गाउँमा बनेको पुलले दियो रोजगारी « Khabarhub

गाउँमा बनेको पुलले दियो रोजगारी


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेझाड- बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ ।

कालीगण्डकीका विभिन्न घाटमा पक्की पुल धमाधम निर्माण शुरु भएपछि सयौँ युवाले रोजगारीको अवसर पाएका छन् । रोजगारीको समस्याले विदेशमै भौँतारिनुभन्दा घरमै बसेर आफ्नै गाउँठाउँमा काम गर्ने अवसर पाएकामा खुशी छन् रामपुर नगरपालिका–६ तिलकपुरका थर्कबहादुर कुमाल।

कुमाल अहिले पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने गौरीघाटमा निर्माण भइरहेको पक्की पुलमा दुई वर्षदेखि निरन्तर काम गर्दै आएका छन्। ‘घरपायक रोजगारी मिलेको छ, विदेश गएपनि काम गर्ने यस्तै हो, एउटा काम भनेर गयो, अर्कै दुःखको काम पर्छ, यही काम गर्न पाउँदा आनन्द लाग्छ’ कुमालले भने । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत दैनिक ७ सय ज्याला बुझ्छन् । यसैबाट छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन सहज भएको उनी बताउँछन्। मजदुरी गरेर आफ्ना सन्ततीलाई उच्च शिक्षा दिलाउने कुमालको अठोट छ ।

विगत १५ वर्षदेखि रामपुर क्षेत्रमा काम गर्दै आएका रुपन्देहीका मङ्गलप्रसाद चौधरीलाई पनि पुलले रोजगारी दिएको छ । चौधरी पुल निर्माणमा मेसिन, विल्डिङसम्बन्धी काममा निकै सिपालु छन्। उनले साँझ बिहानको खाना खाएर मासिक ३५ हजार रुपैयाँ रकम कमाई गर्छन् । वैदेशिक रोजगारीको कमाई यहीँ बसेर सजिलैसँग गर्दै आएको उनी बताउँछन्। ‘नेपालमै महीनामा ३५ हजार कमाई भएपछि वैदेशिक रोजगारीमै जानु परेन, खाना बासको खर्च तिर्नुपर्दैन, तलब जति सबै घरखर्च, छोराछोरीको पढाइ खर्चमा मात्र नभई केही रकम बचतसमेत गर्न थालेको छु’, खुशी हुँदै उनले भने ।

रोजगारीकै लागि बर्दियाका ४३ वर्षीय प्रभा थारू दुई वर्षदेखि निरन्तर पुल निर्माणकार्यमा संलग्न छन् । थारूले मिस्त्री काम गरेर दैनिक ८ सय रुपैयाँ कमाउँदा राम्ररी पारिवारिक गुजारा चलेको बताउँछन्। उनी १५ वर्षदेखि मुलुकका विभिन्न नदी, खोलामा पुल निर्माणको काम गर्दै आएका छन्।

जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीमार्फत २०७२ फागुन १६ गते शिलान्यास गरिएको गौरीघाटको पुल निर्माणकार्यमा ४० कामदारले निरन्तर रोजगारी पाएका छन् । एक सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको १५ करोड ११ लाख रुपैयाँको लागतमा सम्झौता भई निर्माणकार्य शुरु भएको हो ।

कामदारको कामअनुसार ज्याला उपलब्ध गराउँदै आएको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराईले बताए । यहाँ काम गर्ने कामदारले दैनिक कम्तीमा ७ सय रुपैयाँदेखि १ हजार ५ सयसम्म ज्याला रकम बुझ्ने गरेका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालू आर्थिक वर्षमा छ पक्की पुल निर्माणकार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट, निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हुँदैछन् । जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाउखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणकार्य बढाइएको छ । यहाँ धेरै युवाले रोजगारीको अवसर प्राप्त गरेका छन् । पुल निर्माणकार्यमा पुरुषले मात्र नभई महिलाले पनि रोजगारी पाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : ०८ बजे

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई

मुख्यसचिव कार्कीका २२ बुँदे निर्देशन : कर्मचारीलाई सदाचारी बनाउनेदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म

काठमाडौं- मुख्यसचिव गोविन्द कार्कीले संघीय सरकारका सचिवहरूलाई कर्मचारीको आचरण सुधार,

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम