गलेश्वर- दुईवटा खाँबाको धरन । डाँडाभाटा र बलाको भर । टिनको छाप्रो । त्यही छाप्रोमा छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौँ दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन ।
आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै धेरै दिनहरु बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको धेरै समय यसैमा बितेको छ ।
सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा थालेका हुन् । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको उनले बताए । टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।
मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन् । उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए । १२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बञ्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाए ।
उनले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन् । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनई बनाउने सीप पनि रहेको छ ।
आरनमा बनेको खुकुरीलाई न्यूनतम तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके रु एक हजार ५ सयको दर तथा थेबेलाई एक हजार २ सय मूल्य पर्ने उनले जानकारी दिए।
आरनबाट दैनिकरुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाब्ने) काम पनि हुन्छ ।
गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार कमाइ हुनेहुँदा २० हजार बढी अन्नपातबाटै सङ्कलन हुन्छ । एक दर्जन हँसिया अर्जाबेबापत ५ सय रुपैयाँ तिर्नुपर्ने रेट छ ।
विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धानेका छन् । उनले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराको छुट्टाछुट्टै आरन चलाएका छन् ।
उमेरले ५० औँ वसन्तमा रहेका छन् हर्कबहादुरले फलामको साथै काठको काम गर्न पनि सिपालु छन् । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ (मोही) जस्ता सामान बनाउने आफूसँग सीप रहेको उनको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहक पुग्ने गरेका छन् ।
परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ ।
वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् । पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेबापत अन्नपात लिन्छन् ।
प्रतिक्रिया