माधव नेपाललाई ओलीको रुखो जवाफ– मरोस् भन्ने मान्छेको पनि शुभकामना लिनु ? « Khabarhub

माधव नेपाललाई ओलीको रुखो जवाफ– मरोस् भन्ने मान्छेको पनि शुभकामना लिनु ?


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको विषयमा जानकारी गराउन बिहीबार बिहान पार्टी सचिवालय सदस्यको बैठक बोलाएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको सचिवालय सदस्यको बैठक विहान ९ः१० बजेतिर शुरु भयो ।

बैठकको शुरुवाती चरणमा पार्टीका नेताहरुबीच केही अनौपचारिक कुराकानी चल्यो ।

त्यसपछि ओलीले बैठक सञ्चालन गर्दै आफू थप उपचारका लागि पुनः सिंगापुर जान लागेको जानकारी दिए ।

महासचिव विष्णु पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पेश गरे । ओलीले ‘आजका लागि’ अन्य विषयमा छलफल गर्ने स्थिति नरहेको जनाए ।

ओलीले बैठकमा भने, ‘अहिले धेरै विषयमा छलफल गर्ने समय छैन । स्वाथ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरौं । तपाईंहरु पनि लाग्नुहोस्, म पनि सिंगापुरतिर लाग्छु….’

ओलीले यति भनेपछि नेताहरुले पार्टी एकीकरण प्रक्रियाको विषयमा सामान्य कुरा उठाए ।

ओलीले बीचमै ‘हस्तक्षेप’ गरे, ‘यी सबै विषय सहमतिमै टुंग्याउँदा राम्रो हुन्छ । उपचारका लागि पनि १०–१५ दिन नै लाग्न सक्ने देखिन्छ । थप विषयमा फोनबाट पनि कुरा गरौंला । अहिले त भिडियो कन्फरेन्स पनि हुन्छ…।’

ओलीले बोलिनसक्दै वरिष्ठ नेता माधव कुमार नेपाल बोले– ‘मेरो (वरियता घटाउने) विषयमा त सहमति बिना नै निर्णय भयो, अब चाहिँ किन सहमति चाहियो र ?’

नेपालको कुरा सुनिनसक्दै ओली आक्रोशित भावमा प्रस्तुत भए, ‘अध्यक्ष तपाईं हैन, म हो ।’

माधव नेपालले जवाफ फर्काए , ‘अध्यक्ष नभए पनि म पनि समान हैसियत राख्छु ।’

ओली र नेपालबीच भनाभनको स्थिति सिर्जना हुन थालेपछि अर्का अध्यक्ष प्रचण्डले स्थिति सामान्य बनाउने प्रयास गरे ।

‘आज ओलीजी सिंगापुर जाँदै हुनुहुन्छ, उहाँको स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरौं । अरु बिषयमा पछि पनि छलफल गरौंला,’ बैठकमा प्रचण्डले भने ।

अध्यक्ष प्रचण्ड पछि सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अरु विषयमा पछि पनि छलफल गर्न सकिने धारणा राखे ।

सबै नेताले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिए ।

नेता नेपालले पनि ओलीलाई स्वास्थ्य लाभका लागि शुभकामना दिए, ‘उपचारका लागि जाँदै हुनुहुन्छ, स्वस्थ भएर फर्किनुहोला । स्वास्थ्य लाभको कामना गर्दछु…।’

नेपालले स्वास्थ्य लाभको कामना गर्दा ओली झन् आक्रोशित बने, ‘तिम्रा शुभकामना शुभकामना चाहिँदैन, मरोस् भन्ने मान्छेको शुभकामना पनि लिनु ?…’

ओलीको प्रतिक्रिया सुनेपछि माधव नेपाल पनि आक्रोशित भए, ‘यस्तो आपराधिक मनोबृत्ति तपाईंको ? यस्तो मनोवृति भएका व्यक्तिसँग कसरी सँगै हिँड्ने ?’

ओलीले नेपालको नमस्ते नै फर्काएनन्

सचिवालय बैठकमा सहभागी हुन बिहीबार विहान वरिष्ठ नेता नेपाल नेता झलनाथ खनाल र बामदेव गौतमसँगै वैठक कक्षमा प्रवेश गरेका थिए ।

वैठक कक्षमा प्रवेश गर्दा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई ‘हात जोडेरै’ नमस्ते गरेका थिए ।

अध्यक्ष ओलीले खनाल र गौतमको नमस्ते ‘फर्काए पनि’ नेता नेपालको भने नफर्काएको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार अध्यक्ष ओलीले नेता नेपालसँग हात समेत मिलाउन मानेनन् ।


*उल्लेखित सामग्री बिहीबारको नेकपा सचिवालय बैठकमा उपस्थित एकजना उच्चस्तरीय नेतासँगको कुराकानीमा आधारित भएर तयार पारिएको हो– सम्पादक

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : १९ बजे

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज