राष्ट्रियसभामा १९ सदस्यको पदावधि फागुनमा सकिँदै | Khabarhub Khabarhub

राष्ट्रियसभामा १९ सदस्यको पदावधि फागुनमा सकिँदै


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आउँदो फागुनमा सकिँदैछ। दुई वर्षे कार्यकाल पाएका राष्ट्रियसभाका १८ जना निर्वाचित र मनोनित एकसहित १९ जना सदस्यको पदावधि आउँदो फागुनमा सकिने छ ।

४ असार २०७५ मा राष्ट्रियसभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय भएको थियो। गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २१ फागुन २०७४ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा आउँदो २० फागुनमा उनीहरुको पदावधि सिकिनेछ।

राष्ट्रियसभाका सदस्यहरुको पदावधि सम्बन्धमा संविधानको धारा ८६ को उपधारा ४ मा उल्लेख छ, ‘यो संविधान प्रारम्भ भएपछि राष्ट्रियसभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रियसभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरुको पदावधि प्रारम्भ भएको मानिनेछ।’

यो प्रावधान अनुसार दुई वर्ष पदावधि सकिने राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका राष्ट्रियसभामा प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेको पदावधि पनि सोही दिन सकिनेछ। अर्थमन्त्री खतिवडा राष्ट्रियसभाका मनोनित सदस्य हुन्।

संविधानको धारा ८६ को उपधारा ५ मा राष्ट्रियसभाका सदस्यहरू निर्वाचन वा मनोनयन जुन विधिबाट सदस्य बनेका हुन्, उनीहरूको पदावधि समाप्त हुँदा रिक्त हुन आउने पदमा पनि सोहीअनुसार पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। अब रिक्त हुने संख्यामध्ये निर्वाचित १८ जना प्रदेशगत रुपमा निर्वाचित भएर र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।

दुई वर्षे पदावधि समाप्त भएका सदस्यहरू फेरि पनि राष्ट्रियसभा सदस्य बन्न सक्छन्।

यसका लागि कानूनतः त्यस्तो कुनै वाधा छैन । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल भन्छन् । तर, त्यसका लागि उहाँहरू आफ्नो दलबाट सिफारिस हुनुपर्छ। राष्ट्रियसभाका ५९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८/८ सदस्य निर्वाचित हुने र तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुन्छन्।

क-कसको पदावधि सकिँदै छ ?

आउँदो २० फागुनमा पदावधि समाप्त हुने राष्ट्रियसभा सदस्यहरूमा नेपाली कांग्रेसका सात जना, नेकपाका आठ जना, राष्ट्रिय जनता पार्टी नेपालका दुई जना र समाजवादी पार्टीका एक जना छन्।

फागुनमा पदावधि समाप्त हुने कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यहरूमा पाण्डेसहित दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले (राना) र सरिता प्रसाई छन्।

यस्तै नेकपाका डा. युवराज खतिवडासहित कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन्।

पदावधि समाप्त हुने राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरूमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासपानको पदावधि पनि फागुनमा सकिँदैछ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : २१ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता