प्रधानमन्त्रीले उद्घाटन गरेका बिजुली बस थन्क्याएर ३ सय नयाँ बस किन्ने तयारीमा साझा | Khabarhub Khabarhub

प्रधानमन्त्रीले उद्घाटन गरेका बिजुली बस थन्क्याएर ३ सय नयाँ बस किन्ने तयारीमा साझा



काठमाडौं – वि.सं. २०७५ साल कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुलचोकमा बिजुली बसको उद्घाटन गरे। लगात्तै त्यही बसमा चढेर सिंहदरवारसम्म यात्रा पनि गरे।

उद्धघाटनका क्रममा ओलीले काठमाडौंमा बिजुली बसको युग शुरु भएको मन्तव्य पनि दिए। साथै सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय गाडी सञ्चालनमा ल्याउने दावी गरे।

एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाइ ५ वटा विद्युतीय बस प्रदान गरेको थियो। तर तत्कालका लागि लुम्बिनीमा पूर्वाधारको तयारी नभएकाले साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याइने सहमति भएको थियो।

बिजुली बसका लागि पर्याप्त मात्रामा चार्जिङ स्टेशन नुहँदा ती पुराना ५ बस प्रयोगविहीन बनेर थन्किएका छन्। तत्कालीन समयमा ३ सय वटा विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो। तर त्यो योजना कागजमा मात्रै सीमित बन्यो।

निजी प्रयोजनका लागि नेपालमा विभिन्न कम्पनीका विद्युतीय कार तथा जीप सञ्चालनमा आइरहेका छन्। यद्यपी सार्वजनिक यातायातमा भने हालसम्म प्रयोगमा आउन सकेका छैनन्।

तर, पछिल्लो समय सरकारले साझा यातायात सहकारी संस्थालाइ विश्वासिलो ठान्दै बिजुली बस खरिद गर्नका लागि धमाधम रकम दिइरहेको छ।

बिजुली बस ल्याउने मन्त्री महासेठको दावी

पछिल्लो समय बिजुली बस सबैको चासोको विषय बनेको छ। वातावरणमैत्री हुने भएकाले पनि बिजुली बसमा सबैको आकर्षण देखिन्छ। त्यसैले सरकारले ३ सय वटा बिजुली बस खरिदका लागि साझा यातायात सहकारी संस्थालाइ ३ अर्ब रकम दिएको छ।

विद्युतीय बस खरिदका लागि गत बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाइ उक्त रकम दिएको हो।

सकेसम्म असोज नभए कार्तिकसम्ममा साझाले ‘जी टु जी’ वा सार्वजनिक खरिद प्रक्रियाबाट विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने सहमति भएको बताएका थिए।

‘मन्त्रालयले विद्युतीय बसका लागि गत आर्थिक वर्षलाइ आधार वर्षका रुपमा हेरेको र नीति निर्माणका धेरै कामहरु गएको वर्ष भएका छन्’ मन्त्री महासेठले भने ‘अब कार्यन्वयनमा गएका छौँ’।

‘विद्युतीय बस सञ्चालन सार्वजनिक यातायात सुधारको एउटा महत्वपूर्ण काम हुनेछ’ महासेठले खबरहबसँग भने ‘त्यसकारण अब बिजुली बसको थालनी हुनेछ’।

साझा यातायातले बिजुली बस चलाउन समय लाग्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्तिकसम्म बिजुली बस सञ्चालनमा ल्याउन भने पनि साझा यातायात सहकारी संस्थाले भने यसलाइ असम्भव ठानेको छ।

४ महिनाभित्र बिजुली बस काठमाडौंमा सञ्चालन हुन नसक्ने संस्थाले जनाएको छ। यद्यपी समय लागेपनि सरकारको लगानीमा बिजुली बस भने ल्याएरै छोड्ने संस्थाको दावी गर्‍यो।

बिजुली बसको खरिदका लागि सार्वजनिक खरिद ऐन अनुसार जाने र त्यसको लागि समय लाग्ने संस्थाका अध्यक्ष कनकमणि दिक्षितले खबरहबलाई बताए। ‘राम्रो काम गर्न राम्रै समय लाग्छ’ उनले भने ‘मन्त्री जीले भनेको समयमै बस सञ्चालनमा आउन मुस्किल छ’। साथै मन्त्री महासेठले भनेझैँ ‘जी टू जी’ अर्थात् सरकारले सरकारसँग कुरा गरे समयमै बस ल्याउन सकिने र पूर्वाधार निर्माणसँगै चाँडै सञ्चालनमा ल्याउन सकिने बताए।

