कलबाइपास धन्दाको नालिबेली : ६ वर्षमा १२ अर्बको घोटला | Khabarhub Khabarhub

कलबाइपास धन्दाको नालिबेली : ६ वर्षमा १२ अर्बको घोटला



काठमाडौं–प्रविधिको विकास र विस्तारसँगै प्रविधिजन्य आपराधिक गतिविधिले विश्वलाई पिरोलेको छ । यो पीडा नेपालजस्ता कम विकसित राष्ट्रका लागि अझै विकराल समस्याका रुपमा विकास हुँदै गएको छ ।

आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले चलाउने प्रविधिभन्दा ‘एडभान्स’ प्रविधि अपराधमा संलग्नहरुले भित्र्याउने गरेका छन् । यस्तै धन्दा कलबाइपासको हो । जसले ६ वर्षमा १२ अर्बको घोटला भयो । २४ हजार सीमकार्डबाट नेपाल लुट्ने प्रयास भयो । जसमा विदेशी सहभागिता धेरै देखियो । ३६ विदेशीसहित ६६ जनालाई प्रहरीले नियन्त्रणमा पनि लियो ।

गत माघ १० गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले काठमाडौंको सामाखुसीस्थित सरकारी धारा चोकमा छापा मारेर भिओआइपी सञ्चालन गरेको आरोपमा २ जना पक्राउ परे । पक्राउ परेकाको साथबाट ठुलो परिमाणमा भिओआइपी सञ्चालनमा आवश्यक उपकरण पनि बरामद् भयो । यो सार्वजनिक भएको पछिल्लो एक प्रतिनिधि उदाहरण हो । सिआइवीका प्रवक्ता एसपी सुदीप गिरीका अनुसार, प्रहरीले चालु आर्थिक बर्षमा चारस्थानमा छापा मारी ७ जनलाई पक्राउ गर्यो‍ भने २२ करोड भन्दा बढी मागदाबी गरेको छ ।

सिआइवी स्थापना भएयता करिब ९ बर्षको अवधिमा प्रहरीले देशभर १ सय ७ स्थानमा छापा मारेको छ । छापा मार्ने क्रममा १३० जना नेपाली र ३६ जना विदेशी गरी १ सय ६६ जनालाई नियन्त्रणमा लिएर कारबाही गर्‍यो । झण्डै २४ हजार सिमकार्ड बरामद् गरेको छ । प्रहरीका अनुसार, यी घटनाबाट मात्रै १२ अर्ब १२ करोडभन्दा बढी रुपैयाँ माग दाबी गरिएको छ । अपरेसन भोइस फक्स नाम दिएर सीआईवीले २०६७ साल भदौ १५ गतेबाट कलबाइपास गर्नेविरुद्ध अप्रेसन शुरु गरेको थियो ।

पछिल्लो ८ बर्षमा कहिले कति विगो मागदाबी भयो

आर्थिक वर्ष /विगो मागदाबी
२०६७/६८ ५ अर्व ४ करोड ३ लाख ७७ हजार ९ सय ५५
२०६८/६९ २ अर्व ७९ करोड ३४ लाख ६९ हजार २ सय ७६
२०६९/७० २९ करोड ५९ लाख १७ हजार ४ सय ३५
२०७०/७१ २ अर्व १३ करोड ६३ लाख ४८ हजार ७ सय ७१
२०७१/७२ ७१ करोड ५६ लाख ३८ हजार ४ सय ३२
२०७२/७३ ५० करोड २५ लाख २५ हजार
२०७३/७४ २३ करोड ४२ लाख ३१ हजार ४ सय ८०
२०७४/७५ १८ करोड ५३ लाख ६१ हजार ८ सय १०
चालु आर्थिक वर्ष २२ करोड ११ लाख ४९ हजार २ सय १९
जम्मा – १२ अर्व १२ करोड ५० लाख ९ हजार ३ सय ८३

स्रोतः सिआइवी, नेपाल प्रहरी

के हो भिओआइपी ? 

भिओआइपीको पूरा रुप भ्वाइस ओभर इन्टरनेट प्रोटोकल हो। पूर्व डिआइजी हेमन्त मल्लका अनुसार यस्तो कार्य अनुमति प्राप्त दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले मात्र राजस्व तिरेर सञ्चालन गर्न पाउँछन् । मल्ल भन्छन्–‘अबैध रुपमा सञ्चालन गरेको गेट वे मा इन्टरनेट मार्फत प्राप्त भएको अन्तराष्ट्रिय आगमन कललाई सेवा प्रदायकहरुले विभिन्न सिमकार्डहरु प्रयोग गरी आन्तरिक कल मार्फत गन्तव्य सम्म पुर्‍याउने कार्य नै अबैध भिओआइपी हो ।’ यस्तो कार्यले अन्तर्राष्ट्रिय आगमन कलबाट प्राप्त हुने रकम सेवा प्रदायक कम्पनीहरुले प्राप्त गर्दैनन् । मात्र आन्तरिक कलको मात्र रकम प्राप्त गर्छन् । यसबाट सेवा प्रदायक कम्पनीहरुको र राज्यको राजस्व आम्दानीमा असर पर्छ । सिआइवीका प्रवक्ता गिरीका अनुसार, नेपालमा यस्तो कार्य केही कम भएपनि रोकिएको भने छैन ।

कसले कसरी गर्छ अवैध भिओआइपी

सिआइवी प्रवक्ता एसपी गिरी भन्छन्–‘अबैध भिओआइपी सञ्चालन गर्नका लागि भिओआइपी गेट वे (सिम बक्स), इन्टरनेट, सिमकार्ड, रिचार्जकार्ड, पावर ब्याकअप र इन्टरनेशनल कल क्यारियरहरुको आवश्यकता पर्दछ । जब विदेशबाट प्राप्त हुने आगमन कलहरुलाई इन्टरनेशनल क्यारियर मार्फत अबैध रुपमा संचालन गरेको भिओआइपी गेट वे (सिमबक्स)को आइपी एड्रेस मा इन्टरनेटको माध्यमद्वारा कल आउने गर्दछ । उक्त कल सिम बक्स भित्र भएका कलहरु मार्फत सेवा प्रदायक कम्पनीहरुको नेटवर्कमा मिलाएर उक्त सिमकार्डहरुले लोकल कल गर्ने गर्दछ । जसबाट विदेशमा आएका कलहरुको विदेशी नम्बर डिस्प्ले हुनुपर्नेमा कल बाइपास मार्फत आएका कलहरुको लोकल नम्बर डिस्प्ले हुन्छ र कलको गुणस्तर पनि कमजोर हुन्छ । एसपी गिरीका अनुसार, धन्दावालाहरुले विभिन्न स्थानमा बसेर अबैध रुपमा यो काम गरिरहेका हुन्छन् ।

भिओआइपी धन्दामा अन्तर्राष्ट्रिय कनेक्सन

नेपाली युवालाई कामदार बनाई अन्तर्राष्ट्रिय संगठित गिरोह नै कल बाइपासमा सक्रिय रहेको प्रहरीको भनाइ छ । त्यस्ता अन्तर्राष्ट्रिय गिरोहले नेपाली युवालाई कल बाइपास गर्ने उपकरण हेरचाह र सिम रिचार्जकर्ताको काम लगाउने गरेको पाइएको छ । पूर्वडिआइजी मल्ल भन्छन् – ‘यसका मुख्य धन्दावालाचाहीं विदेशमा बस्छन् । अनि, उनीहरुकै इसारामा कामदारहरुले काम गर्ने गरेका छन्।’ प्रहरीका अनुसार, यसमा मुख्यतया भारतीय र बंगलादेशी नागरिकहरुको संलग्नता देखिन्छ । यो कार्य सञ्चालन गर्ननका लागि इन्टरनेशनल कल क्यारियरहरुसँग यी व्यक्तिहरुको पहुँच हुनाले उनीहरु विदेशमै बसेर नेपालमा अबैध भिओआइपी सञ्चालन गर्ननका लागि तल्लो तहका नेपालीहरुलाई पैसाको प्रलोभन देखाई सञ्चलान गर्न लगाउने गर्छन् । अबैध भिओआइपीमा आवश्यक उपकरणहरु समेन कुरियरमार्फत पठाइ ह्वाट्एप र भाइबरबाट सेटिङ गर्ने तरिका सिकाउने गरेको देखिन्छ । अनलाइन सेटिङ गरेपछि टिम भिवरद्वारा विदेशमा बसेर सिस्टम अपरेटिङ गर्ने गर्छन् ।

कहाँ–कहाँ चल्छ धन्दा ?

प्रहरीका अनुसार पछिल्लो समय काठमाडौंसँगै पोखरा, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, नेपालगञ्ज र झापालगायतका शहर र ठूला अपार्टमेन्टका कोठाबाट कल बाइपासको अवैध धन्दा चल्ने गरेको छ । एसपी गिरीका अनुसार यस्ता धन्दावालाहरुले गोप्य अनि सुरक्षित कोठा भित्र बसेर आफ्नो धन्दा चलाईरहेका छन् । अनुसन्धान अधिकारीहरुका अनुसार, अहिले मुलुकका मुख्य मुख्य शहरमा यस्तो अवैध धन्दा सञ्चालन भएको पाईन्छ । नेपाली मोबाइलको नेटवर्क टिप्ने सीमावर्ती भारतीय भू–भागबाट समेत यस्तो धन्दा सञ्चालन गरिएको स्रोतको दाबी छ ।

बिगो बराबरको जरिवाना, ५ वर्ष जेल

यो दुरसञ्चार हानि नोक्सानी मुद्दा भएकाले नेपाल दुरसंचार ऐन, २०५३ अन्तर्गत मुद्दा दायर गर्ने गरिन्छ । दुरसंचार ऐन २०५३ को दफा ४७ को उपदफा ५ बमोजिम हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था उल्लेख छ । कुनै व्यक्तिले बदनियतसाथ दुरसञ्चार लाईन दुरसञ्चार प्रणाली वा सोसँग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकुल असर पर्ने गरी कुनै काम गरेमा वा बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्या‍एमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्ने उद्योग गरेमा अपराध ठहर्ने गर्दछ ।

नियन्त्रण कसरी

प्रहरीले निरन्तर रुपमा छापा मारेर अवैध भिओआईपी उपकरणसहित मानिसहरु पक्राउ गरेपनि यसको धन्दा रोकिएको छैन । प्रहरीको सक्रियतासँगै कलवाईपास धन्दा कम भएपनि निर्मुल हुन भने सकेको छैन । अबैध भिओआइपी नियन्त्रणका लागि सेवा प्रदायक कम्पनीहरुले सिमकार्डहरु वितरण गर्दा विशेष ध्यान दिनुपर्ने पूर्वडिआइजी मल्ल बताउँछन् । त्यस्तै रेकर्ड सिस्टमहरुलाई अपडेट गरी एक व्यक्तिको नाममा कतिवटा सिमकार्ड लिन पाउने ? सिमकार्ड लिंदा स्वयम व्यक्ति उपस्थित हुनुपर्ने, डिजिटल अनलाइन फिङ्गर प्रिन्ट सिस्टमको व्यवस्था गर्नुपर्ने । समय समयमा सेवा प्रदायक कम्पनिहरुले सिमकार्ड युजरहरुको भेरिफिकेशन तथा इन्टरनेसनल इन्कमिङ कलको रेट घटाउन सके कल बाइपास नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ९ : २९ बजे

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा