नेकपाको साङ्गठनिक संरचना– एकीकरणको सट्टा भागबण्डा ! | Khabarhub Khabarhub

नेकपाको साङ्गठनिक संरचना– एकीकरणको सट्टा भागबण्डा !


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि भएको निर्वाचनद्वारा तत्कालिन एमाले र माओवादीको गठबन्धनले पूर्ण बहुमतको जनादेश प्राप्त गरे भने नेपाली कांग्रेस विपक्षमा पुग्यो । यसका साथै मधेस केन्द्रित दलहरु संसदमा तेश्रो र चौथो स्थानमा पुगेका छन् ।

दोश्रो संविधान सभामा बनेको कांग्रेस नेतृत्वको सरकारले दलहरुलाई अधिक जिम्मेवार बनाउन निर्वाचनमा ३% थ्रेसहोल्ड लागू गरिएको बताउँदै अब उप्रान्त हुने निर्वाचनमा संघीय संसदमा दलको औपचारिक सदस्यकोरुपमा मान्यता प्राप्त गर्नकालागि कुनैपनि दलले संघीय संसदमा प्रत्यक्ष एवं समानुपातिक मतदानमा ३% मत र कम्तिमा संसदको एक सीटमा विजयी भएको हुनुपर्ने व्यवस्था गरिएको दावी गरे ।

यो व्यवस्था लागू भएका कारण अहिलेको संसदमा तुलनात्मकरुपमा निकै कम दलहरुको उपस्थिति छ । भविष्यमा थ्रेसहाल्ड थपिने सम्भावनालाई इन्कार गर्न नसकिने भएकोले देश क्रमिकरुपमा दुई दलीय व्यवस्थामा जान सक्ने देखिन्छ ।

त्यस अवस्थाको पूर्णलाभ नेकपा र कांग्रेसलाई मात्र हुने भएकोले यस विषयमा यी दुई दलबीच सहकार्य भएको निश्चित छ र आगामी दिनमा पनि हुने सम्भावना छ ।

पछिल्लो निर्वाचनकालागि तत्कालिन एमाले र माओवादीले गरेको गठबन्धन औपचारिक एकिकरण गरेर एउटै पार्टीको रुपमा आएको छ । विवाद, संवाद, मनोमालिन्य, सहमति र भागबण्डा गर्दै आएका यी दुई दलका नेताहरुले अब पार्टीमा पूर्णरुपेण एकता कायम भएको दावी गरेका छन् ।

शाब्दिकरुपमा कटु देखिएपनि नेकपाको एकीकरणलाई भागबण्डा नै भन्नु उपयुक्त हुनेछ । पूर्व एमाले र पूर्वमाओवादीबीच भएको भागबण्डा अनुसार सचिवालयमा एमाले जिल्ला कमिटीमा तत्कालिन एमाले बाट ४४ र माओवादी बाट ३३ जना जिल्ला अध्यक्ष भएका छन् ।

सहमति अनुसार एमाले ले पाएको जिल्ला अध्यक्ष भएका ठाँउहरुमा सचिवको जिम्मेवारी माओवादीलाई दिइनेछ , त्यस्तै माओवादी अध्यक्ष भएका ठाँउहरुमा एमालेलाई सचिवको पद प्राप्तहुने छ ।

यही समीकरण अनुसार जिल्ला इन्चार्ज र सह–इन्चार्जको पनि व्यवस्थापन गरिएको छ । जस अनुसार ७७ जिल्ला मध्ये पूर्व एमालेलाई ६० र माओवादीलाई ४० जिल्लामा इन्चार्ज प्राप्त भएको छ ।

एमालेको इन्चार्ज संग माओवादीको सह–इन्चार्ज र माअ‍ेवादीको इन्चार्ज संग एमालेको सह–इन्चार्जलाई कार्यभार दिइने निर्णय सचिवालय बैठकले गरेको छ ।

यसै गरि पछिल्लो छलफल अनुसार नेकपामा रहेको कुल ३२ विभाग मध्ये पूर्वएमाले समूहले १८ र पूर्वमाओवादी समूहले १४ विभाग पाउने समझदारी भएको छ । दुवै दलकाबीच साङ्गठनिक संरचनाको समायोजनका नाममा गरिएको भागबण्डा यस बमोजिम हुनेछ ।

साङ्गठनिक संरचना एमालेको सीट माओवादीको सीट


तत्कालिन नेकपा (माओवादी)ले पहिलो संविधान सभामा ३१,४५,५१९ (३०.५२%) मत पाएको थियो र एमाले २२,२९,०६४ (२१.६३%) । यसैगरि दोश्रो संविधान सभामा माओवादीको मत घटेर १६,०९,१४५ (१७.७९%) मा झरेको थियो भने एमालेको मत बढेर २४,९२,०९० (२७.५५%) पुगेको थियो ।

संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचनमा एमाले/माओवादी गठबन्धन भएपनि माओवादीलाई १३,०३,७२१ (१३.६६%) मत प्राप्त भएको थियो जुन माओवादीले पछिल्लो चुनावमा पाएको भन्दा ४.१३% कम थियो जबकि पूर्वएमाले ३१,७३,४९४ (३३.२५%) मत पाउन सफल भयो । यसरि पूर्वएमालेलाई पूर्वमाओवादी भन्दा लगभग अढाई गुणा बढी मत प्राप्त भएको थियो ।

प्रत्यक्षतः पूर्वमाओवादीहरु नै राजनीतिकरुपमा बढी लाभान्वित भएका छन् । एमालेका स्व. नेता मदन भण्डारीले प्रतिपादित गरेको ‘जनताको बहुदलीय जनवाद’ विसर्जित भएको छ । पूर्वमाओवादीले पनि आफ्नो पार्टीको ‘एक्काइसौं शताब्दीको जनवाद’ लाई त्यागेको छ ।

यी दुवै सिद्घान्तको व्याख्यागर्दा ‘जबज’ लाई ‘एक्काइसौं शताब्दीको जनवाद’ भन्दा बढी लोकतान्त्रिक थियो भन्नु उपयुक्त देखिन्छ । ‘जबज’ ले जनवादलाई अन्तिम लक्ष्य स्वीकारेपनि बहुदलीयता, शक्ति पृथक्किकरणको सिद्घान्त र विपक्षको अस्तित्वलाई प्रत्याभूत गरेको थियो भने ‘एक्काइसौं शताब्दीको जनवाद’ ले पूर्णजनवादी शासन प्रणाली स्थापनार्थ यी सबै लोकतान्त्रिक सिद्घान्तलाई उपयोगगर्ने बाटो अंगालेको थियो ।

एमाले/माओवादी एकिकरणपछि बनेको नेकपा ले स्वीकारेको ‘समाजवाद उन्मुख जनताको जनवाद’ मा संविधानलाई गतिशील दस्तावेज भएको बताउँदै राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र नेपाली जनतामा निहित सार्वभौमसत्ता बाहेक सबै विषय परिवर्तनशील र संशोधनहुनसक्ने भनेका छन । संसदिय लोकतन्त्र, बहुदलियता र संघीयता जस्ता समावेशी शासन प्रणालीलाई आवश्यकतानुसार हटाउन सकिने भन्दै घुमाउरो पाराले ‘एक्काइसौं शताब्दीको जनवाद’ लाई नेकपाले स्वीकारेको छ ।

नेकपा भित्रको आन्तरिक व्यवस्थापनमा अध्यक्ष प्रचण्ड आफ्ना समकक्षी अध्यक्ष के.पी.ओली भन्दा बढी चतुराईपूर्वक भूमिका खेल्न सफल भएको देखिन्छ ।

प्रम ओली भारतमा भएको बखत विवादित बयानबाजी गरेर होस अथवा आफ्ना नेताहरुलाई संगठित राख्दै पूर्वएमाले भित्रका नेताहरुको स्वार्थलाई प्रयोगगर्ने अवसर होस, हरेक अवस्थामा प्रचण्डको खेल तुलनात्मकरुपमा बढ़ी रोचक रँहदै आएको छ ।

पूर्वमाओवादी समूहबाट बनेका मन्त्रीहरुको विवादित क्रियाकलापको दोषपनि प्रम ओलीलाई नै बोकाइएको छ । राजनीतिमा बहुधा कट्टरपन्थी विचारधाराले नरमपन्थलाई निल्ने गरेको दृष्टान्तहरु प्रशस्त पाइन्छ ।

त्यसैले समग्र विश्लेषण गर्दा एमाले र माओवादी बीचको एकीकरण बाट बनेको नेकपालाई वास्तवमा वैचारिक, सैद्घान्तिक र सांगठनिक रुपमा एकिकरण भन्दापनि माओवादीकरण भएको भन्नु अतियुक्ति नहोला ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : १८ बजे

साताका आर्थिक खबर : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं– यो सातामा नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग,

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज

मनमोहन सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको