साउने सोमबारको व्रत, धार्मिक चेतना कि आडम्बर ? | Khabarhub Khabarhub

साउने सोमबारको व्रत, धार्मिक चेतना कि आडम्बर ?



सनातनी हिन्दू महिलाहरू आज साउने सोमबारको व्रत सुरु गर्दैछन् । यो वर्ष सौर र चान्द्र दुवै मानअनुसार साउन(श्रावण) एकैपटक सुरु भएर एकैपटक अन्त्य हुँदैछ । यो महिना ६, १३, २० र २७ गते सोमबार परेको छ ।

सामान्यतया व्रत गर्दा सौरमानसापेक्ष चान्द्र महिना तिथिमा गर्नु भन्ने सनातन शास्त्रको मान्यता छ । यो वर्ष श्रावण कृष्ण पक्षको प्रतिपदा साउन १ गते नै परेकाले दुवै सँगसँगै देखिएका हुन् ।

व्यापक बन्दै सोमबारे व्रत

नेपालमा साउने सोमबारले व्यापकता पाउन थालेको एक/डेढ दशक मात्र भयो । त्यसअघि यो दिनलाई त्यति महत्त्व दिइँदैनथ्यो । सनातन धर्मावलम्बीहरूको चाडपर्वको उल्लेख पाइने भविष्योत्तर पुराणमा साउने सोमबारको व्रतको विशेष विधान नभएको इतिहास–पुराणविद् प्रियंवदा काफ्ले बताउँछिन् ।

सनातन चाडपर्वहरू तिथिमा आधारित हुन्छन् । माघ शुक्ल पञ्चमीमा सरस्वतीको उपासना गर्ने, फाल्गुण कृष्ण चतुर्दशीमा शिवको पूजा गर्ने, चैत्र शुक्ल नवमीमा रामको आराधना गर्ने र कार्तिक कृष्ण औँसीमा लक्ष्मीको पूजा गर्नेलगायत पर्व तिथिकै आधारमा चलेका छन् ।

‘सामान्यतया चाडपर्वहरू तिथिमा आधारित हुन्छन् । तर यो व्रत कसरी बारसँग सम्बन्धित हुनपुग्यो, विचारणीय छ’, उनी भन्छिन् । अधिकांश चाडपर्वको उल्लेख पाइने भविष्योत्तर पुराणमा साउने सोमबारको व्रतको उल्लेख नभएको वाल्मीकि विद्यापीठमा सहप्राध्यापक रहेकी पुराणविद् काफ्ले बताउँछिन् ।

साउन, सोमबार र शिव

चन्द्रमा नौ ग्रहमध्येको एक । चन्द्रमा अर्थात् सोम । सोमबार चन्द्रमाको बार । चन्द्रमा शिवजीको शिरमा बसेका । त्यसैले सोमबार शिव बार । कर्कट राशिका स्वामी पनि चन्द्रमा । सौरमानअनुसार साउन कर्कट राशिको महिना ।

यसैले साउनको सोमबार शिवको पूजा गरिएको तर्क गर्छन्, ज्योतिषी तथा पण्डितहरू । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भन्छन्, ‘साउनको मात्र होइन हरेक सोमबार शिवजीको पूजा महत्त्वपूर्ण हुन्छ ।’ उनका अनुसार पुराणमा साउने सोमबारमा गरिने शिवपूजाको थुप्रै सन्दर्भ पाइन्छन् ।

साउनमा मात्र नभई वैशाख, कात्तिक, मंसिर र चैतका सोमबारमा शिवको पूजा गर्ने विधान धर्मशास्त्रमा उल्लेख भएको धर्मशास्त्री डा. देवमणि भट्टराई बताउँछन् । १४ वर्षसम्म साउने सोमबारको व्रत लिने विधान छ ।’ उनका अनुसार व्रतराज (पुराणहरूको संग्रह) मा सोमबार गरिने विभिन्न प्रहरको पूजाविधि बताइएको छ । तर साउनको सोमबारलाई धर्मशास्त्र भन्दा पनि लौकिक मान्यताका आधारमा चलेको व्रत मान्छिन्, पुराणविद् काफ्ले ।

उनका अनुसार ‘मिडिया’ र ‘टेलिभिजन सिरियल’को प्रभावमा नेपाल आइपुगेको हो । पहिले पहिले भारतको सीमानजिक रहेका तराईमा मात्र साउने सोमबारको व्रत बस्थे । पछि तराईका मानिस काठमाडौं आएसँगै संस्कृति सर्यो । काठमाडौंमा हरेक ठाउँका मानिस बस्ने भएकाले पहाडी भागमा पनि फैलियो । पहाडी समाजमा चाहिँ साउन महिनामा रुद्री लगाउने चलन थियो । अचेल साउनका हरेक सोमबार प्रत्येक शिवमन्दिरमा घुइँचो हुन्छ ।

अहिले मानिसमा धार्मिक चेतना वृद्धि भएकाले व्रत बस्नेको संख्या बढेको बताउँछन्, धर्मशास्त्री डा.भट्टराई । ‘सञ्चारमाध्यमका कारण पनि मानिसमा पहिलेभन्दा धार्मिक चेतना बढेको छ’, उनी तर्क गर्छन्, ‘त्यसैले साउने सोमबारको महत्त्व बढेको हो ।’

हरियो/पहेँलो रंगको सन्दर्भ

केही वर्षयता साउनभर अथवा सोमबार मात्र भए पनि महिलाहरूले हरिया र पहेँला पहिरन लगाउने चलन बढेको छ। यसैगरी चुरापोते जस्ता सौभाग्य सामग्री पनि हरिया पहेँला हुने गरेका छन् ।

सुरुसुरुमा राता लुगा लगाएर तीजमा जस्तै व्रत बस्ने चलन थियो । केही वर्षमा चुरा र पोतेका रंगहरू फेरिए रातासँगै पहेँला र हरिया पनि मिसिन थाले । हिजोआज त हातमा मेहन्दी नहुँदा साउन नै फिका हुनेजस्तो भएको छ ।

‘मानिसको शरीर पञ्चमहाभूतबाट बनेको छ । त्यसमा पनि पृथ्वी तत्त्व बढी छ’, गौतम भन्छन्’, वर्षाका कारण साउनमा पृथ्वी नै हरियाली हुने भएकाले मानिसले त्यसलाई ग्रहण गरेको अर्थमा पनि बुझ्नुपर्छ ।’

शिवजीलाई बेलपत्र चढाउने विधान पुराणमा भएअनुरूप मानिसले त्यसको रंगलाई आत्मसात गरेको बुझाइ छ, भट्टराईको । हरियो मात्र होइन, बोलबमको प्रभावमा केही वर्षयता पहँेलोको प्रयोग पनि बढेको छ । पहेँलो रंगचाहिँ वैराग्यको प्रतीक मानिन्छ ।

आडम्बरका कुरा

सनातन धर्ममा सामान्यतया राता कपडा र श्रृंगार सामग्रीलाई सौभाग्यसूचक मानिन्छ । तर अचेल साउनमा रातोभन्दा बढी पहेँला र हरिया लुगा, श्रृंगारका सामग्री लगाउने चलन चलेको छ । पहिरन र गहनागुरियामा विविधता आउनुमा व्यापारिक पक्ष प्रबल रहेकोे काफ्को बुझाइ छ ।

यसलाई धर्मभन्दा पनि समृद्धिको सूचक मान्छिन् उनी । ‘पहिलेको तुलनामा धेरै मानिसको आर्थिक स्थिति सुदृढ भएको छ । कमाएको पैसा लुगा, गहनामा खर्च गर्ने र अरुलाई देखाउने चलन बढ्दो छ’, उनी भन्छिन्, ‘देखाउन नि बहाना चाहियो । साउने सोमबार र तीजजस्ता पर्व पारेर अनेक कथा गाँसेर प्रदर्शन गर्ने चलन बढेको छ ।’

‘देखासिखी गर्नैर्पयो । सोमबारजस्ता पर्वले आर्थिक भार बढायो’, भन्ने गुनासा पनि सुनिन्छन् अचेल । सोमबारको व्रत बस्ने नाममा हरिया पहेँला लुगा आभूषण नलगाउँदैमा संस्कृति नमानेको भन्ने नठहरिने काफ्ले बताउँछिन् । ‘ऐच्छिक हो । गरे पनि भयो नगरे पनि’ उनी भन्छिन्, ‘देखासिखी गर्न नसक्दैमा धर्म नमानेको भन्ने ठहरिँदैन । मान्छेमा धार्मिक आध्यात्मिक भावना कति छ भन्ने कुरा महत्त्वपूर्ण हो ।’

[email protected]

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ०४ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत