सुवासको संघर्ष : गल्फरले हानेको बल टिप्ने जागीरदेखि गल्फकै स्वर्ण विजेतासम्म « Khabarhub

सुवासको संघर्ष : गल्फरले हानेको बल टिप्ने जागीरदेखि गल्फकै स्वर्ण विजेतासम्म



१३ औं दक्षिण एसियाली खेलकुद (साग) हुनु अगाडि नेपाल गल्फ संघका अध्यक्ष टाँसी घलेले भनेका थिए,‘सागमा गल्फले स्वर्ण जित्न सकेन भने तत्काल पदबाट राजीनामा दिनेछु ।’

अध्यक्ष घलेले त्यतिकै यति ठूलो प्रतिवद्धता जनाएका भने थिएनन् । उनले साग खेल्ने गल्फ टिममा त्यो क्षमता देखेका थिए । अझ भनौं उनलाई व्यक्तिगततर्फ स्वर्ण जित्न सफल सुवास तामाङ र उनको टिमका खेलाडीहरुमाथि विश्वास थियो ।

खेलाडीहरुले पनि घलेको घोेषणा अनुसार खेले । सुवासले व्यक्तिगतमा स्वर्ण जितेभने टिमतर्फको स्वर्णमा पनि कब्जा जमाए । गल्फमा दुई स्वर्ण जितेसँगै अब गल्फ संघका अध्यक्ष घलेका लागि थप जिम्मेवारी थपिएको छ ।

उनी आफ्नो प्रतिवद्धतामा सफल भएका छन् । तर, सुवास र उनको टिमसँगै गल्फलाई माया गर्ने सबैको साथले सफलता हात पारेको घले बताउँछन् ।

‘मैले सुवासको लगनशिलता र उनको टोलीका अन्य खेलाडीहरुको मेहनत देखेको थिए । त्योसँगै सबैकुरा हामीले सोचे अनुरुप अगाडि बढ्दा सफलता हात पार्न सक्यौं,’ अध्यक्ष घलेले भने ।

गल्फसँग सुवासको नाता

उत्तम तामाङ दिनभरी ज्यालादारीमा व्यस्त हुन्थे । उनकी शारीरिक रुपमा कमजोर(अपाङ्ग) श्रीमती सानुमाया तामाङ छोराको स्याहारसँगै सकेजति घरको कामका खट्थिइन् । ललितपुरको भारदेउ गाउपालिका वडा नम्बर ५ कुञ्जेसोमा तामाङ दम्पतीको एक छोरा र दुई बुढाबुढीको सानो परिवार थियो ।

छोरा नौं बर्षमा लागेका थिए, काठमाडौंमा बस्ने सानुमायाकी बहिनीले श्रीमान् श्रीमती नै काम गर्न जानेभएपछि आफ्नो बच्चा हेर्ने मान्छेका रुपमा सुवासलाई काठमाडौं पठाइदिन आग्रह गरिन् । तामाङ दम्पतीले पनि नाइ भन्न सकेनन् । पठाइदिए ।

९ वर्षकै उमेर तामाङ दम्पतीबाट टाढिएका छोरा हुन्, गल्फर सुवास तामाङ । कुञ्जेसोमकै स्कुलमा तीन कक्षामा पढ्दै गर्दा सानीमा (आमाकी बहिनी) को घरमा बसाई सरेका उनको संघर्ष असामान्य लाग्छ ।

टिनले छाएको घर, शारीरिक अपाङ्ता भएकी आमा र आफूले पढ्न नपाउनुलाई आफ्ना समस्या भन्दा पनि नियतिको खेल ठान्छन् उनी । तर, अहिले जुन स्थानमा सुवास उभिएका छन् उनी नयाँ सपना देख्न थालेका छन् ।

अझै पनि सुवासको पहिलो प्राथमिकतामा घर बनाउने, बुबा आमालाई खुसी साथ राख्ने र सानो भाइलाई बोर्डिङ स्कुलमा पढाउने रहेको छ ।
सानै उमेरमा घरबाट टाँढिएका सुवासलाई समयले जता लग्यो उनी त्यतै तिर लागे । २ बर्ष कालिमाटीमा सानीआमाको घरमा बसे । पछि उनी माइजुको घरमा बस्न थाले ।

एकदिन सुवास रोयल नेपाल गल्फ क्लब(आरएनजीसी) मा काम गर्ने विनोद तामाङ (उनकी माइजुको छोरा) लाई खाना पु¥याउन गएका थिए । त्यहिँ भेटिए श्याम तामाङ । श्याम तामाङ गल्र्फ क्लबमा काम गर्थे ।

उनले सुवासलाई देख्नेवित्तिकै गल्फ क्लबमा काम गर्छौं भने । उनी पनि कामको खोजिमा थिए । घरको समस्या देखेका थिए । ‘म विनोद (तामाङ) दाईलाई खाना पुर्याउन गएको थिए । श्याम तामाङ दाइले काम गर्छौं भन्नु भयो,’ सुवासले भने,‘काम पाएपछि कस्ले गर्दैन र ? मैले पनि हुन्छ भने ।’

अध्यक्ष घलेले लिएको सुवासको त्यो परीक्षा !

११ बर्षको उमेर हुँदा सुवास रोयल नेपाल गल्फ क्लबमा काम गर्न थाले । उनले पाए ४ हजार रुपैया मासिक तलब । उनको काम थियो, गल्फ क्लबमा आएका गल्फरले प्रहार गरेको बल टिप्नु ।

उनको दैनिकी बिहान ६ बजेदेखि सुरु भएर १२ बजेसम्म चल्थ्यो । त्यसपछि फेरि दोस्रो लट सुरु हुन्थ्यो । बेलुका ६ बजेसम्म उनको काम नै त्यही हुन्थ्यो ।

‘दिनभरी त्यही काम गर्थे । बल टिप्यो । दियो । सुरुसुरुमा दिक्क लाग्थ्यो । तर, विस्तारै काम नै यही भएपछि मन लाग्न थाल्यो,’ सुवासले भने ।
गल्फ क्लबमा काम थालेको ६ महिना भएको थियो । बल ब्बाईको काम गरिरहेका सुवासको परीक्षा लिए रोयल नेपाल गल्फ क्लबका क्याप्टेन टाँसी घलेले । उनले सुवासलाई गल्फको क्लप दिएर बल हान्न लगाएका थिए ।

उक्त गल्फ बल हाने पछि उनी घलेको नजरमा परे । त्यसपछि उनले शनिबारका दिन हुने युथ प्रोग्रामहरुमा सुवासले पनि गल्फको अभ्यास गर्न पाउने भए ।

‘क्लबमा काम गर्न थालेको ६ महिनाजति भएको थियो होला । मलाई टाँसी सरले गल्फ हान्न दिनु भयो । त्यो प्रहार राम्रो भएपछि उहाँले शनिबार–शनिबार हुने युथ जुनियरहरुको कार्यक्रममा अभ्यास गर्ने वातावरण दिनु भयो,’ सागका स्वर्णधारी सुवासले भने,‘सायद मेरो गल्फ यात्राको त्यो परीक्षा थियो । जुन मैले पास गरे ।’

सबैले साथ दिए

सुवासले रोयल नेपाल गल्फ क्लबमा अभ्यास थालेदेखि नै उनी निकै ‘डेडिकेटेड’ देखिन्थे । उनले अन्य कुरामा भन्दा खेलमा ध्यान दिए । कम पढेका कारण सुरुवाती दिनमा रोयल नेपाल गल्फ क्लबले उनीसहित विभिन्न युवाहरुलाई सिनामंगलस्थित एक स्कुलमा भर्ना गरेको थियो ।

सुवाससँगै भर्ना भएका युवाहरुले पढाइमा रुची दिएनन् । सबै पढाईभन्दा बाहिर रमाउन थाले । पढाइमा रुची नदिएपछि घलेले उनीहरुलाई गाली गरेका थिए । अन्य केटाहरु गल्फ क्लब नै छाडेर गए । तर सुवास बाहिर गएनन् । तर, उनी खेलमा लक्षित भए ।
संघले गल्फमा रुची भएका तर, आर्थिक समस्या भएका खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था गरेको थियो । सुवासले पनि छात्रवृत्ति पाए । जति खेल्दै गए त्यति नै धेरै मेहनत गर्न थाले ।

जहाँ–जहाँ पुगे सबैले आफूलाई साथ र सहयोग गरेको सुवास बताउँछन् । ‘मलाई सबैले सहयोग गरे । सबैभन्दा धेरै टाँसी सरले,’ कम बोल्ने र लजालु स्वभावका उनी मुसुक्क हाँस्दै भन्छन् ।

संघले विभिन्न प्रतियोगिताका लागि सुवासलाई विदेशमा खेल्ने अवसर पनि दिएको छ । १३ औं सागको अभ्यासमा रहँदा उनले राखेपबाट राम्रो सद्भाव पाएको बताए । रोयल नेपाल गल्फ क्लबबाट नेपाल गल्फ संघको पहलमै उनी नेपाली सेनाको गल्फ क्लबले उनलाई करारमा लिएको छ ।

पछिल्लो एक बर्ष उनी आर्मीको गल्फ क्लबमा छन् । उनको मेहतनले नै आर्मीले पनि उनमा लगानी गरिरहेको छ । अभ्यासको वातावरण खोजिरहेका उनका लागि आर्मीको गल्फ क्लब राम्रो प्लेटफर्म बनेको उनी बताउँछन् ।

१७ बर्षीय सुवासको अर्को बर्षदेखि आर्मीमा स्थायी रुपमा भर्ना हुनेछन् । अहिले उनी आर्मी क्लबमा करारमा छन् ।

नयाँ यात्रा सुरु भयो

१३ औं सागमा स्वर्ण जितेका सुवार आफूसँग कुनै योजना र सपना नभएको बताउँछन् । गरिबीले थिचेका उनले बुबाआमाका लागि राम्रो घर र भाइलाई पढाउने बाहेकको सपना देखेका छैनन् ।

तर, सागमा स्वर्ण जितेपछि सरकारले दिने भनिएको पुरस्कार रकम आएपछि घर बनाउने उनको योजना छ । ‘म पुरस्कारबाट आउने पैसाले घर बनाउनेछु ।’

स्वर्ण जितेका उनी विश्व चर्चित गल्फर अमेरिकी खेलाडी टाइगर वुड्सका फ्यान हुन् ।

गल्फरको यात्रा शुरु भएको बताउने उनी अबको १० बर्ष गल्फमै मेहनत गर्ने बताउँछन् । सुवासलाई आफ्नो जीवनको नयाँ यात्रा सुरु भएको महसुस भएको छ ।

‘मेरो जीवनको नयाँ यात्रा सुरु भएको छ । अब म गल्फमै १० बर्षजति मेहनत गर्छु,’ उनले खबरहरसँग भने,‘अहिले एमएच्युअरमा खेलिरहेको छु । प्रोफेसनलमा गएपछि एसियन गेम्स हुँदै गल्फको ‘इन्डिया’ टुरमा जाने लक्ष्य छ ।’

महङ्गो खेल मध्येको एक गल्फमा उत्कृष्ट प्रदर्शन गरिरहेका सुवासले अहिले प्रयोग गरेको गल्फ सेट १० बर्ष अगाडि टाँसी घलेले आफ्ना लागि भारतबाट ल्याएको सेट हो । उनले उक्त सेटलाई त्यतिबेला नै डेढ लाख भारतीय रुपौया खर्च गरेर किनेको खबरहबसँग बताएका छन् ।

सुवासको पारिवारिक अवस्था यस्तो कमजोर रहेछ भन्ने मैले पनि अहिले आएर मात्रै थाहा पाएको हुँ । संघले सहयोग गरिरहेको छ । तर, अहिलेको सुवासले प्रयोग गरेको सेट मैले १० बर्ष अगाडि आफ्ना लागि ल्याएको सेट हो,’ टाँसी घलेले भने ।

सुवासको पारिवारिक अवस्था कमजोर भएपछि स्वर्णधारी सुवासका लागि अहिले सहयोग गर्ने चहानेले रुचि देखाइरहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ४ : १३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई