काठमाडौं– नेपालको प्रमुख धार्मिक तथा संस्कृतिक क्षेत्र ‘पाशुपत’ केही वर्षदेखि विश्व सम्पदा सूचीबाट हट्ने खतरामा परेको थियो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले पशुपति क्षेत्रलाई विश्व सम्पदा क्षेत्रबाट हटाउने चेतावनी दिँदै आएको थियो ।
यति महत्वपूर्ण धार्मिक क्षेत्र विश्व सम्पदा सूचीबाट हटाउन बारम्बार चेतावनी आउनुको एउटा महत्वपूर्ण कारण ६ सय ७५ मिटर कच्ची सडक थियो । यो सडकका कारण पाशुपत क्षेत्र सूचीबाट हटाउने चेतावनीमात्र नभइ उक्त क्षेत्रमा भूक्षयका कारण विश्वरुपा लगातका मन्दिर र वन क्षेत्रसमेत संकटमा परेको थियो ।
विगत सात वर्षदेखि पटक–पटक सचेत गराउँदा पनि पाशुपत क्षेत्रभित्रका सडकमा सवारी आवागमन नरोकिएको भन्दै युनेस्कोले पछिल्लो पटक विश्वसम्पदा सूचीबाट नै हटाउने चेतावनी दिएको थियो ।
विश्व सम्पदामा सूचिमा सूचिकृत उपत्यकाका ७ सम्पदामध्ये पाशुपत क्षेत्र महत्वपूर्ण धार्मिक क्षेत्र पनि एक हो । तर, पशुपति क्षेत्र विकास कोष र सरकारको लापरबाहीका कारण सूचीबाट नै हट्ने हो कि भन्ने संशय बढेको छ ।
पशुपति क्षेत्रको मुख्य वनक्षेत्र मृगस्थली र धुव्रस्थलीको बीचमा केही वर्ष अघि बनाइएको बाटोका कारण पाशुपत क्षेत्रमा भुक्षय लगायतका समस्या देखिएको थियो ।
पानी ट्यांकर, ट्रकजस्ता सवारी साधन र केही दुई पांग्रे सवारी साधन मात्र आवातजावत गर्दथे । बालुवायुक्त सडकमा ठूला सवारी साधन गुडाउँदा यसले पशुपति क्षेत्रको सम्पदा जोखिममा परेको छ । सम्पदा क्षेत्रमा मालवाहक सवारी साधन गुडाउन नपाइने यूनेस्कोको नियम छ । तर, यस क्षेत्रमा भने व्यापरिक प्रयोजनका लागि दैनिक सयौँको संख्यामा मालबाहक सवारी साधन गुड्ने गर्छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा क्षेत्रमा मालबहाक साधन रोक्न भन्दै परेको रिटमा सर्वोच्च अदालतले युनेस्कोको मापदण्ड विपरित बनेका संरचना हटाउन आदेश दिएको थियो । आदेशको करीब ३ वर्षपछि पशुपति क्षेत्र विकास कोषले तिलगंगा ताम्रगंगा सडक यही जेठ २ गतेदेखि बन्द गरेको छ ।
कहिले खुल्यो यो बाटो ?
२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा गुह्वेश्वरीसम्मको जंगलमा ६ सय ७५ मिटर लामो कच्ची सडक प्रयोगमा आएको हो । सम्पदा बचाउ अभियानका संरक्षक अर्जुन राणाका अनुसार यो बाटो खुलेसँगै युनेस्कोले अनुगमन गरेको थियो । अनुगमन लगत्तै युनेस्कोले सो बाटो तत्काल बन्द गर्न आदेश दिएको थियो ।
यदी यो बाटो बन्द नगरे पाशुपत क्षेत्रलाई विश्वसम्पदा सूचीबाट हटाइने चेतावनी उतिबेलै युनेस्कोले दिएको थियो । ‘युनेस्कोले चेतावनी दिदाँसमेत अटेर गरेको र सो सडक बन्द नभएको भन्दै अधिवक्ता तुलसी सिंखडाले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल सडक बन्द गर्न आदेश दिएसँगै सो सडक जेठ २ गतेदेखि बन्द गरिएको छ ।
तिलगंगा गुह्वेश्वरी जंगलमा ७ सय मिटर कच्ची सडक खन्ने क्रममा ६ सय वटा रुख नष्ट भएका थिए । त्यसयता पटक–पटक यो बाटोबाट सवारी साधन आवगमन बन्द गर्न खोजेको स्थानीयहरु बताउँछन् । विशेषगरी कागेश्वरी–मनोहरा र गोकर्णेश्वर नगरपालिका प्रवेश गर्ने सवारी साधन यही बाटोबाट आवतजावत गर्ने गर्छन् ।
नगरपालिकाका जनप्रतिनिधि भने बाटो बन्द गर्न नमिल्ने भन्दै विरोध गरिरहेका छन् । विरोध गर्दागर्दै पनि पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका, वडा नम्बर ८ का स्थानीय, सम्पदा बचाउ अभियानकर्ता, शिव सेना नेपाल, सगोरा नेपाल लगायतका निकायको सहकार्यमा २ गतेदेखि उक्त सडक बन्द गरिएको हो । सडकको बीचमा ठूला खाडल र ढुंगा राखिएका छन् भने तिलगंगा प्रवेशद्वारमा पर्खाल लगाइदैँ छ ।
बुधबार उक्त क्षेत्रलाई सम्पदा क्षेत्रकै रुपमा ल्याउनका लागि कपुर, सुन्तला, धुपी, लिची लगायतका विरुवाहरु वृक्षरोपण गरिएको छ । वृक्षरोपण कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको समेत उपस्थिति थियो ।
सम्पदा क्षेत्रमा ठूला सवारी पानी ट्यांकर, गिटी, रोडा लिएर आवतजावत गर्ने सवारी साधन मात्र प्रयोगमा आएको पाइएको र तुरुन्त यसलाई रोक लगाउनुपर्ने उपप्रमुख खड्गीले बताइन् । ‘पैदलयात्रुको लागि अन्य व्यवस्था मिलाउने भन्दै अहिलेलाई बाटो बन्द गर्नुपर्छ’ उनले भनिन् ।
विश्व सम्पदा सूचीमा रहेका तथा अन्य सम्पदालाई बचाउनुपर्ने खड्गीको भनाइ छ । ‘सवारी आवगमन रोकेन भने यूनेस्कोले पशुपतिलाई विश्वसम्पदाबाट हटाइदिन्छौं भनिसकेको छ, अब हामीले कसरी हुन्छ सम्पदा बचाउँनुपर्छ’ उनले भनिन् ।
के भन्छ पशुपति विकास कोष
अन्तर्राष्ट्रिय दृष्टिकोणमै गौरवको रुपमा रहेको पशुपति क्षेत्रलाई संरक्षण गर्न सबैको दायित्व रहेको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । ‘युनेस्को, पुरात्तव र पशुपति क्षेत्रको मापदण्ड विपरित बाटो खुलेकोले सो बाटो बन्द गर्नका लागि २०७३ पौष ६ गते सर्वोच्च अदालतबाट फौसला भएका हो’ उनले भने ।
‘सम्पदा विपरित कार्य भएकाले बोध गरेर यो बाटो बन्द गराउन नेपाल सरकार समक्ष युनेस्कोले आदेश जारी गरेको र सरकार मार्फत कोषमा जानकारी आएकाले सो बाटो बन्द गरी वृक्षरोपण तिर लागेको हौँ’ खबरहबसँग कुरा गर्दै उनले भने ।
डम्पिङ साइट बन्दै तिलगंगा–ताम्रगंगा
तिलगंगा–ताम्रगंगा सडकको वरिपरि हेर्दा डम्पिङ साइड जस्तै देखिन्छ । व्यापार–व्यवसाय गर्नेहरु फोहोर फ्याँक्न सोही क्षेत्रमा पुग्छन् । फोहोरको डंगुर वरिपरि थुप्रिएसँगै यो क्षेत्र दुर्गन्धित बनेको छ । विश्व सम्पदा क्षेत्रमा यसरी फोहोर नफ्याक्न कोषले पटकपटक आग्रह गरेको प्रसाशकीय अधिकृत पराजुलीले बताए ।
सिनो, घरायासी फोहोरमैला, निर्माण सामग्री लगायत अन्य फोहोरहरु जथाभावी रुपमा फ्याक्ने कामलाई न्यूनीकरण गर्नकै लागि पनि बाटो बन्द गर्नुपरेको उनले बताए । यसरी दूषित भइरहँदा सास्कृतिक पक्षका अतिरिक्त यस क्षेत्रलाई वातावरणीय पक्षले पनि हरियाली क्षेत्रका रुपमा राख्नुपर्ने सर्वोच्च अदालतको आदेश रहेको उनले सुनाए ।
प्रतिक्रिया