युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप « Khabarhub

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । स्टारलिङ्क सेवामा आएको अवरोध र त्यसको प्रयोगलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यस्तो भनाइ आएको हो ।

मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न उक्त प्रणाली प्रयोग गरेको आरोप लगाए । उनले यससम्बन्धी कमजोरी गत हप्ता नै हटाइएको दाबीसमेत गरे ।

‘स्टारलिङ्कका सर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन । सर्त उल्लङ्घन भएमा सेवा बन्द गरिनेछ,’ मस्कले अर्को पोस्टमा लेखेका छन् ।

यद्यपि, उनले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । तत्काल अवरुद्ध पार्न वा नष्ट गर्न कठिन भएकाले यो प्रणाली युक्रेनी सेनाका लागि निर्णायक रहेको उनको भनाइ छ । ‘स्टारलिङ्क बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्नेछ,’ उनले भनेका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटकपटक परिवर्तन गर्दै आएका छन् । उनले स्टारलिङ्क सेवामा आउने अवरोधका लागि आफ्नो कम्पनी स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबीसमेत गर्दै आएका छन् ।

रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सैन्य गतिविधिका लागि नागरिक प्रयोजनमा आधारित स्टारलिङ्क तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ ।

युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले शनिबार निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गतिमा सुधार देखाएको बताएका छन् । उनका अनुसार, प्रणालीको गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको छ भने सञ्चार सम्पर्क पनि स्थिर रहेको छ ।

‘यो उपलब्धि हाम्रो अग्रपंक्ति, सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन र सञ्चारका लागि अत्यन्त महत्वपूर्ण छ,’ खमाराले भनेका छन् ।

उनले आवश्यक गति पुनः प्राप्त भएको र सेवा पुनःस्थापनाको काम रातिदेखि नै सुरु गरिएको जानकारी दिएका छन् । यो सुधारले अग्रपंक्तिमा रसद व्यवस्थापन गर्न तथा रकेटबाट चल्ने ड्रोनलगायतका हवाई आक्रमणबाट देशको रक्षा गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

स्टारलिङ्क सञ्जाल पछिल्लो समय युक्रेन र अमेरिकाबीचको विवादको प्रमुख विषय बनेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई फाइदा पुग्ने गरी काम गरेको आरोप लगाउँदै आएका छन् ।

उनका अनुसार, अमेरिकाले युक्रेनतर्फ लक्षित क्षेप्यास्त्र आक्रमणबारे समयमै पूर्वसूचना नदिएको र स्टारलिङ्कको गति सीमित पारेको कारण युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको थियो ।

रक्षामन्त्री खमाराले यस विषयमा जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसले सकारात्मक नतिजा दिइरहेको बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  १२ : ३० बजे

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका