विश्लेषण : पाकिस्तान आक्रमणपछि अब के होला ? | Khabarhub Khabarhub

विश्लेषण : पाकिस्तान आक्रमणपछि अब के होला ?



भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा बढी अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानको ‘खैबर पख्तुन्ख्वा’ प्रान्तको बालाकोटमा ‘मिराज’ लडाकु विमानले हवाई आक्रमण गरेपछि भारत र पाकिस्तानबीचको सम्बन्ध खतरनाक मोडमा पुगेको छ ।

पुलावामा आत्मघाती बम आक्रमणको जिम्मा लिएको आतंकवादी समूह जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई निशाना बनाएर भारतले गरेको हवाई आक्रमणमा २ देखि ३ सय आतंकवादीको ज्यान गएको भारतको दाबी छ । अर्कोतिर पाकिस्तानले भने भारतीय वायुसेनाले आतंकवादीलाई निशाना बनाएर गरेको भनिएको हवाई आक्रमणमा ठूलो हताहती भएको भन्ने भारतीय दाबी असत्य रहेको भन्दै पुनः हुनसक्ने सम्भावित भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानी सेना तयारी अवस्थामा रहेको जनाएको छ ।

भारतीय सेनाको ‘सर्जिकल स्ट्राइक’

लामो समयदेखि विवादमा रहेको कश्मीरमा दुबै मुलुकले आ–आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरको एक भाग जम्मु र कश्मीर राज्य अन्तर्गत भारतको प्रशासनमा छ भने आजाद कश्मीर र गिल्गिट बाल्टिस्तान प्रान्त पाकिस्तानको प्रशासनमा छ ।

त्यसबाहेक अक्साई चीनको सानो भूभाग चीनको प्रशासनमा रहँदै आएको छ । कश्मीरको दुई मुलुकबीच र्साभौमिकताको विवादमा रहेको सियाचिन हिमनदी क्षेत्रलाई दुबै मुलुकले आ–आफ्नो भनी दाबी गर्दै आएका छन् ।

पछिल्लो केही समय यता भारत प्रशासित कश्मीरमा पाकिस्तानबाट सञ्चालित इस्लामिक अतिवादीले त्यहाँ सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आतंकवादी आक्रमण गर्दै आएका छन् । पुलावामामा भारतीय अर्धसैनिकलाई निशाना बनाएर पाकिस्तानमा सक्रिय रहेको जैश–ए–मोहम्मदले गरेको पछिल्लो आक्रमणलाई पनि यसैको श्रृङ्खलाको रुपमा लिइएको छ ।

कश्मीरमा भारतले पाकिस्तानबाट सञ्चालित अतिवादीलाई ठूलो सुरक्षा चुनौतीको रुपमा लिँदै आएको छ । कश्मीरको मामिलामा पाकिस्तानमाथि भारतको आरोप के छ भने पाकिस्तान— पाकिस्तानको पनि खासगरी गुप्तचर निकाय इन्टरसर्भिस इन्टिलिजेन्स आईएसआईले कश्मीरमा आतंकवादीलाई रणनीतिक सम्पत्तिको रुपमा प्रयोग गर्दै आएको छ ।

यो कुरा भारतीय अधिकारीहरु सार्वजनिक रुपमै भन्दै आएका छन् । पाकिस्तानले भने यसको खण्डन गर्दै आएको छ । पाकिस्तानलाई आधार बनाएर आतंकवादी गतिविधि फैलाइरहेको जैश–ए–मोहम्मद र अन्य भारतविरोधी आतंकवादी संगठनहरुले लामो समयदेखि भारत प्रशासित कश्मीर तथा भारतका अन्य शहरहरुमा पनि आतंकवादी आक्रमण गर्दै आएका छन् ।

भारतले लामो समयदेखि पाकिस्तानलाई आफ्नो मुलुकभित्र रहेका आतंकवादी संगठनलाई समाप्त पार्न आग्रह गर्दै आएको भए पनि पाकिस्तानले भने यस विषयमा भारतलाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन । पाकिस्तानले आफ्नो भूमिमा सक्रिय आतंकवादीलाई परास्त गर्न नसकेपछि भारत आफैँले पाकिस्तानको भूमिमा पसेर हवाई आक्रमण गरेको छ ।

भारतले पाकिस्तानको सीमाभित्र पसेर गरेको हवाई आक्रमण कति व्यवहारिक छ ? हवाई आक्रमणपछि कति आतंकवादी मारिए ? आक्रमणले भारतविरुद्ध हुन लागेको भनिएका कति आक्रमण विफल भए भन्ने बारेको आधिकारिकता पुष्टि हुन सकेको छैन । तर, पाकिस्तानको भूमिमै प्रवेश गरी गरिएको भारतीय हवाई आक्रमणले रणनीतिक सन्देश दिएको छ– ‘आफ्नो मुलुकलाई आधार बनाएर भारतविरोधी आतंकवादी गतिविधिमा संलग्न समूहलाई परास्त गर, नत्र हामी तिम्रो भूमिभित्रै पसेर सैनिक आक्रमण गर्ने क्षमता राख्छौँ ।’

यो हवाई आक्रमणपछि भारत र पाकिस्तानबीच अर्को ठूलोस्तरको युद्ध हुनसक्ने संभावना रहेको टिप्पणी भइरहेका छन् । यसबीचमा प्रश्न उब्जिएको छ– के भारत र पाकिस्तानबीच यसअघि भएजस्ता ठूलो स्तरमा युद्ध होला त ?

इतिहासलाई फर्केर हेर्दा सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चार पटक भारत र पाकिस्तानबीच युद्ध भएका छन् । चारमध्ये तीन युद्धहरु सन् १९४७ को युद्ध, सन् १९६५ को युद्ध र सन् १९९९ को युद्ध कश्मीरको विषयलाई लिएर भएका थिए भने सन् १९७१ को युद्ध तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिले अस्तित्वमा रहेको बाङ्लादेशको स्वतन्त्रताको विषयलाई लिएर भएको थियो । यदि यसपटक पनि भारत र पाकिस्तानबीच युद्ध भएमा यो पनि कश्मीरको विषयलाई लिएर हुने चौथो युद्ध हुनेछ ।

तर, के भारत वा पाकिस्तान एकअर्काविरुद्ध ठूलो स्तरको युद्ध चाहन्छन् ? त्यो तत्काल सम्भव देखिन्न । दुबै मुलुक आणविक शक्ति सम्पन्न छन् । दुई मुलुकबीच ठूलोस्तरको युद्ध भएमा त्यो आणविक हतियारको स्तरसम्म पुग्ने र यसबाट जनधनको अकल्पनीय क्षति हुने कुरामा दुबै मुलुक जानकार छन् । यसकारण ठूलोस्तरको युद्ध दुबै मुलुकको हितमा छैन र देखिदैन पनि ।

साँच्चै भन्दा पाकिस्तानमाथि भारतलाई आक्रमण गर्न रोकिरहेको त्यस्तो कुनै शक्ति छ भने त्यो पाकिस्तानको आणविक हतियार नै हो । पाकिस्तानसँग आणविक हतियार नहुँदो हो त भारतले पाकिस्तानविरुद्ध उहिल्यै ठूलोस्तरको युद्ध गरेर परास्त गरिसक्थ्यो । यो कुरा भारत र पाकिस्तानका सैनिक विश्लेषकहरु पनि स्वीकार गर्छन् ।

ठूलै स्तरको युद्ध होला त ?

पछिल्ला केही वर्षयता भारत र पाकिस्तान दुबै मुलुकले लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरिसकेका छन् । पाकिस्तानाबाट भारत र भारतबाट पाकिस्तानसम्म मार हान्न दुबै मुलुकलाई सकस त छैन । तर, यस्तो आक्रमणबाट हुने सम्भावित क्षति बारे दुवै मुलुक जानकार छन् र यसबाट हुने क्षति दुबै मुलुकको अहित हुने उनीहरु बुभ्दछन् ।

भारत र पाकिस्तानबीच हुने युद्धले दुबै मुलुकको अर्थिक क्षेत्र तहस–नहस हुनेछ । पाकिस्तानले भारतको मुख्य शहरलाई निशाना बनाएर आक्रमण गरे त्यसले बेलायतलाई उछिँन्दै विश्वको पाचौँ ठूलो अर्थतन्त्र बन्ने दाउमा रहेको भारतको आर्थिक क्षेत्रमा ठूलो नोक्सानी पु¥याउने छ । अर्कोतर्फ भारतीय आक्रमणले उसैपनि आर्थिक संकटको सामाना गरिरहेको पाकिस्तानको अर्थतन्त्र थप नाजूक अवस्थामा पुग्ने देखिन्छ ।
पाकिस्तानको आर्थिक अवस्था निकै कमजोर छ ।

पछिल्लो समय साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पाकिस्तानको भ्रमण गरी पाकिस्तानलाई आर्थिक सहायता दिने बचन दिएपछि पाकिस्तानलाई केही राहत मिलेको छ । यसले पाकिस्तानको आर्थिक अवस्था कस्तो छ भन्ने दर्शाउँछ । यस्तो आर्थिक अवस्थामा रहेको पाकिस्तानले भारतविरुद्धको युद्ध धान्ने संभावना छैन र देखिँदैन ।

पछिल्लो समय भारत र अमेरिकाबीचको सम्बन्ध पनि खासै राम्रो नरहेको बताइन्छ । भारतले रुससँग ‘एस–४००’ हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणाली खरिद गरेको विषयदेखि, इरानसँग तेल खरिद सम्झौता गरेको विषय र पछिल्लो समय अमेरिकाले चाहेको मानिस हुआँ गुआइदोलाई भेनेजुएलाको राष्ट्रपतिको मान्यता दिन अस्वीकार गरेसम्मका घटनाको विश्लेषण गर्दा अमेरिका–भारत सम्बन्ध राम्रो रहेको देखिंदैन ।

यसबाट पाकिस्तानविरुद्धको युद्धमा अमेरिकाले भारतलाई सहयोग गर्ला नगर्ला भन्ने प्रश्न पनि उब्जिन सक्छ । सबैभन्दा नजिकको सैनिक साझेदार रहेको नाताले अमेरिकाले पाकिस्तानविरुद्धको युद्धमा भारतलाई साथ दिन्छ भन्ने आम मानसिकता रहेपनि अमेरिका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट छ भन्ने टिप्पणी चर्चामा छन् । यस्तै टिकाटिप्पणीबीच भारतमा चुनाव हुन लागेका बेला भारत र पाकिस्तानको युद्ध भए प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस्तो युद्धले ठूलो प्रोपागाण्डा जित दिलाउने छ । यस्तो अवस्थामा मोदीलाई प्रोपागाण्डा जित दिलाउनका लागि अमेरिकाले भारतलाई युद्धमा साथ दिने कुरामा पनि शंका छ ।

आक्रमणपछिको प्रतिक्रिया

भारतीय सेनाको हवाइ आक्रमणपछि भारतीय सञ्चारमाध्यमले सेनाको बहादुरीको प्रसंशा गरिरहेका छन् । पुलावामा आक्रमणपछि भारतमा पाकिस्तानविरोधी भावना चर्किरहेका बेला भारतीय सेनाले पाकिस्तानमा हवाई आक्रमण गरेपछि यसले भारतीय जनस्तरमा खुशी मिलेको छ ।

भारतीय टेलिभिजन च्यानलहरुमा ‘घरमें घुस के मारा’ किसिमका हेडलाइनहरु आइरहेका छन् भने यो आक्रमणले नजिकै रहेको महत्वपूर्ण आम चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनतासमक्ष केही भन्ने बाटो मिलेको छ ।

पुलावामामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानमा जवफी आक्रमण गरेर भारतीय जनतामाझ कूशल नेताको रुपमा चित्रित गर्ने अवसर प्रधानमन्त्री मोदीलाई मिलेको छ ।

अर्कोतर्फ भारतीय लडाकु विमानले पाकिस्तानमा पसेर गरेको भनिएको आक्रमणलाई पाकिस्तानी वायुसेनाले परास्त गरेको ‘न्यारेटिभ’मा पाकिस्तानी सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् । पाकिस्तानी उच्च अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले उक्त घटनामा कुनै हताहती नभएको समेत जनाएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय पाकिस्तानी नागरिकहरुको मनोविज्ञान बुझ्दा उनीहरुमध्ये अधिकांशले पाकिस्तानी सेनाले भारतीय सेनालाई बहादुरीपूर्वक लखेटेको ठान्छन् । यसले पाकिस्तानी नागरिकमाझ पाकिस्तानी सेनाको छवि पनि उँचो बनाएको देखिन्छ । यसले पाकिस्तानीमाझ आफ्नो सेनाप्रतिको लगाव र चाह कम भएको छैन । बरु बढेको छ ।

भारतले पाकिस्तानभित्र गरेको भनिएको आक्रमणले मुलुकमा आफ्नो लोकप्रियता नघटोस् भन्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खान चाहन्छन् । त्यसैले उनले तत्काल आफ्नो मुलुकको सेनालाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् । यदि भारतले पाकिस्तानमाथि पुनः आक्रमण गर्‍यो भने पाकिस्तान जवाफ दिन तम्तयार छ भन्ने  यसले पुष्टि गर्दछ ।

अन्त्यमा, पुलावामामा आतंकवादी आक्रमणपछि भारतको उद्देश्य पाकिस्तानविरुद्ध सानो स्तरको सैनिक आक्रमण गरी सन्देश दिनु थियो । त्यो पुरा भइसक्यो । अब भारतले पाकिस्तानलाई उत्तेजित बनाउन ठूलोस्तरको युद्ध चाहँदैन । यता पाकिस्तान पनि  ठूलो स्तरको युद्ध होस् भन्ने मनसायमा देखिँदैन । युद्ध दुबै मुलुकको अहितमा छ भन्नेमा उनीहरु जानकार छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : ०० बजे

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