परिश्रमी वडाध्यक्षको मेहनत, दूध बेचेर वार्षिक ६ लाख कमाइ « Khabarhub

परिश्रमी वडाध्यक्षको मेहनत, दूध बेचेर वार्षिक ६ लाख कमाइ


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहानै उठ्छु, गाई बाख्रा बाहिर सार्छु,’ तुलसीपुर उपमहागनरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले भने, ‘बूढीले दूध दोएर ठिक्क पारिदिन्छिन् । म मलसोत्तर र घाँसपात गर्छु अनि दूध बोकेर बजार जान्छु ।’

वडाध्यक्ष ढकालले गाउँबाट बजारमा दूध लिएर बिक्री गर्न थालेको १७ वर्ष भएछ । तर, अझै उनी थोकेका छैनन् । वडाध्यक्ष ढकाल दूध, दही, बिक्री गरेर वार्षिक ६ लाख आम्दानी गर्ने गरेको बताउँछन् । वडाध्यक्ष भएर पनि बिहानै उठेर वस्तुभाउको स्याहारसम्भार गर्ने र दूध बोकेर दैनिक बजारमा बिक्री गर्न जाने गर्दा छिमेकीसमेत छक्क पर्ने गरेको राजधानी दैनिकमा खबर छ ।

२०५९ सालमा देवदहबाट ३२ हजारमा ब्राउन सूइच नामको जर्सी गाई ल्याएर पाल्न सुरु गरेका अध्यक्ष ढकालसँग अहिले होलेस्टेन जातका दुईवटा गाई छन् । हिजोआज गाई बकेर्ना भएकाले बिहान दिएको २० लिटर दूध दोघरेमा रहेको नन्दन डेरी एग्रो टेडर्समा लगेर अध्यक्ष ढकालले बिक्री गर्दै आएका छन् । त्यहाँबाट मात्रै उनले २७ हजार मासिक बुझ्ने गरेका छन् । बिहानको दूध बजारमा लगेर बिक्री गरे पनि साँझको दूध भने घरबाटै बिक्री हुने गरेको उनले बताए । गाईको दूध बजारमा प्रतिलिटर ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको अलवा काँक्रा, करेला, बोडी, लौका, साग, घिरौला बिक्री गरेर पनि करिब १ लाख कमाई गर्छन् । दूधबाट कमाइ भएको पैसाले पुरानो ऋmण तिर्नदेखि छोरालाई जापनामा पढ्न पठाएको र आफूलाई घर खर्च र राजनीतिक रूपमा दौडधुप गर्दा सजिलो भएको उनले सुनाए । दरिलो जोस, जाँगर, मेहनतका साथ लगानी गर्ने हो भने स्वदेशमै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पछिल्लो समय ढकाल बनेका छन् । ‘अब त दुना गाई बकेर्ना पनि भइसके । एउटा जेठ १८ र अर्को भदौ ५ गतेको किलो (ब्याउने) छ,’ अध्यक्ष ढकालले भने,’ एउटा गाईले बिहान र साँझ गरी २५ लिटरसम्म दूध दिन्छ ।’ २०७१ सालमा जिल्ला पशुकार्यालय दाङबाट ७० हजार अनुदानसमेत उनले पाइसकेका छन् ।

ढकाललाई राजनीतिको सहारा गाई पालन नै भएको छ । ‘जागिरबाट मान्छेले रिटायर लाइफ बिताउँछ,’ राजनीति गर्ने मान्छेको पछिको भविष्य के त ? आफू अशक्त भएपछि के गर्ने भन्दा उपाय छैन,’ ढकालले भने– ‘त्यसैले राजनीतिबाट सन्न्यास लिँदा कृषि पेसालाई व्यावसायिक बनाउँछु ।’

राजनीतिमा लागेकाहरूको गाँस, बास, कपासको अवस्था दयनीय र अस्तव्यस्त देख्दा कहिलेकाँही राजनीतिमा बेकार हात हालेजस्तो लाग्ने गरेको बताउने उनले छोरालाई पनि जापानबाट फर्किएपछि कृषि पेसामा नै लगाउने सोच छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कक्षा ४ मा पढ्दै गर्दा २०३९ सालमा भारतको मर्सी आश्रममा वेद पढ्न गएका बेला जर्सी गाईको दूध, कचौरा देखेपछि कृषि पेसातर्फ आकर्षण बढेको हो ।

शुरुका वर्षमा गाई र बाख्रा बिरामी पर्दा पशु डाक्टर बोलाउनु परे पनि पछिल्लो समय भने आफैंले उपचार गर्ने गरेको उनले बताए । लामो समयसम्म पशु पालनमा नै लागेकाले अनुभवका आधारमा लक्षण देखा पर्नेबित्तिकै रोगको पहिचान गर्न सक्ने भएकाले सजिलै गाईबाख्राको उपचार गर्ने गरेको उनले बताए । । ‘बिरामी हुनेबित्तिकै लक्षणका आधारमा रोग थाहा भइहाल्छ,’ अध्यक्ष ढकालले भने, ‘औषधि गर्नेदेखि सुईसमेत आफैं लगाउँछु । पैसा पनि बचैकै छ ।’

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : २४ बजे

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान

रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड

खोटाङ- लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै

कास्की- देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

वीरगन्ज (पर्सा)- प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा