काठमाडौं- कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले साझा मुद्दाहरुमा एकजुट भएर अघि बढ्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
प्रदेशसभा सदस्य हिमबहादुर शाहीले समाजका कुसंस्कार तथा सीमान्तकृत समुदायको विषयमा एकजुट भएर आवाज उठाउने गरेको बताए ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को संसद् सहयोग परियोजनाअन्तर्गत दलित महिला सङ्घ सुर्खेतले आयोजना गरेको प्रदेशसभा सदस्यहरुसँगको छलफल कार्यक्रममा शाहीले सो कुरा बताएका हुन् ।
“सीमान्तकृत समुदायको न्यायका लागि हामी एकजुट भएको अवस्था छ”, उनले भने, “अब गाउँका दूरदराजमा बस्ने महिलाहरुलाई पनि क्षमता अभिवृद्धिका कार्यक्रमहरु लैजान आवश्यक रहेको छ ।” सदनमा उठाएका सीमान्तकृत समुदायका विषयवस्तुहरुको कार्यान्वयनको अवस्थामा रहेको उनले बताए ।
प्रदेशसभा सदस्य बदमीकुमारी बोहोराले प्रदेशका सबै प्रदेशसभा सदस्यको पहलमा नै छोरीबुहारी छात्रवृत्ति कार्यक्रम ल्याउन सफल भएको बताइन् ।
“कर्णालीका सबै महिला माननीयले आवाज उठाएपछि छोरीबुहारी छात्रवृत्ति कार्यक्रम राख्न सफल भएका हौँ”, उनले भनिन्, “लैङ्गिक दृष्टिकोणले हेर्दा महिलाको शिक्षाको अवस्था पछाडि परेको देखिएको भएर नै यस कार्यक्रम ल्याएका हौँ ।”
प्रदेशसभा सदस्य पद्मा खड्काले जसको सवाल छ उसैले मात्र आवाज उठाउने मात्र भन्दा पनि सबैले सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य अमृता शाहीले उठ्न नसकेका आवाजहरुलाई उठाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा दलित महिला सङ्घ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले दलितभित्र पनि विपन्न दलितको आवाजहरु उठ्न नसकेको भन्दै उनीहरुको हकहितका लागि अगाडि बढ्नुपर्ने बताइन् ।
सदनमा कस्तो विषयहरु उठाउने र सीमान्तकृत वर्गको विषयमा कसरी कुरा राख्ने भन्ने विषयमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको दलित महिला सङ्घका कार्यक्रम संयोजक खगिसरा वलीले जानकारी दिइन् ।
प्रतिक्रिया