नेपालको शान्ति प्रक्रिया र राजनीतिक संक्रमणबाट विश्वले पाठ सिक्नुपर्छ– फ्रान्सेली राजदूत लेजे | Khabarhub Khabarhub

नेपालको शान्ति प्रक्रिया र राजनीतिक संक्रमणबाट विश्वले पाठ सिक्नुपर्छ– फ्रान्सेली राजदूत लेजे



नेपाल र फ्रान्स भौगोलिक रुपमा धेरै टाढा भएपनि शान्ति स्थापनाको अभियान, जनस्तरमा सम्बन्धलगायतका विभिन्न क्षेत्रमा काँधमा काँध मिलाएर अघि बढिरहेका छन् । फ्रान्स नेपालसँग द्विपक्षीय सम्बन्ध स्थापना गर्ने चौथो मुलुक हो । गत अप्रिल २० मा दुई मुलुकले द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाएका छन् । यसै सेरोफेरोमा नेपाल फ्रान्स सम्बन्धबारे खबरहबका ईश्वरदेव खनालले नेपालका लागि फ्रेन्च राजदूत फ्रंस्वा जाविये लेजेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ सम्पादित अंश–

तपाईं नेपाल आउनुभएको करिब १ वर्ष भइसकेको छ । नेपालको बसाइ कस्तो पाउनु भएको छ ?

नेपालको बसाइ सुखद् नै छ । अघिल्लो वर्षको सेप्टेम्बर महिनाबाट मेरो कार्यकाल शुरु भएको हो । यहाँ रहँदा मैले धेरै क्षेत्रका मानिसहरुलाई भेट्ने मौका पाएको छु । न्यानो माया पाइरहेको छु । फ्रान्समा यहाँका मानिसहरुको छवि पनि राम्रो छ । यहाँ रहनु मेरा लागि खुशीको कुरा हो ।

नेपाल र फ्रान्सले द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ मनाइरहेका छन् । यो एक किसिमको ‘कोसेढुङ्गा’ नै हो । तपाईंलाई कस्तो अनुभव भइरहेको छ र यो कोसेढुङ्गालाई निरन्तरता दिने कस्ता योजना छन् ?

७० औं वर्षगाँठले हामीलाई विभिन्न क्षेत्रमा सम्भावनालाई मूर्त रुप दिने अवसर प्रदान गरेको छ । गत जुन महिनामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको भ्रमण गर्नु भएको थियो । भ्रमणका क्रममा दुई पक्षबीच अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्वको शान्तिपूर्ण समाधान, मानवअधिकार, बाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका विषयमा छलफल भएको थियो । हामीबीच रहेका धेरै समानताहरुले विभिन्न क्षेत्रमा हाम्रो संयुक्त पहललाई अझ मजबुत बनाइरहेको छ ।

तैपनि दुई मुलुकबीच धेरै राजनीतिक वार्ता नभएको पनि मलाई याद छ । दुई मुलुकबीच कुनै द्वन्द्व वा शत्रुताबाट यस्तो अवस्था आएको भने होइन । बरु सम्बन्धमा कुनै महत्वपूर्ण विकास नभएका कारण राजनीतिक वार्ता हुन नसकेको हो । नेपाल र फ्रान्सबीचको सम्बन्ध शान्त र स्थीर रहेकाले हामीबीच वार्ता हुनुपर्ने आवश्यकता नै देखिएन । कूटनीतिज्ञका रुपमा मेरो प्रमुख प्राथमिकता भनेको चाहीँ द्विपक्षीय भ्रमणलाई अझ सघन बनाउने हो । दुई मुलुकका वरिष्ठ अधिकारी र सामान्य जनस्तरमा नियमित भ्रमण हुने हो भने यसले सम्बन्धलाई अझ मजबुत बनाउने मेरो विश्वास छ ।

नेपाल–फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध ७० औं वर्षमा प्रवेश गरेको अवस्थामा दुई मुलुकबीचको सम्बन्ध कति मजबुत वा कमजोर छ ? नेपालमा फ्रान्सको प्राथमिकताहरु के हुन् ?

मेरो पहिलो प्राथमिकता नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धबारे अध्ययन गर्ने हो । अझै पनि फ्रान्समा नेपालको छवि सन् २००६ देखि २००८ सम्मको जस्तै उही पुरानो राजनीतिक अस्थिरताको छ । अहिले नेपालमा तीब्र गतिमा राजनीतिक परिवर्तन भइरहेको छ । नेपाली जनताको सामाजिक–आर्थिक क्षेत्रमा यो संक्रमणको प्रत्यक्ष प्रभाव देखिरहेको छ । मैले भन्नैपर्छ, फ्रान्स सरकारले सन् २०१९ को वास्तविकताअनुसार फ्रान्समा नेपाल र नेपाली जनताको छवि सुधार गर्नुपर्छ ।

नेपाल राजनीतिक स्थीरता र नागरिकलाई मानव अधिकार प्रत्याभूत गर्ने लोकतान्त्रिक मुलुक हो । नेपालको अर्थतन्त्र पनि यसअघिको भन्दा तीब्र गतिमा अघि बढिरहेको छ । फ्रान्सका केही कम्पनीहरुले नेपालमा व्यवसाय गर्ने इच्छा प्रकट गरिरहेका छन्, यो सकारात्मक पाटो हो ।

इमान्दारिताका साथ भन्दा नेपालको विकासको साझेदारीको प्रतिबद्धताका लागि फ्रान्स सरकारले नेपालमा आफ्नो कदमबारे नयाँ तरिकाबाट सोच्नुपर्छ भन्ने मेरो विश्वास छ । मलाई यो भन्दा खुशी लागिरहेको छ कि फ्रान्सले नेपाललाई सुलभ दलमा ऋण प्रदान गर्ने सुविधा पुनस्थापित गरेको छ । यसले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने निश्चित छ ।

राजनीतिक र आर्थिकबाहेक नेपाल र फ्रान्सबीच जनस्तरमा बहुआयामिक क्षेत्रमा सम्बन्ध छ । उदाहरणका लागि दुई मुलुकबीच फ्लिम निर्माण र पर्वतारोहणका क्षेत्रमा विशेष सम्बन्ध छ । फ्रेन्च चलचित्रनिर्माता एरिक भालको चलचित्रले एकेडेमी अवार्डमा मनोनयन समेत पाएको थियो । यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

नेपाल र फ्रान्सबीच लामो साझेदारी छ — एकजुटताको बन्धनको । फ्रेन्च जनता नेपाललाई माया गर्छन् । जब म नेपालका लागि नियुक्त भएँ, फ्रेन्चहरु मलाई नेपालजत्तिको सुन्दर मुलुकमा नियुक्ति पाएकोमा भाग्यमानी भन्थे । फ्रान्समा नेपालको छवि राम्रो भएकाले यही छविका आधारमा हामी अघि बढ्नु पर्छ ।

फ्रेन्च चलचित्रनिर्माता एरिक भालसहित अरु फ्रेन्चहरुले नेपाल र फ्रान्सको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिएका छन् । हामीले एरिक भालजस्ता मानिसहरुसँग सम्पर्क स्थापित गरी उनीहरुको क्षमता परिचालन गरी दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सक्छौं । एरिक भालजस्ता मानिसहरुले नेपालको छवि फ्रान्समा मात्र नभई सारा संसारमा उजागर गर्न सक्छन् ।

सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा तीब्र गतिमा परिवर्तन भइरहेको नेपालको अवस्थाबारे काठमाडौंमा रहेको फ्रान्सको राजदूतावासले बताउन सक्दो प्रयास गरिरहेको छ । फ्रान्सले सन् २०१९ मा नेपालको वास्तविकता जान्नु पर्छ । त्यसैले हामीले मिस नेपाल २०१८ श्रृङ्खला खतिवडालाई सद्भाव दूत नियुक्त गरेका छौं । उनले फ्रेन्च जनतामाझ नेपालको सकारात्मक छवि प्रस्तुत गर्ने छिन् ।

हाम्रो अभियान सफल भएकोमा हामी सन्तुष्ट पनि छौं । हामीले उनको भिडियोलाई युट्युबमा पनि राखेका थियौं । उनलाई युट्युबमा राखिएको च्यानलले एक साता भित्रै १ लाख ८० हजार भ्युज पाएको थियो भन्दा विश्वास नलाग्न सक्छ । सारा फ्रान्सभर यो अभियान पुग्ने र यसबाट नेपालमा पर्यटन बढ्ने हाम्रो विश्वास छ ।

तपाईंले फ्रान्समा नेपालको सकारात्मक छवि निर्माण गरी नेपालमा पर्यटन बढाउने कुरा गर्नुभयो । नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० मनाउँदै छ । नेपालले फ्रान्सबाट अझ धेरै पर्यटकको अपेक्षा गर्न सक्छ ?

वास्तवमा नेपालमा एक वा दुईपटक पर्यटक ल्याउनु मुख्य विषय होइन । मुख्य कुरा भनेको पर्यटक नेपाल आएर पैसा खर्च गर्नुपर्यो । यहाँ दुई मुख्य कुरामा जोड दिऔं, पहिलो– हामीले कसरी नेपालका फरक–फरक क्षेत्रमा पर्यटकलाई आकर्षित गरी नेपालको गन्तव्यलाई अझ विस्तार गर्न सक्छौं । त्यस्तै, नेपालमा पर्यटन सिजनमा मात्र नभई अफ सिजनमा पनि पर्यटकलाई भित्र्याउने प्रयास गर्नुपर्छ ।

अनी दोश्रो कुरा, हामीले नेपालमा आतिथ्य व्यवसायको गुणस्तर पनि वृद्धि गर्नुपर्छ । यसबाट पर्यटकको बसाई पनि बढ्छ भने उनीहरुले पैसा पनि धेरै खर्च गर्छन् । समाजको रुपमा नेपाल खुला र सहयोगी रहिरहनुपर्छ । यस्तो व्यवहारले सजिलै पर्यटक आकर्षित गर्न सकिन्छ ।

यसको अर्थ आगामी वर्षहरुमा नेपालमा फ्रेन्च पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गर्न सक्छौं ?

अवश्य पनि पर्यटकको सङ्ख्या बढ्नेछ । हरेक वर्ष ३२ हजार फ्रेन्च पर्यटकले नेपालको भ्रमण गर्ने गरेका छन् । हरेक वर्ष यो सङ्ख्या बढ्दो क्रममा छ । भविष्यमा अझ धेरै फ्रेन्च पर्यटक नेपाल आउनेमा म आशावादी छु ।

त्यस्तै, एक पटकले नपुगेर एकभन्दा धेरै पटक नेपाल आउने फ्रेन्च पर्यटकको संख्या पनि ठूलो छ । उनीहरु नेपालमा धेरै नै खुशी, सहज र आनन्द महशुस गर्छन् । उनीहरुको नेपाल यात्रा अविष्मरणीय हुने गर्छ र यो कुरा उनीहरु फ्रान्स गएर त्यहाँका मानिसहरुलाई सुनाउँछन् । यसले फ्रान्समा नेपालको प्रचार समेत हुने गर्छ । आतिथ्य व्यवसायबाहेक नेपालले खतरामा परेका पर्यटकको उद्धारसहित यातायात, सञ्चार, सुरक्षा र स्वास्थ्यलगायतका पूर्वाधारका क्षेत्रमा पनि काम गर्नुपर्ने आवश्यकता छ । यसले पर्यटकहरु बिना कुनै जोखिम नेपालको भ्रमण गर्न सक्छन् ।

नेपाल र फ्रान्सबीच विदेश सचिवस्तरमा राजनीतिक वार्ता पुनस्र्थापना भएको छ । के नेपालले भविष्यमा फ्रान्सबाट उच्चस्तरीय राजनीतिक भ्रमणको अपेक्षा गर्न सक्छ ?

म फ्रान्सबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणको प्रयास गरिरहेको छु । यद्यपि यसबारे तत्कालै केही भनिहाल्ने अवस्था छैन । यसबारे प्रयास जारी छ । आशा छ भविष्यमा फ्रान्सबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ ।

नेपालका कुन क्षेत्रमा फ्रान्सले लगानी गर्ने योजनामा छ ? हालै आयोजना गरिएको प्रत्यक्ष वैदेसिक लगानी सम्मेलनमा सरकारले विदेशी लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

हामी हाल नेपालमा फ्रेन्च लगानीका लागि दुई दिशातर्फ काम गरिरहेका छौं । पहिलो नेपाललाई विदेशी लगानीका लागि नेपाललाई गन्तव्य मुलुक बनाउनुपर्छ ।

सञ्चार भू उपग्रह प्रक्षेपणका लागि हामी नेपाल सरकारसँग कुराकानी गरिरहेका छौं । यो परियोजना सञ्चालन भएमा यसले दुर्गम क्षेत्रमा समेत टेलिभिजन र टेलिफोन सेवा विस्तार गरी नेपालको सञ्चार जगत्मा क्रान्ति नै ल्याइदिनेछ

अघिल्लो अप्रिल महिनामा मात्र हामीले नेपाल उद्योग वाणिज्य महासंघसँग व्यापारिक सम्मेलनको आयोजना गरेका छौं । जहाँ फ्रान्सका १५ कम्पनीले नेपालमा संयुक्त तथा स्वतन्त्र व्यापारिक साझेदारीको सम्भाव्यताबारे नेपाली व्यावसायिक समुदायसँग अन्तक्रिया गरेका थिए ।

दोश्रो हामी नेपालमा केही महत्वपूर्ण परियोजनाहरु शुरु गर्न तथा सहयोग गर्न चाहन्छौं । यी परियोजनाहरुले नेपाल–फ्रान्स साझेदारीको प्रतिकको रुपमा रहनेछन् । यसले फ्रेन्च लगानीकर्ताहरुको आत्मविश्वास बढाउनेछ भने त्यहाँबाट आउने लगानीमा समेत वृद्धि हुनेछ । हाल मेरो दिमागमा यस्ता दुई किसिमका परियोजनाहरु छन् । पहिलो नेपालको सञ्चार भू उपग्रहको परियोजना र दोश्रो यातायातका क्षेत्रमा शहरी केबल कार सम्बन्धी ।

सञ्चार भू उपग्रह प्रक्षेपणका लागि हामी नेपाल सरकारसँग कुराकानी गरिरहेका छौं । यो परियोजना सञ्चालन भएमा यसले दुर्गम क्षेत्रमा समेत टेलिभिजन र टेलिफोन सेवा विस्तार गरी नेपालको सञ्चार जगत्मा क्रान्ति नै ल्याइदिनेछ ।

यसबाट ग्रामिण तथा शहरी भेगबीच प्रविधिको क्षेत्रमा रहेको खाडललाई न्यूनीकरण गर्न सहयोग गर्नेछ । सरकारले यसको अनुमति दिएको खण्डमा काठमाडौंजस्ता शहर र दुर्गम जिल्लाका गाउँमा शिक्षा, स्वास्थ्यसेवा र प्रशासनिक क्षेत्रमा रहेको अन्तरपनि साँघुरो हुनेछ । यसले आर्थिक वृद्धिका साथै अरु धेरै अवसर सिर्जना गर्नेछ । हामीले यसका लागि काठमाडौंस्थित फ्रेन्च दूतावासका सबै सहयोग संयन्त्र प्रयोग गरी छलफललाई अघि बढाइरहेका छौं र म ढुक्क छु, चाँडै यसको सकारात्मक नतिजा हाम्रो सामुन्ने हुनेछ ।

दोश्रो परियोजना चाहीँ काठमाडौं भित्र र आसपार केबल कारको ट्रयाक बनाउनु हो । नेपाल सरकारले प्रशासनिक औपचारिकता पूरा गरेमा यसलाई सफल बनाउन फ्रान्सको एउटा कम्पनीले रुची देखाइसकेको छ । यो परियोजना सफल भएमा राजधानीको ट्राफिक जाम र यातायातको समस्या समाधान हुनेछ । निर्माण सफल हुन धेरै समय नलाग्ने र पर्यावरणमैत्री रहेकाले नेपालका लागि केबल कार गतिलो विकल्प हो । पर्यटकका लागि पनि केबलकारको यात्राबाट उत्कृष्ट अनुभव मिल्नेछ ।

ठूलो सङ्ख्यामा, सायद ५ सयजति, फ्रेन्च गैर सरकारी संस्थाहरु नेपालमा विभिन्न क्षेत्रमा कार्यरत छन् । उनीहरुको कामलाई कसरी मूल्यांकन गर्नु भएको छ । र, खासमा उनीहरु यहाँ के गर्छन् ?

सानाठूला गरी धेरै फ्रेन्च गैरसरकारी संस्थाहरु मानवअधिकारी, समावेशिता भोकमरीविरुद्धको अभियानजस्ता नेपालका विभिन्न क्षेत्रमा स्थानीय तहमा केन्द्रित भई क्रियाशील छन् । यस्ता गैरसरकारी संस्थाहरु मानिसहरुले स्थापना गरेका हुन् ।

फ्रान्सबाट नेपाल घुम्न आउने मानिसहरुले यहाँका ग्रामिण क्षेत्रका मानिसहरुसँग मानवीय सम्बन्ध स्थापित गरेका आधारमा नेपालमा फ्रेन्च गैरसरकारी संस्थाहरु स्थापित भएका हुन् । फ्रान्स फर्केपछि यी फ्रेन्च नागरिकहरुले नेपालमा गैरसरकारी संस्था स्थापनार्थ त्यहाँ पैसा जम्मा पार्छन् । यस्ता गैरसरकारी संस्थाका कारण धेरै विद्यालय, स्वास्थ्य चौकी र समुदायिक आवास निर्माण भई नेपाली जनताको जीवनमा योगदान पुगिरहेको छ ।

यो जनस्तरको सम्बन्धको गतिलो उदाहरण हो र यो प्रशंसनीय छ । पहिले फ्रेन्च पर्यटकहरु नेपालमा पर्वतारोहण, पदयात्रा र अन्य गतिविधिका लागि आउने गर्थे । अहिले ‘नेपालीहरु साह्रै राम्रा छन्, हँसिला, मैत्रिपूर्ण र सहनशील छन्’ भन्दै उनीहरुले आफ्नो नेपाल बसाइ लम्ब्याइरहेका छन् ।

सामान्य नेपालीले फ्रेन्च पर्यटकलाई पार्ने छापका कारण फ्रेन्च पर्यटकलाई नेपालका लागि केही गरौं भन्ने लागिरहेको हुन्छ । त्यसैले दुई मुलुकबीच मानवीय सम्पर्क सबैभन्दा महत्वपूर्ण पाटो हो । । यो विशुद्ध जनस्तरको सम्बन्ध हो । फ्रेन्च दूतावासले यस्ता सम्बन्धलाई सहयोगमात्र गर्छ ।

नेपाल र फ्रान्सका जनताहरु स्वस्फूर्त रुपमा आफ्नो गतिविधी आफैं गरिरहेका छन् र यसलाई अझ बढाउँदै लगिरहेका छन् । यी गैरसरकारी संस्थाहरुले राम्रो काम गरिरहेका छन् र म यिनीहरुको कामबाट सन्तुष्ट छु ।

नेपालको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

मैले अघि नै भने नेपाल लोकतान्त्रिक मुलुक हो । केही समयअघिमात्र नेपालले ऐतिहासिक तथा महत्वपूर्ण संक्रमणबाट गुज्रेको छ । राजनीतिक तथा अन्य संक्रमण सहज रुपमा सकिएकाले यो उदाहरणीय पनि छ ।

रक्तपातबिना नै राजतन्त्रबाट गणतन्त्र प्रवेश गरेको शान्तिपूर्ण नेपाली शान्ति प्रक्रिया तथा राजनीतिक संक्रमणबाट विश्वले केही सिक्नुपर्छ । म नेपाली जनताको चाहनाबारे कुनै टिप्पणी गर्दिन । नेपालमा राजनीतिक स्थीरता शुरु भएको छ । यो सारा प्रक्रियामा नेपाली जनताले देखाएको राजनीतिक परिपक्वता सराहनीय छ । र नेपालको भविष्य उज्वल छ भन्नेमा म निश्चित छु ।

विशेषगरी यहाँका युवापुस्ताप्रति मलाई विश्वास छ । उनीहरु स्मार्ट छन्, सचेत छन् र सामाजिक गतिविधि लगायतका हरेक क्षेत्रमा जागरुक छन् । युवापुस्ता नेपालका सच्चा सम्पत्ति हुन् ।

तपाईंलाई भन्न मन लागेको अरु केही छ ?

नेपालमा ‘सुखी नेपाली समृद्ध नेपाल’ मात्र छैन । नेपालका खुशी साथीहरु पनि छन् । म पनि एक हुँ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०