ललितपुर–पाटन दरवार क्षेत्र भ्रमणमा आउने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेश पास प्रदान गरिएको छ ।
४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पाटन दरवार क्षेत्रमा पहिला प्रवेश गर्ने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले शुक्रबार बिहान पाटन दरवार क्षेत्रमा सबै भन्दा पहिलो आउने ३० जना पर्यटकहरुलाई टोपी र दोसल्ला ओढाएर स्वागत गर्दै प्रवेश पास समेत वितरण गरिन् ।
शुरुमा आउने ३० पर्यटकहरुलाई प्रबेश पासका अलवा चिया कफीको गिफ्ट भौचर, एक दिनको डिनर कुपन समेत प्रदान गरिएको थियो ।
ललितपुरको कला, संस्कृतिको प्रवर्द्धन गर्दै भिजिट नेपाल २०२० को प्रवर्द्धनमा समेत सहयोग पुर्याउने लक्ष्यका साथ सबैभन्दा पहिला आउने पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको महानगरका संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।
शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा हाकुपटासीमा सजिएर उपस्थित भएका नेवारी महिलाहरुले धिमे बाजामा परम्परागत नृत्य देखाएर पर्यटकहरुलाई स्वागत गरेका थिए ।
त्यस्तै लाखे नाच समेत प्रदर्शन गरिएको थियो । पर्यटकहरुलाई स्वागत गर्न ज्यापू समाजका अध्यक्ष चन्द महर्जन सहितका प्रतिनिधिहरु, बौद्ध बिहार संघ, चाईनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको प्रतिनिधिहरु उपस्थित भएका थिए ।
पर्यटन दिवसको अवसरमा शुक्रबारदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेष्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुट दिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया