आफूलाई सुधार गरेन भने अब नेकपा नै रहन्न – अशोक राई (अन्तर्वार्ता) | Khabarhub Khabarhub

आफूलाई सुधार गरेन भने अब नेकपा नै रहन्न – अशोक राई (अन्तर्वार्ता)



लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका अशोक राई अहिले समाजवादी पार्टी नेपालका बरिष्ठ नेता हुन । तत्कालीन अवस्थामा नेकपा एमालेको उपाध्यक्ष रहेका राईले आफ्नो सोच अनुसार नेकपा एमाले चल्न नसकेको भन्दै पार्टी छाडेका थिए ।

राई सहभागि दल समाजवादी पार्टी अहिले सरकारमा छ । त्यसैले पनि उनले सरकारको समर्थन गर्दै भनेजति काम नगरेपनि ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय नभएको बताउँछन् । जनताले वर्तमान सरकारसँग धेरै अपेक्षा गरेका कारण सरकारको काम कम देखिएको उनको तर्क छ ।

राईले सरकारको कामसँगै समाजवादी पार्टीले चलाएको पार्टी एकीकरण अभियान, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसको नेपाली राजनीतिमा भूमिका लगायतका विषयमा खुलेर कुरा गरेका छन् ।

उनले सत्तारुढ नेकपाले अहिलेको शैली परिवर्तन नगरे नेकपाको अस्तित्व नै सकिने पनि दाबी गरेका छन् । प्रस्तुत छ राईसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले छाडेको दलकै नेतृत्वमा गठित सरकारमा तपाईं हुनुहुन्छ । यो सरकारप्रति जनताको निराशा बढ्दो छ । अहिलेको सहकार्य देख्दा तपाईंको पहिलेको पार्टी परित्यागको निर्णय राजनीतिक की आक्रोशजन्य कारण हो ?

म सामान्यतया आक्रोश र भावावेशमा निर्णय लिने मानिस होइन। मेरो मान्यता एउटा चिनियाँ उखानको जस्तो छ । १० चोटी नाप एकचोटी काट ।

कुनै पनि निर्णय लिनुभन्दा अघि सोँच, सरोकारवाला मानिसहरुसँग परामर्श गर अनि मात्रै त्रुटिरहित निर्णयमा पुग भन्ने मेरो मान्यता हो ।

जहाँसम्म वर्तमान सरकार अलोकप्रिय बन्दै गयो भन्ने छ, अहिलेको सरकार लोकप्रियता र अलोकप्रियताको दोसाँधमा छ । म यो सरकारलाई पुर्णत अलोकप्रिय भयो भन्न चाहन्न ।

तर आशा त निराशामा परिणत भयो नि हैन र ?

त्यो आशा बढि भएर हो । कहिलेकाँही आशा बढि भयो भने निराशा पनि बढि हुन्छ ।

म हाइस्कुल पढ्ने बेलामा विराटनगरमा वरगाछी भन्ने पत्रिकामा वीपी कोइरालाको अन्तर्वार्ता पढ्ने मौका पाएको थिँए ।

त्यहाँ पत्रकारले प्रश्न सोधेका थिए, वीपी बाबु तपाईंबाट मानिसहरुले धेरै आशा गरेका थिए । तर त्यो आशा त पुरा भएननि भनेर ।

जवाफमा वीपी कोइरालाले भन्नुभएको थियो, मसँग आशा नगर्नु मलाई विश्वास गर्नु । आशा पुरा भएन भने निराशामा परिणत हुन्छ ।
विश्वास भयो भने त्यो कहिल्यै पनि डगमगाउन्न । यो भनाईबाट बचपनमा समेत प्रभावित भएको थिएँ, आज पनि त्यो भनाई सधै सम्झिरहन्छु ।

आज सरकारप्रति जनता रुष्ट भएको कुरा उठाउँदा यो फेरि स्मरण गर्न चाहेँ, हामीकहाँ जुनसुकै सरकार बनोस्, चाहे त्यो खड्ग ओलीजीको होस् वा अरु कसैको ।

कुनै पनि काम रातारात हुँदैन । विरासतमा हामीले धेरै फोहरमैला लिएर आएका छौँ, त्यसलाई रातारात फेर्न सबैलाई गार्‍हो हुन्छ । यो सरकारले कोशिश त गरिरहेको छ, तर जति गर्नुपर्ने थियो, त्यति चाँहि नभएकै हो । यसमा मलाई आलोचना गर्न मन छ ।

अनि विश्वास चाँहि ?

