निगमका नौ गन्तव्य, भदौ १२ देखि जापानमा उडान भर्ने | Khabarhub Khabarhub

निगमका नौ गन्तव्य, भदौ १२ देखि जापानमा उडान भर्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो ।

ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले जानकारी दिएको छ । निगमका अध्यक्ष मदन खरेलले आगामी २९ अगष्ट २०१९ अर्थात भदौ १२ गतेदेखि जापानमा नियमित उडानको तयारी गरिएको बताए ।

“भदौ १२ देखि जापानको ओसाका पहिलो ‘सेडुवल फ्लाइट’ गर्दैछौँ, त्यसका लागि सम्पूर्ण तयारी गरिसकेको मिडियामार्फत आम सर्वसाधारणलाई जानकारी गराउन चाहन्छौँ, जापान उडान हुन्छ कि हुँदैन भन्ने विभिन्न आशङ्का र अन्योलबारे स्पष्ट पार्नको लागि कार्यक्रम गरिएको हो”, उनले भने ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट नियमित उडान गर्ने योजना छ । साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गरिनेछ ।

निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।

काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । शुरुका महीनामा केही समस्या भए पनि दशैँ, तिहारदेखि व्यावसायिक सफलता पाउने निगमले प्रक्षेपण गरेको छ ।

जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कम्तीमा पनि वार्षिक ४० हजार पर्यटक भित्र्याउने निगमले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको पनि अध्यक्ष खरेलले बताए ।

नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक उडान भर्न लागेको हो । लामो दूरीका गन्तव्यमा व्यावसायिक उडान गर्ने उद्देश्यसहित निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणमार्फत करीब रु २४ अर्बमा जहाज भित्र्याएको थियो ।

निगमले जापान उडान १२ वर्षपछि पुनः शुरु गर्न लागेको छ । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहालका अनुसार सिघा उडान नभएको र व्यवस्थापकीय समस्याले गर्दा निगमले तत्कालीन ओसाका उडान रोक्नु परेको थियो । त्यसताका बोइङ ७५७ जहाजले उडान गरिएको थियो । ओसाका उडानको १२ वर्षको अवधिमा निगमले दुई लाख ३५ हजार २४२ यात्रु उडाएको थियो । त्यस अवधिमा दुई हजार १२५ टन कार्गो बोकेको थियो ।

तत्कालीन समयमा निगमले ओसाका जापानमा निरन्तर उडान गरेका कारण ‘ननक्यान्सिल फ्लाइट’ अवार्ड पनि हात पारेको थियो । ओसाकामा विगतको राम्रो छवि रहेको र उडानमा सहजता भएकाले पनि व्यावसायिक उपलब्धि हुने निगमको अपेक्षा छ ।

पहिलो उडानमा १०० देखि १५० सिट बुकिङ हुने निगमको अपेक्षा छ । आजसम्म ओसाका उडानका लागि ९० वटा टिकट बुकिङ भएको जनाइएको छ । शुरुका उडानमा सन्तोषजनक रहे पनि पछिल्ला उडानका लागि बजारीकरणलाई तीव्रता बनाइए पनि उत्साहबद्र्धक बुकिङ हुन नसकेको निर्देशक दाहालको भनाइ छ । सेप्टेम्बर महीनाभरि यात्रुको अभाव हुने र त्यसपछिका महिनाका लागि बुकिङ पनि राम्रो आइरहेको उनले उल्लेख गरे ।

जनवरी १ देखि नारित उडान गरिने

निगमका अध्यक्ष खरेलले ओसाकाबाहेक टोकियोको नारिता उडानको प्रक्रिया अघि बढाएको र त्यसमा धेरै प्रगति भएको उल्लेख गर्नुभयो । ओसाकामा उडान चाँडो हुने भएकाले पहिलो गन्तव्य रोजिएको उनको भनाइ छ ।

जापानपछि चीन, साउदी अरब र दक्षिण कोरियामा उडानका लागि पहल भइरहेको निगमले जनाएको छ । ती मुलुकमा आगामी जनवरीदेखि उडान गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

चीनको बेइजिङ, साङ्घाई, बङ्गलादेश, म्यानमार, भियतनाम र श्रीलङ्का उडानका लागि बजार अध्ययन भइरहेको वाणिज्य निर्देशक दाहालले बताए । निगमका उडान सञ्चालन निर्देशक क्याप्टेन दिपुराज ज्वारचनले वाइड बडी जहाज उडानका लागि अहिले १० नेपाली र १५ विदेशी गरी २५ जना विमान चालक (पाइलट) रहेको जानकारी दिए ।

निगमसँग एयरबस ३३० जहाज उडाउन योग्य १२३ ‘क्याबिन क्रु’ सदस्य छन् । ओसाका उडानका लागि ‘जेटएक्स’ कम्पनीसँग इन्धन भर्ने सम्झौता भएको तथा जहाज मर्मतका लागि ‘सिङ्गापुर एसआइए जापान’ तथा ‘ग्राउण्ड ह्याण्डलिङ’ का लागि जापानकै ‘सिकेटिएस’ कम्पनीसँग सम्झौता भएको उडान निर्देशक दिपुराजले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानमा विभिन्न छ देशका आठ गन्तव्यमा उडान भर्दै आइरहेको निगमको ओसाकासँगै नौ गन्तव्य भएका छन् । निगमले अहिले भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ०३ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका