आफूलाई सुधार गरेन भने अब नेकपा नै रहन्न – अशोक राई (अन्तर्वार्ता) « Khabarhub

आफूलाई सुधार गरेन भने अब नेकपा नै रहन्न – अशोक राई (अन्तर्वार्ता)



लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका अशोक राई अहिले समाजवादी पार्टी नेपालका बरिष्ठ नेता हुन । तत्कालीन अवस्थामा नेकपा एमालेको उपाध्यक्ष रहेका राईले आफ्नो सोच अनुसार नेकपा एमाले चल्न नसकेको भन्दै पार्टी छाडेका थिए ।

राई सहभागि दल समाजवादी पार्टी अहिले सरकारमा छ । त्यसैले पनि उनले सरकारको समर्थन गर्दै भनेजति काम नगरेपनि ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय नभएको बताउँछन् । जनताले वर्तमान सरकारसँग धेरै अपेक्षा गरेका कारण सरकारको काम कम देखिएको उनको तर्क छ ।

राईले सरकारको कामसँगै समाजवादी पार्टीले चलाएको पार्टी एकीकरण अभियान, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसको नेपाली राजनीतिमा भूमिका लगायतका विषयमा खुलेर कुरा गरेका छन् ।

उनले सत्तारुढ नेकपाले अहिलेको शैली परिवर्तन नगरे नेकपाको अस्तित्व नै सकिने पनि दाबी गरेका छन् । प्रस्तुत छ राईसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले छाडेको दलकै नेतृत्वमा गठित सरकारमा तपाईं हुनुहुन्छ । यो सरकारप्रति जनताको निराशा बढ्दो छ । अहिलेको सहकार्य देख्दा तपाईंको पहिलेको पार्टी परित्यागको निर्णय राजनीतिक की आक्रोशजन्य कारण हो ?

म सामान्यतया आक्रोश र भावावेशमा निर्णय लिने मानिस होइन। मेरो मान्यता एउटा चिनियाँ उखानको जस्तो छ । १० चोटी नाप एकचोटी काट ।

कुनै पनि निर्णय लिनुभन्दा अघि सोँच, सरोकारवाला मानिसहरुसँग परामर्श गर अनि मात्रै त्रुटिरहित निर्णयमा पुग भन्ने मेरो मान्यता हो ।

जहाँसम्म वर्तमान सरकार अलोकप्रिय बन्दै गयो भन्ने छ, अहिलेको सरकार लोकप्रियता र अलोकप्रियताको दोसाँधमा छ । म यो सरकारलाई पुर्णत अलोकप्रिय भयो भन्न चाहन्न ।

तर आशा त निराशामा परिणत भयो नि हैन र ?

त्यो आशा बढि भएर हो । कहिलेकाँही आशा बढि भयो भने निराशा पनि बढि हुन्छ ।

म हाइस्कुल पढ्ने बेलामा विराटनगरमा वरगाछी भन्ने पत्रिकामा वीपी कोइरालाको अन्तर्वार्ता पढ्ने मौका पाएको थिँए ।

त्यहाँ पत्रकारले प्रश्न सोधेका थिए, वीपी बाबु तपाईंबाट मानिसहरुले धेरै आशा गरेका थिए । तर त्यो आशा त पुरा भएननि भनेर ।

जवाफमा वीपी कोइरालाले भन्नुभएको थियो, मसँग आशा नगर्नु मलाई विश्वास गर्नु । आशा पुरा भएन भने निराशामा परिणत हुन्छ ।
विश्वास भयो भने त्यो कहिल्यै पनि डगमगाउन्न । यो भनाईबाट बचपनमा समेत प्रभावित भएको थिएँ, आज पनि त्यो भनाई सधै सम्झिरहन्छु ।

आज सरकारप्रति जनता रुष्ट भएको कुरा उठाउँदा यो फेरि स्मरण गर्न चाहेँ, हामीकहाँ जुनसुकै सरकार बनोस्, चाहे त्यो खड्ग ओलीजीको होस् वा अरु कसैको ।

कुनै पनि काम रातारात हुँदैन । विरासतमा हामीले धेरै फोहरमैला लिएर आएका छौँ, त्यसलाई रातारात फेर्न सबैलाई गार्‍हो हुन्छ । यो सरकारले कोशिश त गरिरहेको छ, तर जति गर्नुपर्ने थियो, त्यति चाँहि नभएकै हो । यसमा मलाई आलोचना गर्न मन छ ।

अनि विश्वास चाँहि ?

मेरो विश्वास डगमगाउने अबस्था बनिसकेको छैन । जनतालाई समेत म सानो मान्छेका तर्फबाट समेत भनिरहेको छु । विश्वासलाई अविश्वासमा रपान्तरण नगर्न भनेर । किनभने समय त लाग्छ ।

हामी जापानको कुरा गछौँ, अमेरिकाको कुरा गछौँ, चीन, कोरिया लगाएतका देशको कुरा गछौँ ।
हामीले पछिल्लो विकासको चरणलाई मात्रै हेरेका छौँ । तर विकासका पछाडिका कुरा कति कठिन थिए भनेर हामी कहिलै पनि सोचेका छैनौँ ।

एउटा भनाई छ, ‘नौनीका पछाडि दही र दुधको इतिहास हुन्छ भनेजस्तै, खाली नौनी यतिकै बनेहोला भनेर सोचेर हुन्न । सरकारले काम चाँहि गरिरहेकै छ, तर हुनुपर्नेजति नभएको मात्रै हो । म चाँहि निराश छैन ।

तपाईं सत्तासाझेदार पनि, सरकारमा जाँदा उठाएका माग सम्बोधन भएको छैन । प्रणाली र व्यवस्थाकै विषयमा पनि बहस छ । अब तपाईंहरुको चुनावी एजेण्डा के हुन्छ?

हाम्रो मुद्दाको आधारमा चुनावमा जाने हो । हामी अहिले समाजवादी पार्टीका रुपमा चुनावमा जाँदा समुन्नत संघीय समाजवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो ।

यसका ४ वटा विषेशता रहनेछन् भनेर हामीले भनेका छौँ । एउटा पहिचानसहितको संघीयता, भ्रष्टाचाररहित र सदाचारसहितको शुसासन, गरीबि बेराजगारीमुक्त सृमद्धिसहितको नेपाल र समृद्धिको न्यायपुर्ण वितरण प्रताभुति समेत भएको समाजवादी व्यवस्था ।

यी ४ वटा विषेशतासहितको समुन्नत संघीय समाजवादलाई लिएर चुनावमा जाने हो । अहिले यो सरकारमा हामी सामेल भएको पनि भव्य विकास निर्माण, समृद्ध र सुखी नेपाल र नेपाली भइहाल्छन् भन्ने मिथ्या विश्वास लिएर हैन कि समृद्ध नेपाल र सुखी नेपालीका लागि वातावरण बनाउनका लागि केही योगदान पुर्‍याउन सक्छौँ कि भनेर गएका हौँ ।

एउटा जातिवादी, नश्लवादी संविधानको संसोधन गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने वातावरण बनाउन सकिन्छ कि भन्ने जरुर हो । सरकारले समृद्ध र विकास लागि सरकारले काम गरिरहेको देखिन्छ । तर जहाँनेर जोड पुर्‍याउनुपर्ने हो त्यहाँ नपुगेको जस्तो देखिन्छ ।

पहिलो संविधान संसोधनमा जोड दिनुपर्छ । किनभने जबसम्म राजनीति एउटा निर्धारित दिशातर्फ रुमल्लिरहन्छ विकास सम्भव छैन । त्यतिकै विकास हुने भएत पञ्चायत कालमै विकासको मुलै फुटुन्पर्ने ।

विकासका लागि सञ्चार, विकासका लागि राजनीति भएको हो । सारा चिज विकासका निम्ति गर्नुपर्छ भनेको हो, तर राजनीतिले एउटा दिशा लिन सकेन । जसका कारण कसैले चाहेर पनि पवित्र चाहना राखेर पनि पुरा हुन सकेन ।

अहिलेपनि समृद्ध नेपाल र सुखी नेपाली नारा पनि मिठो छ, प्रधानमन्त्रीले मेहनत गरेको पनि देख्छु, त्यसमा मेरो भन्नु केही छैन । हरेक प्रधानमन्त्रीले केही गरौँ भन्ने रहेको देखिन्छ।

अहिलेका प्रधानमन्त्री त झन् रोगसँग लडेर यति ठुलो जिम्मेवारी बोकेर आफुसँग सीमित समय छ भनेर पनि भन्नुहुन्छ । उहाँले विकास चाहनुभएको छ, तर उहाँले सुधार्नुपर्ने देख्छु ।

हामी जिम्मेवार राजनीति गछौँ, पाएका उपलब्धिलाई रक्षा गरेर अन्य उपलब्धीलाई पुरा गर्ने हाम्रो लक्ष्य हो ।

हामी चाहन्छौ, राज्यलाई वलियो बनाउन सकियोस् तर संविधानको दोष हटाएर जाउँ भन्ने छ । अर्को भनेको राजनीतिक पार्टी र जनताबिचको सम्बन्ध समेत सुमधुर हुन्छ ।

दोस्रो कुरा राजनीतिक नेताले नीति दिने हो, ऐन कानून र निर्देशन दिने हो । कार्यान्वयन गर्ने भनेको कर्मचारीतन्त्रले हो ।

अहिलेको कर्मचारीतन्त्र भनेको राणकालिन शैलीको छ । हाम्रो कर्मचारीतन्त्र प्रक्रियामुखी भयो, कार्यमुखी बनाउनुपर्छ ।

कर्मचारीतन्त्रलाई विश्वास पनि गर्नुपर्‍यो । कर्मचारीको मनोवल अलि बढाउनुपर्‍यो । कर्मचारी आफैले गर्नुपर्ने काम समेत मन्त्री र मन्त्रिपरिषद्मा पठाउने व्यवस्थालाई परिवर्तन गर्नुपर्‍यो ।

कर्मचारी किन भयमा छ, त्यसलाई हटाउनुपर्‍यो, नियम कानून फेर्नुपर्‍यो, काम गर्न सक्दैनन् भने हटाउनुपर्‍यो, कर्मचारीलाई कार्यकुशलता पुगेको छैन भने देशमा हुन्छ कि विदेशमा हुन्छ तालिम दिने व्यवस्था मिलाउनपर्‍यो ।

जबसम्म कर्मचारीतन्त्रमा यस्तो हुँदैन जुनसुकै प्रधानमन्त्री भएपनि लक्ष्य हासिल गर्न सक्दैन ।

सरकारमा जानेबेला भएको सम्झौता कार्यान्वयन भएको छैन । फेरि पार्टी एकीकरणको अभियानमा हुनुहुन्छ ? तपाईंहरु सरकारकै मोहमा की नयाँ राजनीतिक खेलमा ?

हाम्रो कुनै पनि राजनीतिक खेल छैन । हामी सरल ढंगले इमान्दारितापूर्वक राजनीतिमा र सरकारमा समेत छौँ ।

प्रधानमन्त्री जो अहिले सरकारमा हुनुहुन्छ, जसले हिजो तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पेश गरेको संसोधनको समेत विरोध गर्नुहुन्थ्यो ।

जुन संसोधनको प्रस्तावमा हामीले माग गरेजस्तो कुनैपनि विषय समावेश भएको थिएन, हाम्रो मन राख्नेगरी मात्रै देउवाजीले संसदमा पेश गर्नुभएको थियो ।

जसलाई हामीले समेत सकारात्मक रुपमा लिएका थियौँ । तर त्यसकै समेत विरोध गर्ने अहिलेका प्रधानमन्त्रीको नेतृत्वको सरकारमा आएपछि दुईतिहाई पुग्छ ।

म संसोधन गर्न तयार छु भनेर ओलीजीले लिखित नै गर्नुभएको थियो । उहाँको भाषा नै के छ भने ‘संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग मुद्दाहरुमध्ये संविधान संसोधन गरी पुरा गर्नुपर्ने विषय संसोधन गर्ने । सरकारले निर्णय गरी सम्बोधन गर्ने सवालमा नीति तथा कार्यक्रममा सो बमोजिम गरी अन्यथा मन्त्रिपरिषद्बाट सम्बोधन गरिनेछ ।’ भनेर लिखित सम्झौता गर्नुभएको छ ।

अब कहिलेसम्म कुर्ने ? चुनावसम्म ?

हामी धेरै नै जिम्मेवार राजनीति गरिरहेका कारण भावावेषमा निर्णय गरेनौँ । आज पुरा भएन भने हामी सरकारमा रहन सक्दैनौँ भनेर समेत कहिल्यै भनेनौँ । सरकारमा सहभागी भएको ६ महिनामा हामी प्रधानमन्त्रीजीको समय लिएर गएर कुरापनि गरेका हौँ ।

हामीले भन्यौँ, हाम्रो लिखत पनि थियो भनेर भन्यौँ, उहाँले संविधान संसोधन नगरी कामै गर्न सकिन्न भनेर भन्नुभएको थियो । त्यसको पहिलो शिकार म नै भएँ ।

बहुमत भएर पनि सरकारमा आउन ३ महिना कुर्नुपर्‍यो । त्यसैले संविधान संसोधन गर्न अपरिहार्य छ, तर त्यसको वातावरण बनाउनुपर्‍यो भनेर भन्नुभएको थियो । अब हामी भेटेर प्रधानमन्त्रीजी वातावरण बनाउन अझै कति समय लाग्छ भनेर सोध्छौँ ।

अहिले देश बाममय भएको भन्छन्, तपाईं लामो समय बामराजनीति गरेर अहिले यता हुनुहुन्छ । अहिले तपाईंलाई कस्तो लाग्छ ?

हो, तर मैले पैलेको धार साथीहरुलाई जिम्मा लगाएर यता आएको छु । मायाले संसार चल्दैन भन्छन् नि । आफु समेत सहभागी भएर बनाएको त हो । तर मायाले संसारमा चल्दैन भनेर उखानलाई चरितार्थ गर्नेगरी नेकपा एमाले परित्याग गरेँ ।

त्यो बाटोमा अहिले समाजवादी पार्टीमा आइपुगेका छौँ । यो बाटोमा धेरै साथीहरुसँग अंकमाल गरेर अघि बढ्ने मेरो पनि सोँच हो । राजनीतिमा शक्ति आर्जन गर्न मुद्दा, बिचार र सोँचमा एकरुपता भएकाहरुसँग हातेमालो गर्ने सोँच छ ।

राजपासँगको एकीकरणको कुरा के भइरहेको छ ?

राजपासँग समेत कुरा भइरहेको छ । अरु पनि थुप्रै पार्टीहरुसँग पनि कुरा भइरहेको छ । अब तेस्रो शक्ति निर्माण नगरीकन संविधानलाई तात्विक हिसाबले परिवर्तन गर्न समस्या छ ।

प्रधानमन्त्रीजीले हामीसँग गरेको सम्झौता कार्यान्वयन गर्छु त भन्नुभएको छ, तर हामीले उहाँबाट धेरै अपेक्षा पनि गरेका छैनौँ ।

अपेक्षाको भारी बोकाउने पक्षमा छैनौँ । त्यसका लागि साना–साना दल बनाएर जानुहुँदैन । सशक्त विकल्प निर्माण गर्ने जसले संविधानको दोषलाई हटाउने कुरामा विरोध गर्छ त्यसलाई परास्त पार्नेगरी दृढ इच्छाशक्ति भएको राजनीतिक दल बनाउनुको विकल्प छैन ।

नयाँ अभियान लिएर हिडेको मान्छे म मोहका कुरा सोच्नै नसकिने कुरा हो ।

 एकीकरण अभियानमा त लाग्नुभो तपाईंको बरियता क्रम क्रमशः खस्कँदो अवस्थामा छ ।

वरियताले आन्दोलन हाँक्ने होइन। आन्दोलन हाँक्ने भनेको टिमले हो । त्यस्तो टिम निर्माण भइरहेको छ । यसमा बहुत खुसी छु ।

वरियता मेरा लागि प्राथमिक विषय भएको भए एमालेमै रहन्थे । एमालेमा रहेको भए म पार्टीको मात्रै होइन, राज्यकै वरियतामा पर्नसक्थे नि ।

त्यसकारणले गर्दा राज्यमै हैसियत दाबी गर्ने अबस्थामा भएको मान्छे किन म पार्टी परित्याग गर्थेँर । केही न केही गम्भिर विषय नभई मेरो निर्णय आउने नै थिएन ।

मेरो यो गम्भिर निर्णयलाई एमालेका नेताहरुले मनन गरेको जस्तो लागेको छैन । त्यसैले ठुलै शक्ति निर्माण गरेर ठुलै आन्दोलन गर्नु जरुरी छ ।

यदि कांग्रेस र एमालेका नेताहरुले गम्भिरता महशुश गर्नुभयो भने आन्दोलनको जरुरी छैन ।

सत्ता साझेदार तपाईंहरु नै हुनुभयो । अर्को शक्ति प्रतिपक्षी कांग्रेस छ । यीहरुको भूमिकालाई कसरी लिनुभएको छ ?

कांग्रेसले आफ्भित्रको अन्तरविरोधलाई हल गर्न पनि सकेन । परिचालन गर्न पनि सकेन ।

कांग्रेसको ओरालो लाग्ने अबस्थाको जिम्मेवार उहाँहरु आफैं नै हो । उहाँहरुले प्रयास त गरिरहनुभएको छ ।

अर्कोचाँहि विकल्पको कुरा छ । दुनियमा निर्विकल्प केही पनि हुँर्दैन । दुनियमा परिवर्तन मात्रै स्थायी छ । आज निर्वाचनको परिणाम जुन त्यो पनि स्थायी छैन ।

यदि नेकपाले आफुलाई सुधारेन भने अहिले मैले जे मुद्दाहरु उठाएर अभियानमा लागिरहेको छु, ति मुद्दाहरुलाई आत्मसाथ गरेन भने नेकपाको पनि भविष्य छैन । या त यी मुद्दाहरुलाई आत्मसात गर्नुपर्छ, या त नेकपा रहन्न ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १ : १५ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म