चितवन– आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा १५ अर्ब ५२ करोड ६० लाख १३ हजार रुपैयाँ उठेको छ । त्यसैगरी आयकरमा ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि करमा ८७ करोड ४९ लाख ५४ हजार, ब्याज करमा ८ करोड ३ लाख १० हजार, बहाल करमा ४ करोड १३ लाख १७ हजार, स्वास्थ्य सेवा करमा २ करोड ७१ लाख ५० हजार र शिक्षा सेवा करमा १ करोड २० लाख ४४ हजार राजश्व सङ्कलन भएको छ ।
आर्थिक ऐनले छुट र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेपछि बहालकर, स्वास्थ्य र शिक्षा सेवा कर अघिल्लो आर्थिक वर्षको बाँकी बक्यौता मात्र उठेको उनले बताए । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार चालू आवको मसान्तसम्मका लागि ३० अर्ब १ करोड ३६ लाख ५३ हजारको राजश्व उठाउने लक्ष्य तोकिएको छ ।
गत आवमा कार्यालयले २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । हरेक वर्ष राजश्व बढ्दो छ । कार्यालयले चितवन जिल्ला र पूर्वी नवलपरासी हेर्दै आएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धि करमा आठ हजार ४३५ करदाता रहेका छन् ।
यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् । प्रमुख रिजालले कर्मचारी, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ एवं करदाताको सक्रिय सहभागिताका कारण वर्षेनी कर बढ्दै गएको बताए । कार्यालयले विभिन्न विधिबाट गोप्यरूपमा अनुगमनसमेत गरी कर छली गर्नेलाई कारवाहीसमेत गर्दै आएको छ ।
प्रतिक्रिया