नेपालका ५ जिल्ला चियामा आत्मनिर्भर, वार्षिक ३ अर्बको निर्यात « Khabarhub

नेपालका ५ जिल्ला चियामा आत्मनिर्भर, वार्षिक ३ अर्बको निर्यात



काठमाडौं– आज वैशाख १५ गते अर्थात् चिया दिवस । वि.सं. १९२० सालदेखि नेपालमा चिया खेती शुरु भएको पाइन्छ । चिया खेतीको विस्तारका लागि किसान, उद्योगी र व्यवसायीलाई प्रोत्साहन गराउने उद्देश्यले हरेक वर्ष वैशाख १५ गतेका दिन चिया दिवस मनाइँदै आएको पाइन्छ ।

चिया र कफीका क्षेत्रमा नियमन गर्ने निकायका रुपमा सरकारले हालसम्म मुख्य कार्यलयसहित १२ वटा कार्यालय खोलेको छ । झापास्थित विर्तामोडमा केन्द्रीय कार्यलय र पोखरामा प्रादेशिक कार्यालय रहेका छन् ।

त्यसैगरी इलाममा ३, पाँचथरमा १, तेह्रथुममा १, धनकुटाको हिलेमा १, सोलुखुम्बुको कागेलमा १, प्यूठानको बरडाडामा १ गरी हालसम्म १२ वटा कार्यलय रहेको चिया तथा कफी विकास वोर्डले जानकारी दिएको छ ।

चियाको उत्पादन गुणस्तरीय छ कि छैन ? कति उत्पादन हुन्छ ? उत्पादन के ले निर्धारण गरिरहेको छ ? त्यसलाई कसरी सहजीकरण गर्ने ? किसानहरुका समस्या के के छन् ? यस्ता विषयहरुलाई यी कार्यालयले हेर्दै आएका छन् ।

चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदे बाली हो । नेपालमा चियाको खेती १ सय ६० वर्ष पहिले इलामबाट शुरु गरिएको पाइन्छ । तर व्यावसायिक रुपमा भने २०२० सालपछि मात्र विस्तार भएको हो ।

झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम गरी ५ जिल्ला चियामा आत्मनिर्भर बनिसकेका छन् ।

यी जिल्लाबाट फैलिएको चिया खेती पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, कास्की, नुवाकोट, रामेछाप, ललितपुर, सोलु, संखुवासभा, ताप्लेजुङ जिल्लामा समेत फैलिएको छ । नेपालका ७७ जिल्लामध्ये १२ भन्दा बढी जिल्लामा हाल चिया खेती भइरहेको छ ।

वार्षिक कति उत्पादन ?

नेपालमा उत्पादन हुने चियाको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७०/७१ मा २ करोड १० लाख, ०७१/७२ मा २ करोड १ लाख, ०७२/७३ मा २ करोड ४२ लाख मेट्रिक टन चिया उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७०/७१ मा २० हजार हेक्टर क्षेत्रफलमा चिया रोपिएको थियो । त्यसैगरी ०७१/७२ मा २६ हजार हेक्टर क्षेत्रफलमा चिया रोपिएको थियो भने ०७२/०७३ मा साढे २७ हजार हेक्टर क्षेत्रफलमा चिया रोपिएको र ०७३/०७४ मा आइपुग्दा २८ हजार हेक्टर क्षेत्रफलमा चिया उत्पादन भइरहेको बोर्डले जनाएको छ ।

चिया निर्यातका क्षेत्रमा हेर्दा आर्थिक वर्ष ०७०/७१ मा ११ हजार ३५७ मेट्रिक टन, ०७१/७२ मा ११ हजार १४५ मेट्रिक टन, ०७२/७३ मा १३ हजार २९० मेट्रिक टन र ०७३/०७४ मा ११ हजार ७४५ मेट्रिक टन चिया निर्यात भइरहेको छ ।

नेपालबाट चिया निर्यात हुने देशहरुमा भारत, पाकिस्तान, बंगलादेश, जर्मन, अमेरिका, जापान रहेका छन् ।

नेपाल चिया खेतीमा आत्मनिर्भर भइसकेको बताउँदै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल भन्छन्–‘चियाका क्षेत्रमा हाम्रो उन्नती राम्रो छ, नेपालले वार्षिक ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ ।’

साथै नेपालले वार्षिक रुपमा ९ करोड मूल्य बराबरको चिया आयात गरिरहेको समेत उनले बताए । नेपालमै प्रशस्त मात्रामा चिया उत्पादन भइरहेको छ तर नेपालीहरुले विदेशी चिया आयात गरिरहेका छन् ।

आयातमा नेपाल डराउनु पर्ने अवस्था नरहेको खनालको भनाइ छ । ‘विश्वका सामान आउनुपर्छ, आयातलाई प्रतिस्थापन गर्नुहुदैँन, बजार प्रतिस्पर्धात्मक हुनुपर्छ’ निर्देशक खनालले खबरहबसँग कुरा गर्दै भने ।

साना किसानको संलग्नता

चिया खेतीमा धेरै जसो साना किसान संलग्न रहेको पाइन्छ । बोर्डका अनुसार १५ हजारभन्दा बढी साना किसानहरुले चियाबाटै जीविकोपार्जन गरिरहेका छन् ।

चिया खेतीको उत्पादन हेर्दा आर्थिक वर्ष ०७२/०७३ मा साढे २ करोड मेट्रिक टन चिया उत्पादन भएकोमा लगभग १ करोड मेट्रिक टन साना किसानबाटै उत्पादन हुने गरेको निर्देशक खनालले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ०७ बजे

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि