नेपालको कृषि, उर्जालगायतका क्षेत्रमा लगानी गर्न तयार छौं - राजदूत युसुफ बिन (अन्तर्वार्ता) | Khabarhub Khabarhub

नेपालको कृषि, उर्जालगायतका क्षेत्रमा लगानी गर्न तयार छौं – राजदूत युसुफ बिन (अन्तर्वार्ता)



सन् १९७७ मा औपचारिक सम्बन्धको रुपमा दौत्य सम्बन्ध स्थापना भएदेखि नै नेपाल र कतारले आपसी विश्वास, सम्मान र समझदारीमा आधारित भई दुर्ई पक्षीय सम्बन्ध गाढा बनाउदै आएका छन् ।

नेपाली युवाहरुको आकर्षक गन्तव्य रहेको कतार, तीब्र गतिमा विकासको फड्को मार्दै गरेको राष्ट्र हो। प्राकृतिक ग्यास तथा तेलका हिसाबले विश्वको तेस्रो धनी तथा कुल ग्राहस्थ उत्पादनका आधारमा पहिलो रहेको कतारले हालै आफ्नो राष्ट्रिय दिवस मनाएको छ ।

यसै सन्दर्भमा नेपाल–कतार सम्बन्धका विविध आयामका विषयमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अहमद अल हलसँग खबरहबका लागि ईश्वरदेव खनालले गरेको कुराकानीको सम्पादित अंश–

नेपाल–कतारबीचको चार दशकभन्दा लामो औपचारिक कुटनीतिक सम्बन्धको अवस्था कस्तो छ?

कतार र नेपालबीचको दुईपक्षीय सम्बन्ध गत चार दशकमा फस्टाँउदै गइरहेको छ । नेपालसँगको सम्बन्ध विविध क्षेत्रमा विस्तार गर्ने अभिप्रायसाथ कतार सरकार र नेपाल सरकारका बीच थुप्रै औपचारिक सहमतीपत्रमा हस्ताक्षर भएको छ । कतार र नेपालबीचको सम्बन्ध थप मजबुत बन्दै उचाइमा पुग्दैछ ।

हामीले सकारात्मक कदमहरु चालिरहेका छौं र सम्बन्ध थप मजबुत बनाउन चाहन्छौं । हामीले केही महत्वपुर्ण सहमतिपत्रहरु तयार गरेका छौं जुन हस्ताक्षरको पर्खाइमा छन् । नेपाल र कतारबीच सन् २००५मा भएको सम्झौता जुन नेपालले अन्य राष्ट्रहरुसँग गरेको त्यस प्रकारको पहिलो सम्झौता थियो त्यो संशोधनको दस्तावेज हस्ताक्षरको पर्खाइमा छ । यस्तै, स्वास्थ्य क्षेत्रमा सहकार्यका आधारहरु तयार भएका छन् ।

लगानी संरक्षण सम्बन्धी सहमतिपत्रमा पनि हामी हस्ताक्षर गर्न इच्छुक छौं । दुई देशहरुबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका साथसाथै संयुक्त राष्ट्रसंघ मार्फत् आपसी सहयोग अभिबृद्धि तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयनमा जोड जस्ता कार्य अगाडि बढी रहेका छन् ।

नेपालको एक मित्रको रुपमा कतारले नेपालको ‘सुखी नेपाली, समृद्ध नेपाल’ लक्ष्यलाई कसरी सघाउँदैछ ? कतार र नेपालले भविष्यमा सहकार्य गर्न मिल्ने सम्भावना के के छन्?

सर्वप्रथम त हामी नेपालले सन् २००६को बृहत् शान्ति सम्झौता पछि हासिल गरेका राजनीतिक उपलब्धिबाट साँच्चिकै प्रभावित छौं । त्यस्तै, सन् २०१५मा नयाँ संविधानको घोषणा, सन् २०१७ को चुनाव र यसले निर्माण गरेको राजनीतिक स्थिरता ठूला उपलब्धि हुन् ।

हामी नेपालसँग कृषि, उर्जा र अन्यलगानीका क्षेत्रमा सहकार्य गर्न तयार छौं । यसदिशामा नेपाल सरकार र लगानीबोर्डले कानुनको निर्माण तथा संशोधनको क्षेत्रमा गरेका प्रयास प्रशंसनीय छन् । हामीले आर्थिक सहकार्य विस्तार गर्ने अन्य महत्वपुर्ण सहमतिका दस्तावेजमा पनि हस्ताक्षर गर्न चाहेका छौं ।

हामी दुई देशबीच विविध क्षेत्रमा सहकार्य अभिबृद्धि गर्ने अवसर विस्तारको खोजिमा छौं । मैले नेपालको व्यापारिक समुदायलाई कतारमा हुने र भइरहेका विभिन्न प्रदर्शनीमा भाग लिने तथा कतारी कम्पनीलाई नेपाल भ्रमण गराई लगानीका अवसरको खोजी गर्न लगाउने लगायतका कार्य गराउने विभिन्न भूमिका निर्बाह गर्दै आएको छु ।

कतारसँग सहकार्य गरी वाणिज्य विस्तार गर्ने र संयुक्त च्याम्बर सम्बन्धी सहमतिको दस्तावेजमा हस्ताक्षरले उल्लेखित कार्यलाई टेवा पुर्‍याउने हुँदा सो को लागि आवश्यक प्रयास गरिरहेको छु ।

नेपालले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै छ । यो अभियान सफल बनाउन दुतावासले के भूमिका खेल्दैछ ?दुतावासले कतारी पर्यटकलाई कसरी नेपाल आगमनका लागि प्रेरित गर्दैछ?

नेपाल भ्रमण वर्ष २०२० अभियान विश्वव्यापी रुपमा कतारलगायत विश्वका विभिन्न देशहरुमा एकसाथ जनवरी देखि शुरु हुँदैछ । हामी नेपालले अगाडी सारेको अभियान र पर्यटन भित्र्याउने प्रयासको स्वागत गर्दछौं ।

नेपालको पर्यटन सम्बन्धी अपार सम्भावनामा हामीलाई विश्वास छ । नेपालको जलवायु, जैविक विविधता अतुलनीय छ । नेपालको अतिथि सत्कार उत्कृष्ट छ। यस्ता कुराले पर्यटनलाई थप उचाइमा पुर्‍याउने कुरामा म विश्वस्त छु।

अघिल्लो वर्षको तुलनामा कतारी पर्यटकहरु उल्लेख्य रुपमा बृद्धि भएका छन् । खासगरी पर्वतारोहणको क्षेत्रमा । नेपालको औषधीय र चिकित्सकीय पर्यटनको क्षेत्रमासमेत उच्च सम्भावना छ, यसको खाडी राष्ट्रहरुमा समेत विस्तार गर्न सकिन्छ ।

कतार नेपाली आप्रवासी कामदारहरुको रोजाइको गन्तव्य हो । नेपाली कामदारहरुको कतारको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

विगतमा कतारले श्रमका क्षेत्रमा उल्लेख्य कदमहरु चालेको छ। यसले स्पोन्सरसीप प्रथाको उन्मुलन गर्दै श्रम कानून संशोधन गरेको छ । यो संशोधनले कामदारलाई देश नछाडिकनै रोजगारदाता परिवर्तन गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ ।

संशोधनले पासपोर्ट नभएमा रेसिडेन्ट कार्डको प्रयोग गर्न सक्ने, कम्पनीले तलब अनिवार्य रुपमा बैंकमार्फत भुक्तानी गर्नुपर्ने, श्रम सम्बन्धी विवाद आएमा समाधान गर्न श्रम मन्त्रालयमा अदालतको स्थापना गर्ने, कामदारलाई औषधी उपचार र मनोरञ्जन समेतको व्यवस्था गर्नुपर्ने लगायतका प्राबधानहरु कतारमा कार्यरत नेपाली श्रमिकको हकमा पनि लागु हुने व्यवस्था गरेको छ ।

निश्चित रुपमा यस क्षेत्रमा अझै केही समस्याहरु बाँकी छन्, खासगरी गैरकानूनी म्यानपावर अफिसहरू, आजाद भिसा र तस्कर दलालहरुले सिर्जना गरेका समस्याहरू ।

आप्रवासी मजदुरसँग सम्बन्धित यस्ता समस्याहरु सामनागर्न सहयोग गर्ने नागरिक समाजका संगठनहरु र सरकार प्रति हामी धन्यवाद व्यक्तगर्न चाहन्छौं ।

आप्रवासी कामदारहरु स्रोत राष्ट्र र गन्तव्य राष्ट्र दुवैकालागि महत्वपुर्ण छन् भन्ने कुरामा हामी विश्वस्त छौं । त्यसकारण उनीहरुका अधिकारको संरक्षण र उपलब्धता सुनिश्चित गर्ने विषयमा हामी प्रतिबद्ध छौं ।

हामी सन् २००५को दुईपक्षीय श्रम सहमतीलाई पुनरावलोकन र संशोधन गर्न चाहन्छौं । यस कार्यकालागि एउटा संयुक्त समिति गठन गरिएको छ ।

कतारले आप्रवासी श्रमिकको रुपमा जान सहज होस् भनी कतार भिसा सेन्टर (QVC) को स्थापना गरिएको छ, यस कार्यमा सहयोगका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं ।

नेपाली श्रमिकको बारेमा कतारको अवधारणा के हो? के कतारले नेपालीहरुका लागि थप रोजगारीका अवसरहरु सिर्जना गर्दैछ?

म के कुरामा जोड दिन चाहन्छु भने कतारमा कार्यरत नेपाली श्रमिकहरु कतारको नेतृत्व र कतारी जनताको कदर गर्छन अनि कतारका जनताले पनि नेपालको अखण्डता, लगनशिलता र समर्पण तथा नेपालका उच्च नैतिक मुल्य र मान्यताको सम्मान गर्दछन् ।

कतारले भिजन २०३० को रणनीति अंगिकार गरी ठूला परियोजनाहरु सञ्चालन गर्दैछ, २०२२ को फिफा विश्वकप पछि पनि ती ठूला परियोजना निर्माण कार्यले निरन्तरता प्राप्त गर्नेछ ।

कतारले यस्तो लोभलाग्दो आर्थिक विकास यति छोटो समयमा कसरी गर्न सक्यो? छिमेकीको नाकाबन्दीले सिर्जना गरेको विषम परिस्थितिको सामना गर्न सक्ने कौशल र त्यस्ता परिस्थितिबाट कतारले सिकेको पाठबारे प्रष्ट पारिदिनु हुन्थ्यो की?

कतारको राजनीतिक नेतृत्वको प्रष्ट भिजन छ, जुन कतारी जनताको विकास र सम्पन्नतामा सधैं चिन्तनशिल छ । उक्त नेतृत्व राष्ट्रिय सम्पदाहरुको दिगो उपयोग कतारी जनताको उच्च हितमा कसरी प्रयोग गर्ने भन्नेमा निरन्तर योजना निर्माण, कार्यान्वयन र पुनरावलोकन समेतमा दत्तचित्त छ, सोही मुताबिक मजबुत अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण र विस्तार तथा सहकार्यका अवसरको उचित उपयोग पनि कतारको प्राथमिकतामा रहने गरेको छ ।

कतारी नरेश शेख तमिम विन हमाज विन खलिफा अल थानी, शाही परिवार र कतारी जनता बीच अपार गाढा सम्बन्ध छ । यो सम्बन्धले कतारी जनता कतारको उच्च समृद्धिका लागि झन कटिबद्ध भएर लाग्ने बनाएको छ ।

कतारका सन्दर्भमा विकास एउटा निरन्तर प्रक्रिया हो, जनता र सरकारको प्रतिबद्धताले राष्ट्रलाई विषमता विरुद्ध लड्न सघाएको छ । नाकाबन्दी सामना गर्न राष्ट्रिय एकता अपरिहार्य तत्व हो, राष्ट्रिय एकताले देशलाई जस्तोसुकै संकटबाट पनि बचाउन सक्छ ।

नाकाबन्दीले सिकाएको महत्वपूर्ण पाठ भनेको कुनै अमुक शक्तिमाथि एक्लो निर्भरता कायम गर्नु हुँदैन, आत्मनिर्भरताका बाटाहरुको खोजि गरिरहनु पर्छ ।

नाकाबन्दीको परिणामस्वरुप, कतारले अत्यावश्यक सामग्रीको उत्पादन बृद्धि गर्नुका साथै खाद्य पदार्थमा बाह्य निर्भरता घटाएको छ ।

विश्वकप फुटबल २०२२ को तयारीका लागि कतारले के कस्तो तयारी गरिरहेको छ ? पश्चिमा मिडियाले कतारको विश्वकप तयारीलाई किन नकारात्मक किसिमले चित्रण गरेको होला?

अधिकांश तयारी पूरा भइसकेको छ, केही रंगशालाहरु त खुला पनि भइसकेका पनि छन् । कतारले गल्फ कोअपरेसन काउन्सिल (GCC) फुटबल प्रतियोगिताको त आयोजना पनि गरि सक्यो, जसमा सबै टिमको सहभागिता रह्यो ।

कतारका अमिरले नै सबै सहभागि र दर्शकलाई स्वागत गर्नु भयो । कतारका जनता फुटबलप्रेमी छन् । खेलकुदका पूर्वाधार निर्माण र विकासमा सहयोग पुर्‍याएकोमा नेपाली आप्रवासी श्रमिकहरु प्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।

जहाँसम्म केही पश्चिमा मिडियाको नकारात्मक चित्रणको कुरा छ, त्यो पछिल्लो स्थितिको वस्तुस्थितिको ज्ञान नहुनु हो। सरोकारवाला विभिन्न अन्तर्राष्ट्रिय निकाय जस्तै अन्तर्राष्ट्रिय श्रम संगठनसँग हामी संयुक्त अग्रसरतामा काम सञ्चालन गरिरहेका छौं ।

नेपालमा कतारी उच्च तहबाट भ्रमण हुन सक्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?

हाम्रो दुतावासले उच्च तहको भेटघाटलाई दुईपक्षीय सम्बन्ध सुधारको महत्वपूर्ण कडिको रुपमा लिन्छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको गत नोभेम्वरको भ्रमण अत्यन्त फलदायी र सफल भएको हामीले महसुस गरेका छौं, अवश्य पनि अन्य खालका भ्रमणहरुले सम्बन्ध मजबुत गराउन उल्लेख्य भूमिका खेल्नेछ ।

हाम्रो तर्फबाट पनि उच्च तहको भ्रमणको लागि हामी पहल गरिरहेका छौं । राजनीतिक मुद्दाहरुमा छलफल गर्न हाम्रो परराष्ट्र मन्त्रालयस्तरको संयुक्त कार्यदल पनि छ, कतार उच्चस्तरीय भ्रमणमार्फत दुईपक्षीय समझदारी र सहकार्य विस्तार गर्न इच्छुक छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ३५ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)