मेरो विश्वास डगमगाउने अबस्था बनिसकेको छैन । जनतालाई समेत म सानो मान्छेका तर्फबाट समेत भनिरहेको छु । विश्वासलाई अविश्वासमा रपान्तरण नगर्न भनेर । किनभने समय त लाग्छ ।

हामी जापानको कुरा गछौँ, अमेरिकाको कुरा गछौँ, चीन, कोरिया लगाएतका देशको कुरा गछौँ ।
हामीले पछिल्लो विकासको चरणलाई मात्रै हेरेका छौँ । तर विकासका पछाडिका कुरा कति कठिन थिए भनेर हामी कहिलै पनि सोचेका छैनौँ ।

एउटा भनाई छ, ‘नौनीका पछाडि दही र दुधको इतिहास हुन्छ भनेजस्तै, खाली नौनी यतिकै बनेहोला भनेर सोचेर हुन्न । सरकारले काम चाँहि गरिरहेकै छ, तर हुनुपर्नेजति नभएको मात्रै हो । म चाँहि निराश छैन ।

तपाईं सत्तासाझेदार पनि, सरकारमा जाँदा उठाएका माग सम्बोधन भएको छैन । प्रणाली र व्यवस्थाकै विषयमा पनि बहस छ । अब तपाईंहरुको चुनावी एजेण्डा के हुन्छ?

हाम्रो मुद्दाको आधारमा चुनावमा जाने हो । हामी अहिले समाजवादी पार्टीका रुपमा चुनावमा जाँदा समुन्नत संघीय समाजवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो ।

यसका ४ वटा विषेशता रहनेछन् भनेर हामीले भनेका छौँ । एउटा पहिचानसहितको संघीयता, भ्रष्टाचाररहित र सदाचारसहितको शुसासन, गरीबि बेराजगारीमुक्त सृमद्धिसहितको नेपाल र समृद्धिको न्यायपुर्ण वितरण प्रताभुति समेत भएको समाजवादी व्यवस्था ।

यी ४ वटा विषेशतासहितको समुन्नत संघीय समाजवादलाई लिएर चुनावमा जाने हो । अहिले यो सरकारमा हामी सामेल भएको पनि भव्य विकास निर्माण, समृद्ध र सुखी नेपाल र नेपाली भइहाल्छन् भन्ने मिथ्या विश्वास लिएर हैन कि समृद्ध नेपाल र सुखी नेपालीका लागि वातावरण बनाउनका लागि केही योगदान पुर्‍याउन सक्छौँ कि भनेर गएका हौँ ।

एउटा जातिवादी, नश्लवादी संविधानको संसोधन गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने वातावरण बनाउन सकिन्छ कि भन्ने जरुर हो । सरकारले समृद्ध र विकास लागि सरकारले काम गरिरहेको देखिन्छ । तर जहाँनेर जोड पुर्‍याउनुपर्ने हो त्यहाँ नपुगेको जस्तो देखिन्छ ।

पहिलो संविधान संसोधनमा जोड दिनुपर्छ । किनभने जबसम्म राजनीति एउटा निर्धारित दिशातर्फ रुमल्लिरहन्छ विकास सम्भव छैन । त्यतिकै विकास हुने भएत पञ्चायत कालमै विकासको मुलै फुटुन्पर्ने ।

विकासका लागि सञ्चार, विकासका लागि राजनीति भएको हो । सारा चिज विकासका निम्ति गर्नुपर्छ भनेको हो, तर राजनीतिले एउटा दिशा लिन सकेन । जसका कारण कसैले चाहेर पनि पवित्र चाहना राखेर पनि पुरा हुन सकेन ।

अहिलेपनि समृद्ध नेपाल र सुखी नेपाली नारा पनि मिठो छ, प्रधानमन्त्रीले मेहनत गरेको पनि देख्छु, त्यसमा मेरो भन्नु केही छैन । हरेक प्रधानमन्त्रीले केही गरौँ भन्ने रहेको देखिन्छ।

अहिलेका प्रधानमन्त्री त झन् रोगसँग लडेर यति ठुलो जिम्मेवारी बोकेर आफुसँग सीमित समय छ भनेर पनि भन्नुहुन्छ । उहाँले विकास चाहनुभएको छ, तर उहाँले सुधार्नुपर्ने देख्छु ।

हामी जिम्मेवार राजनीति गछौँ, पाएका उपलब्धिलाई रक्षा गरेर अन्य उपलब्धीलाई पुरा गर्ने हाम्रो लक्ष्य हो ।

हामी चाहन्छौ, राज्यलाई वलियो बनाउन सकियोस् तर संविधानको दोष हटाएर जाउँ भन्ने छ । अर्को भनेको राजनीतिक पार्टी र जनताबिचको सम्बन्ध समेत सुमधुर हुन्छ ।

दोस्रो कुरा राजनीतिक नेताले नीति दिने हो, ऐन कानून र निर्देशन दिने हो । कार्यान्वयन गर्ने भनेको कर्मचारीतन्त्रले हो ।

अहिलेको कर्मचारीतन्त्र भनेको राणकालिन शैलीको छ । हाम्रो कर्मचारीतन्त्र प्रक्रियामुखी भयो, कार्यमुखी बनाउनुपर्छ ।

कर्मचारीतन्त्रलाई विश्वास पनि गर्नुपर्‍यो । कर्मचारीको मनोवल अलि बढाउनुपर्‍यो । कर्मचारी आफैले गर्नुपर्ने काम समेत मन्त्री र मन्त्रिपरिषद्मा पठाउने व्यवस्थालाई परिवर्तन गर्नुपर्‍यो ।

कर्मचारी किन भयमा छ, त्यसलाई हटाउनुपर्‍यो, नियम कानून फेर्नुपर्‍यो, काम गर्न सक्दैनन् भने हटाउनुपर्‍यो, कर्मचारीलाई कार्यकुशलता पुगेको छैन भने देशमा हुन्छ कि विदेशमा हुन्छ तालिम दिने व्यवस्था मिलाउनपर्‍यो ।

जबसम्म कर्मचारीतन्त्रमा यस्तो हुँदैन जुनसुकै प्रधानमन्त्री भएपनि लक्ष्य हासिल गर्न सक्दैन ।

सरकारमा जानेबेला भएको सम्झौता कार्यान्वयन भएको छैन । फेरि पार्टी एकीकरणको अभियानमा हुनुहुन्छ ? तपाईंहरु सरकारकै मोहमा की नयाँ राजनीतिक खेलमा ?

हाम्रो कुनै पनि राजनीतिक खेल छैन । हामी सरल ढंगले इमान्दारितापूर्वक राजनीतिमा र सरकारमा समेत छौँ ।

प्रधानमन्त्री जो अहिले सरकारमा हुनुहुन्छ, जसले हिजो तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पेश गरेको संसोधनको समेत विरोध गर्नुहुन्थ्यो ।

जुन संसोधनको प्रस्तावमा हामीले माग गरेजस्तो कुनैपनि विषय समावेश भएको थिएन, हाम्रो मन राख्नेगरी मात्रै देउवाजीले संसदमा पेश गर्नुभएको थियो ।

जसलाई हामीले समेत सकारात्मक रुपमा लिएका थियौँ । तर त्यसकै समेत विरोध गर्ने अहिलेका प्रधानमन्त्रीको नेतृत्वको सरकारमा आएपछि दुईतिहाई पुग्छ ।

म संसोधन गर्न तयार छु भनेर ओलीजीले लिखित नै गर्नुभएको थियो । उहाँको भाषा नै के छ भने ‘संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग मुद्दाहरुमध्ये संविधान संसोधन गरी पुरा गर्नुपर्ने विषय संसोधन गर्ने । सरकारले निर्णय गरी सम्बोधन गर्ने सवालमा नीति तथा कार्यक्रममा सो बमोजिम गरी अन्यथा मन्त्रिपरिषद्बाट सम्बोधन गरिनेछ ।’ भनेर लिखित सम्झौता गर्नुभएको छ ।

अब कहिलेसम्म कुर्ने ? चुनावसम्म ?

हामी धेरै नै जिम्मेवार राजनीति गरिरहेका कारण भावावेषमा निर्णय गरेनौँ । आज पुरा भएन भने हामी सरकारमा रहन सक्दैनौँ भनेर समेत कहिल्यै भनेनौँ । सरकारमा सहभागी भएको ६ महिनामा हामी प्रधानमन्त्रीजीको समय लिएर गएर कुरापनि गरेका हौँ ।

हामीले भन्यौँ, हाम्रो लिखत पनि थियो भनेर भन्यौँ, उहाँले संविधान संसोधन नगरी कामै गर्न सकिन्न भनेर भन्नुभएको थियो । त्यसको पहिलो शिकार म नै भएँ ।

बहुमत भएर पनि सरकारमा आउन ३ महिना कुर्नुपर्‍यो । त्यसैले संविधान संसोधन गर्न अपरिहार्य छ, तर त्यसको वातावरण बनाउनुपर्‍यो भनेर भन्नुभएको थियो । अब हामी भेटेर प्रधानमन्त्रीजी वातावरण बनाउन अझै कति समय लाग्छ भनेर सोध्छौँ ।

अहिले देश बाममय भएको भन्छन्, तपाईं लामो समय बामराजनीति गरेर अहिले यता हुनुहुन्छ । अहिले तपाईंलाई कस्तो लाग्छ ?

हो, तर मैले पैलेको धार साथीहरुलाई जिम्मा लगाएर यता आएको छु । मायाले संसार चल्दैन भन्छन् नि । आफु समेत सहभागी भएर बनाएको त हो । तर मायाले संसारमा चल्दैन भनेर उखानलाई चरितार्थ गर्नेगरी नेकपा एमाले परित्याग गरेँ ।

त्यो बाटोमा अहिले समाजवादी पार्टीमा आइपुगेका छौँ । यो बाटोमा धेरै साथीहरुसँग अंकमाल गरेर अघि बढ्ने मेरो पनि सोँच हो । राजनीतिमा शक्ति आर्जन गर्न मुद्दा, बिचार र सोँचमा एकरुपता भएकाहरुसँग हातेमालो गर्ने सोँच छ ।

राजपासँगको एकीकरणको कुरा के भइरहेको छ ?

राजपासँग समेत कुरा भइरहेको छ । अरु पनि थुप्रै पार्टीहरुसँग पनि कुरा भइरहेको छ । अब तेस्रो शक्ति निर्माण नगरीकन संविधानलाई तात्विक हिसाबले परिवर्तन गर्न समस्या छ ।

प्रधानमन्त्रीजीले हामीसँग गरेको सम्झौता कार्यान्वयन गर्छु त भन्नुभएको छ, तर हामीले उहाँबाट धेरै अपेक्षा पनि गरेका छैनौँ ।

अपेक्षाको भारी बोकाउने पक्षमा छैनौँ । त्यसका लागि साना–साना दल बनाएर जानुहुँदैन । सशक्त विकल्प निर्माण गर्ने जसले संविधानको दोषलाई हटाउने कुरामा विरोध गर्छ त्यसलाई परास्त पार्नेगरी दृढ इच्छाशक्ति भएको राजनीतिक दल बनाउनुको विकल्प छैन ।

नयाँ अभियान लिएर हिडेको मान्छे म मोहका कुरा सोच्नै नसकिने कुरा हो ।

 एकीकरण अभियानमा त लाग्नुभो तपाईंको बरियता क्रम क्रमशः खस्कँदो अवस्थामा छ ।

वरियताले आन्दोलन हाँक्ने होइन। आन्दोलन हाँक्ने भनेको टिमले हो । त्यस्तो टिम निर्माण भइरहेको छ । यसमा बहुत खुसी छु ।

वरियता मेरा लागि प्राथमिक विषय भएको भए एमालेमै रहन्थे । एमालेमा रहेको भए म पार्टीको मात्रै होइन, राज्यकै वरियतामा पर्नसक्थे नि ।

त्यसकारणले गर्दा राज्यमै हैसियत दाबी गर्ने अबस्थामा भएको मान्छे किन म पार्टी परित्याग गर्थेँर । केही न केही गम्भिर विषय नभई मेरो निर्णय आउने नै थिएन ।

मेरो यो गम्भिर निर्णयलाई एमालेका नेताहरुले मनन गरेको जस्तो लागेको छैन । त्यसैले ठुलै शक्ति निर्माण गरेर ठुलै आन्दोलन गर्नु जरुरी छ ।

यदि कांग्रेस र एमालेका नेताहरुले गम्भिरता महशुश गर्नुभयो भने आन्दोलनको जरुरी छैन ।

सत्ता साझेदार तपाईंहरु नै हुनुभयो । अर्को शक्ति प्रतिपक्षी कांग्रेस छ । यीहरुको भूमिकालाई कसरी लिनुभएको छ ?

कांग्रेसले आफ्भित्रको अन्तरविरोधलाई हल गर्न पनि सकेन । परिचालन गर्न पनि सकेन ।

कांग्रेसको ओरालो लाग्ने अबस्थाको जिम्मेवार उहाँहरु आफैं नै हो । उहाँहरुले प्रयास त गरिरहनुभएको छ ।

अर्कोचाँहि विकल्पको कुरा छ । दुनियमा निर्विकल्प केही पनि हुँर्दैन । दुनियमा परिवर्तन मात्रै स्थायी छ । आज निर्वाचनको परिणाम जुन त्यो पनि स्थायी छैन ।

यदि नेकपाले आफुलाई सुधारेन भने अहिले मैले जे मुद्दाहरु उठाएर अभियानमा लागिरहेको छु, ति मुद्दाहरुलाई आत्मसाथ गरेन भने नेकपाको पनि भविष्य छैन । या त यी मुद्दाहरुलाई आत्मसात गर्नुपर्छ, या त नेकपा रहन्न ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १ : १५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन