‘स्मार्ट सिटी’ परियोजना– बिग्रेको घरको भत्केको चाला ! | Khabarhub Khabarhub

‘स्मार्ट सिटी’ परियोजना– बिग्रेको घरको भत्केको चाला !



काठमाडौं– पछिल्लो समय निकै चर्चामा रहेको विषय हो आधुनिक सहर अर्थात् स्मार्ट–सिटी । सरकारले काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने भने पनि कामले तीव्रता पाउन सकेको देखिँदैन ।

कामले गति लिन नसक्दा स्मार्ट सिटी कस्तो र कहिलेसम्म बन्छ भन्ने कुरा अन्योल छ । सहरी क्षेत्रमा पूर्वाधारको विकास निम्ति ल्याइएको यो योजनाले गति लिन नसक्दा स्मार्ट सिटी बनाउने कार्य कुरामै सीमित हुने त होइन ? धेरैको प्रश्नको विषय बनेको छ ।

स्मार्ट सिटी बनाउने जिम्मा सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छ । चारवटा क्षेत्रमा बन्ने स्मार्ट सिटीका लागि छुट्टाछुट्टै कम्पनीले विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) शुरु गरेको प्राधिकरणले जनाएको छ ।

हालसम्म भक्तपुरको डीपीआर रिपोर्ट आइसकेको र अन्य तीन वटाको डिपीआर रिपोर्ट आउन बाँकी रहेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । तिवारी भन्छन्, ‘सरकारबाट प्रजोक्ट नै स्वीकृत नभएको त होइन, तर कहिलेसम्म सम्पन्न हुन्छ भन्ने कुरा यकिन छैन ।’ उनका अनुसार परियोजनाको भौतिक विकास हालसम्म शून्य अवस्थामै छ ।

‘उपत्यकामा कस्तो स्मार्ट सिटी बनाउने भन्ने बारेमा विश्वका सहरहरुमा गई स्मार्ट टोल, स्मार्ट घर हेरेर आएपनि कुन तरिकाले अघि बढ्ने भन्ने कुरामा अझै अन्योलता छ’, उनले भने । साथै महानगरले कल्पना गरेको भन्दा फरक स्मार्ट सिटी बन्ने समेत उनले बताए ।

योजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ करोड बजेट विनियोजित भएको थियो । जसअन्र्तगत ठूलो परियोजनाका रुपमा रहेको भक्तपुरका लागि १२ करोड र बाँकी तीन परियोजनाका लागि २÷२ करोडका दरले कुल ६ करोड रुपैयाँ बिनियोजित भएको छ ।

स्मार्ट सिटी निमार्णका लागि जग्गा रोक्का गरिएको छ । काठमाडौं उपत्यका भौतिक विकास समितिको २४ वैशाख २०७४ को निर्णयअनुसार छनोट भएका उक्त चार स्थानमा नयाँ सहरको भौतिक विकास तर्जुमा गर्न चार किल्ला तोकेर जग्गालाई रोक्का गरिएको छ । स्मार्ट सिटी परियोजनाले छनोट गरिएको स्थानलाई इसान, आग्नेय, नैऋत्य र उत्तर दिशाको नाम दिएर चार किल्ला निर्धारण गरिएको छ ।

पहिलो काठमाडौं इसानको डीपीआर निर्माणको कार्य लागि हेलेनको आर्किटेक जेभी र नेपालको जेजे एसोसिएट्सले गरिरहेको छ । जसको अध्ययन कार्य भइरहेको छ । तिवारीका अनुसार यो १ लाख रोपनी क्षेत्रफलमा फैलने छ भने विकास गर्न लागिएका चार ठूला सहरमध्ये यो सबैभन्दा ठुलो हुनेछ ।

यो काठमाडौंको पूर्व उत्तर दिशामा निर्माण हुन लागेको छ । जसमा पूर्वतर्फ भक्तपुरबाट नगरकोट सहरको तेलकोट भञ्जाङसम्म फैलनेछ । त्यसैगरी पश्चिममा जोरपाटी क्रिकेट मैदान मूलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुरजाने पुरानो बाटोे पुग्नेछ भने उत्तरतर्फ साँखु जाने सडक र साँखु बजारसम्म पुग्नेछ ।

दोस्रो काठमाडौं आग्नेयको डीपीआर निर्माणको कार्य एमआरसी नेस्ट/एडीइ ले गरिरहेको छ । यो १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । यो काठमाडौंको पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडि सूर्यविनायक बनलाई बाहिर पार्दै फेदको बाटो पुग्नेछ ।

पश्चिममा खहरे खोला बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर हुँदै अरनिको राजमार्ग सिमानासम्म फैलिनेछ । उत्तरमा अरनिको राजमार्ग सिमानासम्म पुग्नेछ भने दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

तेस्रो दक्षिण पश्चिमको डीपीआर निर्माणको कार्य टिइएसी फुल ब्राइट जिइयोकम/जेभीले गरिरहेको छ । यो पनि १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । यो पूर्वमा छ्यासीकोटदेखि साविक सैंवु गाविसको सिमाना हुँदै फर्सिडोल, बाग्मती नदिको झोलुंगे पुलसम्म फैलिनेछ । दक्षिणतर्फ बाग्मती नदीसम्म पुग्नेछ ।

चौथो परियोजनाका रुपमा काठमाडौं उत्तर सामाखुशी, टोखा रोड हुँदै बाइपास, काभे्रस्थली, सपनातिर्थ, ग्रीनल्याण्ड चोकसम्म १० हजार रोपनी क्षेत्रफलमा फैलने छ ।

स्मार्ट सिटी कस्तो हुन्छ ?

स्मार्ट सिटी भनेको आधुनिक सहर हो । आधुनिक सहरमा पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर खेल मैदान, विभिन्न हरियाली पार्क लगायत आधारभूत शहरी पूर्वाधारको विकास गरिएको हुन्छ ।

यसअघि टाउन प्लानिङ भएका ठाउँमा घडेरी प्लानिङ भएको थियो भने अब साच्चि नै टाउन प्लानिङ हुनेछ । अहिलेको सहरमा जताततै फोहोरमैला दखिन्छन् ।

बिजुलीका पोलमा तार अलपत्र छन् भने अब बन्ने सहरमा तारलाई अन्डरग्राउन्ड गरिनेछ भने फोहोरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल, औद्योगिक क्षेत्र हुनेछन् । साथमा पोखरी, ताल–तलैया पनि बन्ने छन् ।

अब बन्ने चार कुनाका यी चार सहरमा यस्ता सुविधाहरु रहनेगरी अवधारणा अघि सारिएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ३१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही