संसारकै सबैभन्दा सुरक्षित शहरमध्येमा पर्ने हङकङमा पछिल्लो समय लोकतन्त्रवादी अभियानका क्रममा प्रदर्शन चर्काइएको छ । विवादास्पद सुपुर्दगी विधेयकको विरोधबाट शुरु भएको आन्दोल अधिक लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता तथा स्वायत्ततामा केन्द्रित भएर चर्किएको छ ।
विगत १२ सातादेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिन थालेको छ । प्रहरीको दमनका बाबजुद पनि प्रदर्शनकारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । अघिल्लो सातामात्रै प्रदर्शनकारीले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिइ हवाई सेवा ठप्प पारेका थिए ।
गत आइतबारमात्र हङकङ प्रहरीले प्रदर्शनकारी माथि गोली चलाएका थिए । हङकङ प्रदर्शनमा प्रहरीले गोली चलाएको यो पहिलो पटक हो । त्यसबाहेक प्रहरीले अश्रुग्यास, पानीको फोहोरा तथा अन्य भीड नियन्त्रणका उपाय समेत अपनाउँदै आएका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप भएको छ भने हिंसात्मक प्रदर्शन आइतबार उत्कर्षमा पुगेको थियो । प्रहरीको दमनपछि दर्जनौं प्रदर्शनकारी घाइते भए । अर्कोतर्फ प्रदर्शनकारीले प्रतिकार गर्दा दर्जन बढी प्रहरी घाइते समेत भएका छन् । दबाबकाबीच पनि प्रदर्शनकारीले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
प्रदर्शनबाट भयभीत भएको चीनले आन्दोलनलाई मत्थर बनाउन हङकङको सीमा क्षेत्रमा सैन्य अभ्यास समेत शुरु गरिसकेको छ । यो अवस्थामा पनि प्रदर्शनकारी आफ्नो आन्दोलनबाट पछि हटेका छैनन् ।
प्रदर्शनको अग्रमोर्चा सम्हाल्दै आएका प्रदर्शनकारी प्रदर्शनमा बढ्दो हिंसालाई स्वभाविक ठान्छन् । ती मध्यका एक प्रदर्शनकारी हुन– पुन ।
पुन आफूले आफूलाई चिनाउँदा हङकङको शान्तिप्रिय, मध्यमवर्गीय विद्यार्थीको रुपमा चिनाउँछन् । गत जुन महिनाको शुरुबाट भने उनी आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई नै दाउमा लगाएर प्रदर्शन गर्ने तथा प्रहरीमाथि इट वर्षाउँदै आएका छन् । उनको लागि यो लडाईं शहरको स्वतन्त्रताका लागि हो ।
‘मलाई थाहा छ, हिंसाले हिंसालाई हराउन सक्दैन, तर कहिलेकहीँ सरकार र अरुको ध्यान खिच्नका लागि यसको आवश्यकता पर्छ ।’ २२ वर्षे पुनले गत साता शहरको विमानस्थलमा प्रहरीसँगको झडप पछि भनेका थिए ।
‘प्रदर्शनका क्रममा मैले ढुङ्गा प्रहार गरेको छु, म अरुका लागि ढालको रुपमा उभिएको छु, सडकमा छेकबार लगाउन, सहायता सामग्री ल्याउन सहयोग गरिरहेको छ, घाइतेलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेको छु । मैले प्रहरीको लाठी पनि खाएको छु । हामी विस्तारै यसमा अभ्यस्त बन्दै छौं । हामी अभ्यस्त हुनैपर्छ ।’
यसअघि बेलायतको उपनिवेश रहेको हङकङमा गत जुन महिनाको शुरुबाट चीनतर्फ संदिग्ध अपराधीलाई मुद्दा खेप्नका लागि सुपुर्दगी गर्न ल्याइएको विवादास्पद विधेयकको विरोधमा प्रदर्शन शुरु भएको थियो । यो विधेयक हाल स्थगित भएपनि हङकङमा प्रदर्शन भने रोकिएको छैन ।
तर, सन् १९९७ मा चीनलाई हस्तान्तरण गरेपछि लागू गरिएको ‘एक मुलुक दुई प्रणाली’ को मातहतमा हङकङका वासिन्दालाई प्राप्त स्वतन्त्रतामा विस्तारै क्षय हुँदै गएको भन्ने चिन्ताका कारण त्यहाँको प्रदर्शन अझ चर्किदै गएको छ ।
सन् २०१४ को शान्तिपूर्ण छाता आन्दोलनले ७९ दिनसम्म हङकङको वित्तीय क्षेत्रमा कब्जा जमाएपनि आन्दोलनको प्रमुख उद्देश्य सर्वव्यापी मताधिकार प्राप्त गर्न असफल भएको थियो । त्यसकारण यो प्रदर्शनको शुरुबाट नै केही प्रदर्शनकारीहरु प्रदर्शनका क्रममा आक्रमक बन्दै आएको देखिन्छ ।
उनीहरु हेल्मेट, मास्क र चश्मासहित प्रदर्शनको अग्रमोर्चाका प्रदर्शनकारीलाई विभिन्न उपकरण पुर्याउने तथा प्रहरीको अश्रुग्यासको प्रभाव कम गर्ने विस्तृत योजनासहित प्रदर्शनमा उत्रिने गरेका छन् ।
र, यसबाट केही नतिजा पनि प्राप्त भएको छ । प्रदर्शन शुरु भएको केही दिनभित्रै त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामले प्रदर्शनकारीको माग बमोजिम उक्त विधेयक औपचारिक रुपमा फिर्ता नलिए पनि यसलाई अनिश्चितकालसम्मका लागि स्थगित गर्न बाध्य भएकी थिइन् ।
त्यसयता प्रदर्शन अभियान अझ विस्तृत, सिर्जनात्मक तथा अधिक लोकतन्त्रका लागि जोड दिँदै अझ जटिल र व्यापक बन्दै गएको छ । यसले चिनियाँ राष्ट्रपति सी जिन्पिङका लागि हालसम्मकै सबैभन्दा ठूलो राजनीतिक चुनौत समेत पेश गरेको छ ।
प्रदर्शनकारीले प्रहरीसँग मुसा–बिरालोको खेलजस्तै आफ्नो आक्रमकतालाई एकपछि अर्को गरी तीब्र पारिरहेका छन् । गत आइतबारको विशाल र्याली शान्तिपूर्ण रहे पनि अभियानकर्मीहरुले आगामी दिनमा हिंसात्मक प्रदर्शन हुनसक्ने कुरालाई पनि अस्वीकार गरेका छैनन् ।
‘हामीले छाता क्रान्तिका गल्तीबाट धेरै कुरा सिकेका छौं ।’ पुनले भने । ‘अवश्यपनि, धेरै मानिसहरु आउने दिनहरुमा केही हिंसात्मक गतिविधिमा बृद्धि हुने कुरामा सहमत छन् । उनीहरुले हामीलाई मन नपराउन सक्छन्, उनीहरु हाम्रो साथमा होलान् वा नहोलान्, तर उनीहरु हाम्रो विरोध गर्दैनन् । हामी एकीकृत शक्तिका साथ अघि बढिरहेका छौं ।’
बाटो हिड्नेहरुले प्रदर्शनकारीलाई हेल्मेट, मास्क उपलब्ध गराउने गरेका छन् भने उनीहरुलाई सुरक्षित स्थानमा जानका लागि सहयोग समेत गर्छन् । प्रदर्शनका क्रममा एम्बुलेन्स, दमकलको व्यवस्था गरिएको छ । केही छिटफुट घटनाबाहेक कुनै निजि सम्पत्तिमा क्षति पुर्याइएको छैन ।
प्रदर्शनका क्रममा वान चाइ रात्रिकालीन जिल्लामा बच्चासहितको जोडीले सामान्य शैलीमा प्रदर्शनकारीले भरिएको बाटो काटे । हावामा अश्रुग्यासको गन्ध रहेपनि मानिसहरुले बियर र चुरोट खाइरहेका थिए । प्रदर्शन चलिरहे पनि फिलिपिनो घरेलु कामदारहरुले आकाशेपुलमा बनभोज खाइरहेका थिए ।
‘बर्लिन र पेरिसको तुलनामा यहाँको प्रदर्शन शान्त छ ।’ ४० वर्षे फ्रेन्च एअर ट्राफिक कन्ट्रोलर रोबर्टले बियरको चुस्की लिँदै भने । अनुशासन र सुरक्षा व्यवस्था अपनाएका कारण अभियानको उग्र धारले शान्तिपूर्ण प्रदर्शनकारीको समर्थन प्राप्त गरिरहेका छन् ।
शोधकर्ताहरुले छाता आन्दोलन असफल हुनुमा अभियानका नेताहरुबीच रहेको कटुता पनि एउटा कारण रहेको देखाएका छन् । पुराना धारका विधायकहरुसहितका केही शान्तिपूर्ण अभियानकर्ताहरुले दीर्घकालका लागि सार्वजनिक दबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गर्नुपर्ने मत राख्दै आएका थिए भने जोशुवा वाङ जस्ता युवा विद्यार्थी अभियानकर्ताहरुले भने आक्रमक शैलीमा प्रदर्शनलाई अघि बढाउनुपर्नेमा जोड दिँदै आएका थिए ।
यसपटक भने विकेन्द्रीकृत प्रदर्शन अभियानले हरेक गुटलाई आ–आफ्नो रणनीति अपनाउन छुट दिएको छ । गत आइतबार दर्जनौं अग्रमोर्चामा नरहेका प्रदर्शनकारीसँग रोयटर्सले कुराकानी गरेको थियो । उनीहरुले हिंसात्मक प्रदर्शनलाई ‘स्वीकार गर्ने’, ‘समर्थन गर्ने’ वा ‘असहमत रहेको’ प्रतिक्रिया दिएका थिए । तर, प्रायः सबैले हिंसात्मक आन्दोलनको ‘विरोध नगर्ने’ बताएका थिए ।
‘हरेक आ–आफ्नो शैली अनुसार काम गर्छन्, यो नतिजामुखी छ । म यस (हिंसात्मक प्रदर्शन) लाई स्वीकार गर्छु ।’ आफ्नी श्रीमती तथा ७ वर्षे छोरासहित प्रदर्शनमा सहभागी ३८ वर्षे ग्लेन होले भने । खुद्रा व्यापारमा काम गर्ने उनी प्रदर्शन हिंसात्मक बन्नुअघि प्रर्दशनको हुलमुलबाट टाढा जान्छन् ।
हङकङका विभिन्न विश्वविद्यालयले जुन ९ देखि अगष्ट ४ सम्म विभिन्न १२ घटनास्थलमा पुगी गरेको अध्ययन अनुसार प्रदर्शनका अधिकांश सहभागीहरु ‘शान्तिपूर्ण सभा र आक्रमक कदमलाई निरन्तरता दिएमा मात्र अधिकतम प्रभाव पार्न सकिने’ स्वीकार गर्छन् ।
अध्ययनले सरकारले समस्याको सम्बोधन नगरेको खण्डमा प्रदर्शनकारीले हिंसाको प्रयोग गर्नु स्वभाविक रहेको भन्ने कुरा स्वीकार गर्ने मानिसहरुको सङ्ख्या ६९ बाट बढेर ९० प्रतिशत पुगेको समेत देखाएको छ ।
सोही अध्ययन अनुसार यसअघि जुन महिनामा १२.५ प्रतिशत मानिसहरुले हिंसाको प्रयोग गर्न नहुने बताएकोमा हाल १ प्रतिशतले मात्र हिंसाको प्रयोग अस्वीकार्य रहेको बताउने गरेका छन् । ‘अब हामी गतिला हङकङे रहेनौं ।’ मजदुर वर्गको बाक्लो बसोबास रहेको टाइ वाई क्षेत्रमा प्रदर्शनका लागि छेकबार लगाइसकेपछि २३ वर्षीया अइरिशले भनिन् ।
‘सरकारले हामीलाई यो बाटो समात्न बाध्य पारेको हो । हामी यस्तो चाहँदैनौं । स्थायी रुपमा घरमा शान्तिसँग बस्न, तीन छाक खान र पैसा कमाउन कसलाइ मन हुन्न ?’ उनले भनिन् ।
गत आइतबार आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक समूहले प्रहरी चौकी नजिकै अपशब्द प्रयोग गरी चिच्याइरहेका थिए । १७ लाख जनाको सहभागिता रहेको उक्त प्रदर्शनमा सहभागी एक जनाले उनीहरुलाई प्रदर्शन शान्तिपूर्ण हुनुपर्ने भनी सम्झाएका थिए । त्यसपछि अपशब्द बोल्ने उनीहरु पछि हटेका थिए ।
‘हामीलाई समर्थन गर्ने शान्तिपूर्ण प्रदर्शनकारीलाई हामी पनि यसरी नै समर्थन गर्दै आएका छौं ।’ आँखाबाहेक पूरा अनुहार कालो मास्कले छोपेका २६ वर्षे भिक्टरले भने ।
मंगलबार त्यहाँकी प्रमुख कार्यकारी क्यारी लाम एक कदम पछि हट्दै प्रदर्शनका क्रममा प्रहरीको व्यवहारबारेको उजुरीलाई त्यहाँको कार्यदलले अनुसन्धान गर्ने बताइन् । यद्यपि प्रदर्शनकारीले भने प्रदर्शनका क्रममा प्रहरीको व्यवहारबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।
सिड्नी विश्वविद्यालयमा विगत तीन वर्षयता हङकङको प्रदर्शनबारे अध्ययन गर्दै आएकी अमाण्डा टाटर्सलका अनुसार प्रदर्शन अभियानमा बहुमतमा रहेका शान्तिपूर्ण प्रदर्शनकारी तथा आक्रमक समूहहरु केही समययता एक अर्कामा निर्भर रहँदै आएका छन् ।
यसले हिंसा अस्थीरता र अराजकता निम्त्याउन भन्दा पनि सामरिक उद्देश्यका लागि प्रयोग गरिनेमा सुनिश्चित गर्छ ।
‘यो अभियान तथाकथित हिंसात्मक मामिलामा एक हदसम्म अनुशासित देखिन्छ ।’ उनले भनिन् ।
-रोयटर्सबाट अनुवादित
प्रतिक्रिया