्युबबाट हटाइको आशंका सामाजिक सञ्जालहरुमा व्यक्त भइरहेका छन् ।

गीतमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को भातृ संगठन युवा संघ नेपालको नाममा रहेको फेसबूक पेजमा धम्कीपूर्ण पोस्ट अपलोड गरियो ।

उक्त पोस्टमार्फत युवा संघले लेखेको छ – ‘पशुपति जी, राजनीतिक कत्तिको गर्नुहुन्छ थाहा छैन र तपाईं राजनीति राम्रोसँग बुझ्नुहुन्छ भन्ने हाम्रो ठम्याइ हो । त्यसैले समयमै आफ्ना ज्ञात, अज्ञात गम्भीर त्रुटिहरु सच्याउन अनुरोध गर्छु । अन्यथा यो असह्य प्रस्तुतिका कारण एक चर्चित कलाकारको करिअरमा असर पर्न सक्ने कडा कदमका लागि हामी बाध्य हुन नपरोस् ।’

शर्माले भातृ संगठनको दबाबमा आएर गीत हटाएको बताएपछि गीत झन् बढी भाइरल भयो । गीतलाई सामाजिक सञ्जाल फेसबूक तथा युट्युबमा अरुले पनि निरन्तर अपलोड गरिरहे । अर्कातिर सरकारको पनि व्यापक विरोध गरियो । काठमाडौंको माइतीघर र देशका अन्य स्थानमा पनि विवेकशील नेपाली पार्टी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताले गीत घन्काएरै विरोध जनाए । विरोध कार्यक्रममा गायक शर्माका समर्थकले पनि विरोध जनाएका थिए ।

सरकार मौन, कार्यकर्ता एक्टिभ

गीतकार तथा लेखक राजेन्द्र थापा भन्छन्, ‘पशुपति शर्माको गीतबारे सरकार बोलेकै छैन, यदि कुनै संघले अराजक शैलीले विरोध गर्छ भने संघलाई सरकारले नै कारवाही गर्नुपर्छ ।’

गीत हटाउनुपूर्व नै यो गीतका केही शब्दलाई प्रधानमन्त्री कार्यालयमै गीतमा प्रतिबन्ध लगाउनेसम्मको छलफल भएको समाचार बाहिरिएको थियो । यता गीतलाई पशुपति शर्माले कुनै अडानविना युट्युबबाट लुरुक्क हटाइदिए । गीत हटाएपछि कतिपयले भने पशुपति शर्माले गल्ती गरेको समेत भनिरहेका छन् ।

वरिष्ठ लोकगायक चेतन कार्की भन्छन्, ‘युट्युबमा अपलोड गरिसकेपछि गायकले त्यो गीत किन हटाए ? उनले गीत हटाउँदिन भनेर अडान गर्न सक्नुपथ्र्यो ।’

पशुपति शर्मालाई भने राजनैतिक रुपमा कांग्रेसको ढाकछोप गरेर गीत गाएको आरोप लागेको छ । सोमबार(आज) को संसद बैठकमा समेत नेकपाका एक जना सांसद झपट रावलले सुशील कोइराला सरकारको बेलामा ‘मलाई जापान पनि यै’ बोलको गीत गाएको र अहिले नेकपाको सरकार भएका बेलामा यमराज, कुकुरजस्ता शब्द प्रयोग गरेर शर्माले पूर्वाग्रह साँधेको आरोप लगाएका छन् ।

उता शर्माले भने ‘कुनै पार्टीको समर्थन र कुनै पार्टीको विरोधको रुपमा सिर्जना नगरेको स्पष्ट पार्न चाहन्छु’ भन्दै सामाजिक सञ्जालमा पोस्ट शेयर गरेका छन् ।

शर्माको भनाइलाई आधार मान्ने हो भने उनले गीतलाई राजनैतिक रुपमा कुनै एउटा पार्टीलाई विषय बनाएका थिएनन् ।

वर्तमान अवस्थामा देखिएको विसंगतिलाई उनले गीतमार्फत उर्तान खोजेका छन्, त्यो सत्य हो ।

तत्कालको विषय उठान गर्दा गायक शर्माले सरकारको विरोध गरेजस्तो देखियो । किनकि अहिले सरकार कम्युनिस्टको छ । कम्युनिस्टहरुले भने गीतलाई वर्तमान परिवेशलाई केलाएर गाइएको व्यङ्ग्यात्मक गीतका रुपका रुपमा भन्दा ‘एजेन्डा’का रुपमा लिए ।

सत्ता पक्षले गीतलाई ‘एजेन्डा’ को रुपमा बुझ्न बल नेपाली कांग्रेस र अन्य प्रतिपक्षी दलले पु¥याएका छन् ।

गीतमा प्रयोग भएका केही शब्द उपयुक्त छैनन् । यो गीतले दिने शिक्षा पनि सही नहुन सक्छ । देशमा विसंगति बढेको बेलामा हो यही हो लुट्ने बेला र यो बेलामा ‘लुट्न सके लुट्’ भन्ने आशयलाई विपक्षीले सहर्ष स्वीकार गरेका छन् र लुट्न पाउनुपर्छ भन्ने कुरालाई अनुमोदन गर्न विपक्षी लागिपरेका छन् । यसरी यो गीतलाई विपक्षीले राजनीतिक हतियार बनाउन खोजेका छन् ।

जबकि, गीतले भ्रष्टाचारी, कार्यकर्ता तथा नेतालाई गाली गरेको छ । पार्टीगत रुपमा कांग्रेसमा पनि यही शैली व्याप्त छ, जुन नेकपामा थियो र छ ।

हेर्दाहेर्दै ‘लुट्न सके लुट’ राजनीतिक एजेन्डा

गीत हटाउन सरकारले दबाब दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि यो गीतको चर्चा त भयो तर गीतलाई सत्तारुढ दलका भातृ संगठनले जस्तै कांग्रेसको भातृ संगठनले पनि एजेन्डा बनाएको छ । उस्तै परिवेश हुने कांग्रेसले आफ्नो स्वार्थ पूरा गर्न गायक शर्माको समर्थन गरेको आरोप कतिपयले लगाइरहेका छन् । राजेन्द्र थापा भन्छन्, ‘गीतलाई राजनीतिक खेल बनाइयो, उनका गीतलाई कसैले हतियार बनायो, राणाकालमा पनि यसरी खुला रुपले धम्कीपूर्ण अभिव्यक्ति दिइँदैनथ्यो, अहिले युवा संघले धम्की दिएको छ, यो गलत हो ।’

उनका अनुसार चित्त नुबुझेको खण्डमा भातृ संगठनले धम्कीपूर्ण भाषण दिनुको साटो चित्त नबुझेका विषयमा उजुरी गर्न सक्थे । सरकारले अराजक बन्न खोज्ने संघलाई कारवाही गर्नुपर्नेमा मौन देखियो ।

सरकार मौन हुनुको फाइदा तरुण दलले लिन खोजेको छ ।

गायक चेतन कार्की थप्छन्, ‘गीतमार्फत सरकारका कामलाई समष्टिमा गाली गर्न मिल्छ । गीत कहिले पनि प्रतिबन्ध गर्न सकिँदैन । अहिलेको युगमा पनि गीतमा सेन्सर लगाउँछु भनेर सम्भव हुन्छ ?’

कार्कीले राष्ट्रपतिको सेवा तथा सुविधाप्रति आफ्नो पनि असमहति रहेको बताउँछन् । गीतमार्फत राजनैतिक विकृतिलाई व्यङ्ग्य गरिनुलाई रोक्न नहुने उनको धारणा छ ।

‘तालीम केन्द्रको जग्गा ओगट्न पर्ने, जनताले घण्टौँसम्म जाम खानुपर्ने, यो सुहाँउदो छैन,’ उनी थप्छन्, ‘उहाँहरु यो देशलाई साम्यवादी भन्नुहुन्छ तर विचारधारामा त्यस्तो देख्दिन, उहाँले नभनेर अरुले भन्थ्यो भने पनि उहाँले रोक्न सक्नुपथ्र्यो ।’

‘सरकारले गीतमा प्रतिबन्ध लगाउँछ भने गीत झन् हिट हुन्छ ।’, गायक कार्की थप्छन् ।

गीत सेन्सर सम्भव छ ?

डिजिटल युगले अहिले सामाजिक सञ्जाललाई खुला आकाशको चराजस्तै बनाइदिएको छ । सामाजिक सञ्जालबाटै सरकारको पनि व्यापक विरोध भइरहेको छ । यसकारण सरकार सामाजिक सञ्जाललाई पनि ‘कन्ट्रोल’ मा ल्याउन खोजिरहेको छ । यही बेलामा पशुपति शर्माको गीत फ्याट्ट अपलोड गरिएको थियो ।

सरकारले नै सेन्सर लगाउने निर्णय गरेको यो गीतमा सेन्सर लगाउन सम्भव नहुने संगीतकर्मीहरु बुझाउँछन् । पञ्चायत कालमा समेत जुन गीत पनि बजिरहेको सुनाउँदै गीतकार राजेन्द्र थापा सुनाउँछन्, ‘पहिलो कुरा त गीतमा सेल्फ सेन्सर गर्ने हो, गीत तथा कलामा सेन्सरको विश्वभर नै खासै वास्ता गरिन्न, सम्भव छैन ।’

रेडियो नेपालको एकाधिकार रहेको जमानामा गीत पास नहुने प्रवृत्ति थियो तर गीतमा सेन्सर लगाउने चलन त्यतिबेला पनि नभएको पुराना संगीतकर्मीहरु बताउँछन् । यस्ता कति गीत छन्, जुन गीत त्यतिबेला रेडियो नेपालले रेकर्ड गरेको थिएन र थन्किएका थिए । अहिले तिनै गीत पुनः रेकर्ड गरिएका छन् ।

अहिले गीतमा सेन्सर लगाउन किन पनि सहज छैन भने त्यतिबेला रेकर्डका लागि रेडियो नेपालको भर पर्नुपर्ने अवस्था थियो । तर अहिले प्रविधि हरेकको हातमा पुगेको छ । आफूसँग भएको मोबाइलबाट पनि मन परेको गीत तयार पारेर अपलोड गर्न सकिने टेक्नोलोजी दर्शकले साथमै बोकेर हिँडेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ४२ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।