वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण हुँदै | Khabarhub Khabarhub

वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण हुँदै


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो ।

निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ । पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

यस्तै बालगोपालश्वर मन्दिरको पुनःनिर्माणको कामसमेत तीव्ररूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पार्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए ।

उनले भने, ‘वैशाखसम्ममा नागरिकले पुरानै शौलीको रानीपोखरी देख्न पाउनेछन् ।’ बाँकी काम पनि नियमितरूपमा भइरहेको छ ।

शुरुवातमा काठमाडौँ महानगरपालिले पुनःनिर्माण गर्ने भनिए पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काममा ढिलाइ भएको हो ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।

मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । दश महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी प्राधिकरणले निर्माण कम्पनी ‘सिएर तुलसी कन्स्ट्रक्शन जेभी’सँग सम्झौता गरेको छ ।

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गुम्बज शैलीमा गरिएको सो मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिट हुनेछ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा पोखरी निर्माण गर्न लगाएका हुन् ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको बताइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : १८ बजे

राष्ट्रियसभा : विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र

नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन 

काठमाडौं– सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौं– गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा

कालीगण्डकीमा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो 

काठमाडौं– म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम