३ वर्षमा ३४ हजार ४ सय बेपत्ता, अधिकांश महिला र बालबालिका « Khabarhub

३ वर्षमा ३४ हजार ४ सय बेपत्ता, अधिकांश महिला र बालबालिका



काठमाडौं– मोरङकी २१ वर्षीया करुणा कार्की गत असार १४ गतेदेखि बेपत्ता छिन् । उनको खोजीमा परिवार भौतारिएको छ । सबैतिर खोज्दा पनि उनको अत्तोपत्तो लागेको छैन् । छोरीको खोजीका लागि प्रहरीसमक्ष निवेदनसहित सबै आफन्त गुहारे पनि अहिलेसम्म करुणा फेला परेकी छैनन् ।

सुनसरीको इनरुवाका १३ वर्षे मुकेश चौधरी पनि असार ८ गतेदेखि बेपत्ता छन्। प्रहरी प्रशासन र आफ्नो क्षमता अनुसारको परिवारको खोजाईले पनि उनी अहिलेसम्म फेला परेका छैनन् ।

साउन ४ देखि बेपत्ता भएकी बर्दियाकी पार्वती बराललाई परिवारले भेट्टाउन सकेको छैन् । यी तीनै बेपत्ता युवती, किशोर, किशोरीको खोजीमा परिवार तथा प्रहरी, प्रशासन जुटेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन् ।

मोरङकी करुणा, सुनसरीका मुकेश र बर्दियाकी पार्वती प्रतिनिधि पात्र हुन् । ३ वर्षका अवधिमा उनीहरुजस्ता ३४ हजार ४ सय जना बेपत्ता भएका छन् ।

यो सूची फोटोसहित नेपाल प्रहरीको वेभसाईटमा पूर्ण विवरणसहित राखिएको छ । मानिस कहाँ कसरी र किन हराउँछन भन्ने विषय प्रहरीका लागि ठूलो टाउको दुखाईको विषय नै बनेको छ ।

नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल भन्छन्–‘अहिले मानिस हराउने समस्याले विकराल रुप लिएको छ । महिला, बालबालिका तुलनात्मक रुपमा धेरै हराएका छन् । केहि फेला परेपनि धेरै बेपत्ता हुने गरेका छन् । हामी खोजीमा जुटिरहेका छौं ।’

३४ हजार ४ सय बेपत्ता

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ३ बर्ष बर्षमा मात्र ४५ हजार ४ सय २३ जना मानिस हराएका थिए। यो प्रहरी कार्यालयमा दर्ता भएको उजुरीको संख्या हो । दर्ता नभएका घटना अरु पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

हराएका मध्ये ११ हजार २३ जना फेला परेका छन् । प्रहरी र आफन्तको खोजीमा उनीहरु फेला परेपनि अझै ३४ हजार ४ सय बेपत्ता छन् । यो ३ वर्षको मात्र तथ्यांक हो ।

हराउने महिला तथा बालबालिका धेरै

तथ्याङ्क अनुसार, बेपत्ता हुनेमा सबैभन्दा बढी महिला तथा बालबालिका छन् । आर्थिक बर्ष २०७३/७४ मा ७ हजार २ सय ७९ जना बालबालिका हराएका थिए । त्यसमध्ये १ अजार ६ सय १३ जना मात्र फेला परे ।

त्यस्तै आर्थिक बर्ष २०७४/७५ मा यो संख्या झनै बढ्यो । ८ हजार २ सय ७७ हराएका बालबालिका मध्ये १ हजार ८ सय १९ जना मात्र फेला परे । गत आर्थिक बर्ष अर्थात २०७५/७६ मा हराउने बालबालिकाको संख्या ११ हजार १ सय ५३ पुग्यो । त्यसमध्ये ३ हजार ३ सय ७ जना फेला परे ।

हराउनेमा बालबालिका मात्र होइन । महिलाको संख्या पनि उस्तै छ । आर्थिक बर्ष २०७३/७४ मा ३ हजार ३ सय ३२ जना हराएकोमा ७ सय ३९ जना फेला परेका छन् । त्यस्तै २०७४/७५ मा ४ हजार २ सय ६१ जना महिला हराएका थिए । त्यसमध्ये ८ सय ५ जना मात्र फेला परे ।

२०७५/७६मा यो संख्या बढेर हराउने महिला ५ हजार ८ सय ५२ जनाको उजुरी प्रहरी कार्यालयमा दर्ता भयो । जसमध्ये १ हजार ५ सय ५ जना मात्र फेला परे । समग्रमा हेर्दा पछिल्लो ३ बर्षमा मात्र १९ हजार ९ सय ७० जना बालबालिका बेपत्ता छन् । त्यसैगरी ११ हजार १ सय २१ जना महिला बेपत्ता छन् । त्यसैगरी बेपत्ता हुने पुरुषको संख्या ४ हजार ६४ छ ।

कहाँ जान्छन् हराएका मानिस ?
महत्वकांक्षाका कारण परिवारलाई थाहै नदिई घर छाड्नेदेखि आर्थिक प्रलोभनमा परी विभिन्न दलालको फन्दामा पर्नेसम्म छन् ।

बेपत्ता भएकाहरु भने कहाँ जान्छन्, के गर्छन भन्ने अत्तोअपत्तो अहिले सम्म लागेको छैन् ।

यति ठूलो संख्यामा नागरिक बेपत्ता हुँदा सरकारले बेपत्ता नागरिक खोज्ने उचित काम गरेको देखिँदैन भने हराउनुको कारण खोज्न कुनै अध्ययन पनि गरेको पाइँदैन ।

अनुसन्धानमा रहेको प्रहरीले पनि यो निक्कै ठूलो समस्या बन्दै गएको दाबी गर्दै आएको छ । नेपाल प्रहरीको कार्य एंव अपराध अनुसन्धान विभागका प्रमुख एआईजी पुस्कर कार्की भन्छन् ‘हराउने संख्या हेर्दा निकै ठुलो देखिन्छ । तर, हराएका मध्ये सबैको अवस्था अज्ञात नै छ भन्न चाहीं मिल्दैन । कतिपय परिचय लुकाएर बसेका हुन्छन् भने कतिपय रेष्टुरेण्ट, डान्सबार, नाइट क्लव, घरेलु कामदारका रुपमा समेत काम गरिरहेका हुन्छन् । मात्र डाडाबेसका अभावमा भन्न सक्ने अवस्था नआएको हो ।’

अवस्था यो भएपनि ढुक्कले बस्ने वातावरण भने नभएको कार्की बताउँछन् । उनले भने, ‘हराएका मध्ये कतिपय अपराधको शिकार बनेको समेत पाइएको छ । कतिपयलाई मिर्गौला लगायतका मानव अंग तस्करीका लागि प्रयोग गर्ने गरेको पनि पाइएको छ । धेरैलाई जबरजस्ती यौन व्यवसायमा लगाएको अनुसन्धानका क्रममा खुल्दै आएको छ ।’

यता राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले पनि प्रत्येक वर्ष मानिस हराउने क्रम बढेकाले यस विषयमा सबै गम्भीर हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हराउने व्यक्तिहरुको संख्या ठूलो मात्रामा छ । त्यसमध्ये धेरैलाई यौन व्यवसायका लागि बेचबिखन गरिएको पाइन्छ । कतिपयको प्रयोग मानव अंग बिक्री–वितरणको उद्देश्यबाट पनि भएको छ । यसको नियन्त्रणका लागि सबै गम्भीर हुनुपर्छ ।’

पूर्वएआइजी देवेन्द्र सुवेदी पनि मानिस हराउने समस्या निकै चुनौतीपुर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘प्रत्येकबर्ष हराउने संख्या बढ्नु र उनीहरुको अवस्था अज्ञात हुनु गम्भिर कुरा हो । खुला सीमाका कारण हराएका मध्ये कतिपय बेचबिखन र यौन शोषणमा पर्न सक्छन् । त्यसैले यस्तो गम्भिर समस्या हो । नियन्त्रणका लागि सबै सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।’

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ०० बजे

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको

जोडी मिलाउने डेटिङ एप, २६५ जोडीले गरे विवाह

टोकियो– जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा