स्वर्गीय राजा वीरेन्द्रको ८७ अर्बको सम्पत्ति | Khabarhub Khabarhub

स्वर्गीय राजा वीरेन्द्रको ८७ अर्बको सम्पत्ति


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ जेठ २०५८ अगाडिसम्म पूर्वराजा ज्ञानेन्द्र शाह व्यापारिक काममा बढी सक्रिय थिए । उनको सिप्रदी, सोल्टीलगायतका कम्पनीमा करोडौं लगानी थियो ।

तर, राजा वीरेन्द्र शाह भने सत्ता सञ्चालनमै बढी केन्द्रित थिए । व्यवसायिक काममा खासै सक्रिय नरहे पनि राजा वीरेन्द्र र उनको परिवारका सदस्यको नाममा भने देशका धेरै ठाउँमा सम्पत्ति थियो ।

गणतन्त्र घोषणापछि राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यका नाममा भएका सम्पत्ति राष्ट्रियकरण गर्न सरकारले नेपाल ट्रष्टको कार्यालय स्थापना गरेको थियो ।

नेपाल ट्रष्ट ऐनअनुसार ६ मंसिर २०६४ बाट कार्य शुरु गरेको नेपाल ट्रष्टको कार्यालयले राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यका नाममा देशका विभिन्न भागमा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा फेला पारेको छ ।

त्यो वाहेक स्वर्गीय राजा वीरेन्द्रको नाममा काठमाडौंको गोकर्णमा ३ हजार ९ सय ७१ रोपनी, कमलादीमा ५ रोपनी, लाजिम्पाटमा ६ रोपनी जग्गा पनि फेला परेको छ । जसमध्ये काठमाडौं उपत्यकामा रहेको ७१ रोपनी १० आना जग्गा सरकारी स्वामित्वमा ल्याउने तयारी भइरहेको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ ।

टेकुको विजनेश पार्क रहेको १९ रोपनी, नारायणहिटी दरबार अगाडिको ३३ आना, सोल्टी आउटर कम्प्लेक्सको ५ रोपनी जग्गा भने ट्रष्टले भाडामा लगाएको छ । सार्वजनिक खरिद कार्यालय र गरीबि निवारण कोष रहेको कित्ता नम्बर ६५ को जग्गा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको २ रोपनी जग्गा पनि राजा वीरेन्द्रको परिवारको नामको जग्गा हो ।

त्यस्तै, राजा वीरेन्द्रको परिवारको नाममा रहेको धनकुटाको चुलीवनस्थित १ सय ९४ रोपनी जग्गा पनि ट्रष्टको कार्यालयले भाडामा लगाएको छ ।

८७ अर्बको चलअचल सम्पत्ति

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । सो सम्पत्तिलाई ट्रष्टले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गर्ने लक्ष्य लिइएको छ । जसबाट आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने तयारी भइरहेको ट्रस्टको कार्यालयले जनाएको छ ।

राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको छ । चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैयाँ नगद प्राप्त भएको भएको थियो । चल सम्पत्तिअन्तर्गत नै विभिन्न परिमाणमा विदेशी मुद्रा पनि स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारका सदस्याका नाममा पाइएको थियो । जसअन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार अमेरिकी डलर प्राप्त भएको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । स्वर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यको नाममा नविल बैंकमा ४ लाख ३५ हजार कित्ता, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० कित्ता, नेपाल पब्लिक निगममा ३ हजार ७ सय ५० कित्ता शेयर लगानी देखिएको छ ।

नेपाल ट्रस्टको कार्यालयका तत्कालीन सचिव डा. रमेश प्रसाद सिंहका अनुसार पोखरास्थित रत्न मन्दिर, चिवनस्थित दियालो बंगला र मकवानपुरको बंगलामा पनि अचल सम्पत्ति छ ।

वीरेन्द्रको परिवारका नाममा पोखराको फेवाताल छेउमा मात्रै करिब २ सय रोपनी जग्गा फेला परेको छ । नेपाल ट्रष्टको कार्यालयले फेवाताल आसपासमा हालै मात्र थप २ ठाउँमा पनि जग्गा फेला पारेको थियो ।

१९ जेठ २०५८ मा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनका परिवारका सबै सदस्य मारिएका थिए । वीरेन्द्रको वंशनाश पछि राजगद्दी सम्हालेका ज्ञानेन्द्र शाहले आफ्ना दाई (राजा वीरेन्द्र) र उनको परिवारका सदस्यका नाममा रहेको केही जग्गा प्रयोगमा ल्याएको चर्चा पनि चल्ने गरेको थियो । तर, नेपाल ट्रष्टको कार्यालयले भने हालसम्म फेला पारेका रेकर्डमा राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति पूर्वराजा ज्ञानेन्द्रको नाममा नामसारी भएको नदेखिएको जनाएको छ ।

यद्यपि, स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति पूर्व राजा ज्ञानेन्द्रको परिवारले प्रयोगमा ल्याएको भने देखिएको नेपाल ट्रष्टको कार्यालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनका छोरा दीपेन्द्र, निराजन र छोरी श्रुतीका नाममा रहेको सम्पत्तिको खोजी अहिले पनि देश भित्र र देश बाहिर पनि भइरहेको छ ।

नेपाल ट्रष्टको कार्यालयले स्वीर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यका नाममा रहेको सम्पत्ति खोजी गर्न ७ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिले वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्तिबारे सूचना दिने व्यक्तिलाई पुरुस्कारको समेत व्यवस्था गरेको छ ।

समितिले कुनै ठाउँमा स्वर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यको नाममा सम्पत्ति रहेको भन्ने सूचना पाएलगत्तै अनुसन्धान शुरु गर्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : २८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म