भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।
भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुर्ख्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन्। उनले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गरेकी छन्। तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने काम निकै झन्झटिलो हुने उनी बताउँछन्।
फूल बिक्रीका लागि केही व्यापारी घरमै लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ। त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बिक्री गर्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उनले बताए।
“लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौँ,” उनले भनिन् “कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा वर्षेनी फूल बेच्न जान्छौँ।”
यस वर्ष अत्यधिक वर्षा भएका कारण फूल उत्पादनमा कमी आएको बनमालाले बताइन्। सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार मखमली फूलका माला उत्पादन हुने गरेकामा यस वर्ष जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उनको भनाइ छ। उत्पादन घटेकै कारण यस वर्ष फूलको मूल्य बढेको उनले बताइन्। बनमालाका अनुसार अहिले मखमली फूलको एउटा मालाको थोक मूल्य रु ४० रहेको छ ।
तालथीकै अर्का फूल किसान शिवकेशरी बनमालाले यस वर्ष तीन रोपनीमा मखमली र सात रोपनी भाडाको जग्गामा सयपत्री फूलखेती गरेका छन्। विगतमा मखमली फूलखेतीबाट अपेक्षित नाफा नभएपछि सयपत्री फूलको बढ्दो मागलाई ध्यानमा राखेर पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेको उनले बताए।
सयपत्री फूल प्रतिकिलो रु पाँच सयमा बिक्री भइरहेको जानकारी दिँदै बनमालाले यस वर्षको खेतीबाट मनग्य आम्दानी भए अर्को वर्ष पनि खेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । मखमली फूल भदौ महिनादेखि टिप्न सुरु गर्ने र त्यही समयदेखि माला उन्ने काम पनि थाल्ने उनले बताए।
फूलखेती गर्न उत्तिकै गाह्रो
फूलखेती गर्ने किसानका लागि बजार व्यवस्थापन मात्रै चुनौती होइन। धानखेतीमा भन्दा पनि बढी स्याहार र मेहनत गर्नुपर्ने किसानहरू बताउँछन्। बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म विभिन्न रोग तथा किराको प्रकोपबाट जोगाउनुपर्ने भएकाले विषादी र अन्य कृषि सामग्रीमा समेत लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ।
फूलको राम्रो रङ र गुणस्तर कायम राख्न पटकपटक औषधि छर्कनुपर्ने तथा फूल टिपिसकेपछि बिरुवामा मल र पोषण थप्नुपर्ने भएकाले पछिल्लो समय फूलखेती झन् कठिन बन्दै गएको किसान शिवलक्ष्मीले बताइन्।उत्पादनका लागि गर्नुपर्ने मेहनत, बढ्दो लागत र बजारमा उचित मूल्य नपाउने समस्याले फूल किसानको दुःख कम नभएको उनीहरूको अनुभव छ ।
फूलका लागि भक्तपुरका ताथली र गुण्डू प्रख्यात छन्। यी दुई वडामा धेरै फूल खेती हुने गर्दछ। ताथली चाँंगुनारायण नगरपालिका–९ मा पर्दछ भने गुण्डू सूर्यविनायक नगरपालिका–७ मा पर्छ । प्रत्येक वर्ष यहाँंका सयौँ किसानले तिहार लक्षित फूल खेती गर्दैआएका छन्।














प्रतिक्रिया