दिक्षितका अनुसार अनुसार खरिद मोडालिटी, प्राविधिक कर्मचारीको व्यवस्थापन, चार्जिङ स्टेशन र रुट परमिट लगायतको कुराको समेत तयार गरिएको छैन। ‘बस खरिद गर्नुमात्र ठूलो कुरा होइन’ उनले भने ‘त्यसका लागि सबैकुरा तयार गर्न समय लाग्ने हो।’

‘हामी सरकारलाई सघाउँछौँ’ खबरहबसँगको कुराकानीमा दिक्षितले भने ‘सकेसम्म छिटो काठमाडौंको सडकमा बिजुली बस गुडोस् भन्ने चाहना हामीमा पनि छ’।

लगानी खोजिँदै

बिजुली बस सञ्चलानमा ल्याउनका लागि साझाले ३ अर्ब ४२ करोड ५० लाख लगानी जुटाइसकेको छ। बिजुली बसको भरपुर प्रयोगका लागि प्रदेश ३ सरकारले १६ असारमा ३० करोड रुपैयाँ प्रदान गरिसकेको छ। त्यस्तै स्थानीय सरकार अन्तर्गत काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरले २ करोड ५० लाख रुपैयाँ दिएका छन्।

प्रदेश र स्थानीय सरकाले बिजुली बस खरिदका लागि साझालाई रकम दिने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत ३ सय वटा बस खरिद गर्न ३ अर्ब रुपैयाँ प्रदान गर्‍यो। अहिले साझा यातायात सहकारी संस्थासँग बिजुली बस खरिदका लागि ३ अर्ब ४२ करोड ५० लाख रकम जुटेको संस्थाले जनाएको छ। साथै साझा यातायात संस्था आफैँले पनि बिजुली बस किन्नका लागि साढे २ करोड लगानी हाल्न तयार भएको छ।

साझाले अनुसन्धान थाल्यो

सरकारी स्वामित्वमा रहेको साझा बस विगत केही वर्षयता लगातार घाटामा गइरहेको छ। घाटामा गइरहेको साझा प्रति सरकारको मोह भने बढिरहेको छ। सरकारले साझालाई विश्वास गरिरहेको र त्यही विश्वास अनुसार अघि बढ्ने योजना रहेको दिक्षितले बताए।

त्यसो त सरकारले दिएको सुविधा उपभोग गर्दा कुनै कुनै बेला घाटा पनि सहनुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। साझा यातयातले अहिले बिजुली बसका लागि अनुसन्धान गरिरहेको दिक्षितले बताए। भन्छन्, ‘अहिले कार्यलयका कार्यकारी प्रवन्धक महेन्द्रराज पाण्डे र निर्देशक भूषण तुलाधार लगायत केही व्यक्तिहरु अनुसन्धानकै क्रममा भारत पुगेका छन्’।

कस्तो बस ल्याउने र कुन रुटमा कस्तो बस राख्दा ठिक हुन्छ भन्ने कुराको स्पेशिफिकेशन तयार पारिरहेको उनले खबरहबलाई जानकारी दिए। भर्खरै अध्ययन प्रक्रिया शुरु गरेकाले चरणबद्ध ढंगले अघि बढ्ने वा एकैपटकमा सबै बस खरिद गर्ने भन्ने कुरा निश्चित नरहेको बताउँदै उनले भने ‘बिजुली बसको क्षेत्र पनि नेपालको लागि नयाँ हो, त्यसकारण केही सञ्चालन गरेर थप्ने वा एकैपटक ल्याउने टुंगो भएको छैन’।

भाडादर घट्ने सम्भावना

‘साझा यातायातको अपरेशन खर्चमा ४० प्रतिशत डिजेल खरिद गरेको हुन्छ’ खबरहबसँगको कुराकानीमा उनले भने ‘बिजुली खरिद गर्दा इन्धन खर्च ७ मा १ गुणामा झर्छ त्यसकारण सञ्चालन खर्च त घट्छ नै’। सम्भावत् भाडादर घट्ने अनुमान संस्थाको छ। तर, भाडा सरकारले तोक्ने हुँदा त्यसबारे संस्था जानकार नरहेको उनले बताए।

बस सञ्चालनमा आउनुपूर्व रुटअनुसार चार्जिङ स्टेशन बनाइसक्नुपर्ने उनको भनाइ छ। धेरै इन्धन खपत भएको खण्डमा ट्रान्सफर्मर पनि राख्नुपर्ने विज्ञहरु बताउँछन्। चार्जिङ स्टेशनका लागि कुनै पनि समस्या नरहेको र सरकारले जग्गा दिलाएसम्म चार्जिङ स्टेशन राख्न नेपाल विद्युत प्राधिकरण सहमत रहेकोे प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  २ : ३३ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा