दश वर्षअघि माइकल ज्याक्सनको निधन हुँदाको त्यो भयानक क्षण ! | Khabarhub Khabarhub

दश वर्षअघि माइकल ज्याक्सनको निधन हुँदाको त्यो भयानक क्षण !


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


सन् २००९ जुन २५ बिहीबार । दिउँसैदेखि पपस्टार माइकल ज्याक्सनको स्वास्थ्यमा समस्या आएको खबर चारैतिर फैलिसकेको थियो ।

मलाई थाहा छ, किनभने म ९० को दशकको लोकप्रिय ब्वाइ ब्याण्ड इष्ट १७ को कार्यक्रम हेर्न त्यतिबेला ग्लास्टनबरी म्युजिक फेस्टिभलको डान्स टेन्टमा जाँदै थिएँ ।

सो कार्यक्रम फेस्टिभल (महोत्सव) शुरु हुनुअघि ‘वार्म अप’का लागि हुँदै थियो ।

मेरा सम्पादकले मलाई फोन गरे । ‘माइकल ज्याक्सनलाई अस्पताल भर्ना गरिएको हुनसक्छ । उनी कोमामा हुन सक्छन्,’ सम्पादकले भने ।

सेलिब्रेटीका समाचार सार्वजनिक गर्ने ‘टिएमजी’ले यो खबरलाई सबैभन्दा पहिले  सार्वजनिक गरेको थियो ।

त्यतिबेलासम्म कसैलाई पनि समाचारमा कत्तिको सत्यता छ भन्ने थाहा थिएन । यसअघि पनि पप सङ्गीतका राजा ज्याक्सनबारे बेलाबेला अनौठा समाचार फैलिरहेका हुन्थे । केही साता अघिमात्र उनलाई छालाको क्यान्सर भएको भनिएको थियो । लगत्तै समाचारको खण्डन पनि गरियो ।

लगत्तै म काम गर्ने क्याबिनमा गएँ । र, माइकल ज्याक्सनबारे अपडेट खोज्न थालेँ ।

वास्तवमा के भइरहेको छ भन्ने जान्नका लागि लण्डन, लस एन्जल्स र विश्वभरका समाचार कक्ष लागिपरेका थिए त्यतिबेला । बीबीसीको लस एन्जल्स ब्यूरोले उनका प्रवक्ता, सहकर्मी र व्यावसायिक व्यवस्थापकहरुलाई फोन गर्‍यो । तर कसैले पनि त्यो समाचारको पुष्टि गर्न सकेनन् । केहीले त सीधै फोन राखिदिए ।

केही समयपछि सम्पादकले पुन: फोन गरे मलाई ।

‘अँ, टिएमजीले त उनी मरिसके भन्दैछ ।’

एउटा गहिरो श्वास ।

माइकल ज्याक्सन पछिल्ला ३० वर्षका सबैभन्दा ठूला पप स्टार थिए भन्दा शायदै दुई मत होला । उनको साङ्गीतिक महानता पनि निर्विवाद छ । तर, उनको जीवनका केही विवादित पाटाहरु पनि थिए  । उनीमाथि आरोप थिए – बाल यौन दुराचारको आरोप (आरोपबाट पछि सफाइ दिइएको), अनौठो चरित्र र व्यक्तिगत जीवन ।

त्यो अवस्थामा केही घण्टा अघि के भएको हो भन्ने विश्वलाई थाहा थिएन । तर, केही महिना र वर्षपछि भने उनको जीवनका अन्तिम दिनहरुमा के भएको थियो भन्ने स्पष्ट हुँदै गयो ।

त्यसबेला लण्डनको ओटू एरिनामा तय भएको ‘पुनरागमन कन्सर्ट’ शुरु हुन केही सातामात्र बाँकी थियो ज्याक्सनको । त्यसलाई सफल बनाउन उनीमाथि ठूलो दबाब पनि थियो ।

८३ मिनेट्स : द डक्टर, द ड्यामेज एण्ड द सकिङ्ग डेथ अफ माइकल ज्याक्सन नामक पुस्तकका अनुसार निधन हुनु अघिल्लो मध्यरातअघि  ज्याक्सनले लस एन्जल्समा आफ्नो पूर्व अभ्यास छाडिसकेका थिए । त्यसको वर्षौंअघिदेखि यी सुपरस्टार कडा औषधि सेवन नगरी सुत्न सक्ने अवस्थामा थिएनन् ।

ज्याक्सनका व्यक्तिगत चिकित्सक डा. कोनार्ड मुर्रेलाई डेढ लाख अमेरिकी डलर प्रतिमहिना तलबमा नियुक्त गरिएको थियो कार्यक्रमहरुका लागि । तिनै मुर्रेले घर आउनुअघि पर्खेर बसेका थिए ज्याक्सनलाई । ज्याक्सनको कोठामा औषधि चक्कीको बोतल, सिसी, सिरिञ्ज, अक्सिजन ट्यांक, भाँचिएका टेबल र दराज थिए ।

डा. मुर्रेले प्रहरीलाई दिएको जानकारीअनुसार उनले ज्याक्सनलाई जुन २२ सम्म लगातार ६० दिनका लागि प्रोपोफोल नामक शक्तिशाली औषधि दिएका थिए । जुन औषधि प्राय: अस्पतालमा शल्यक्रिया गर्नुअघि र शल्यक्रिया गर्ने बेला दिने गरिन्छ ।

२५ जुन, बिहानै डाक्टरले ज्याक्सनलाई निद्रा लगाउने औषधि दिएका थिए । तर, ती औषधिबाट कुनै प्रभाव परिरहेको थिएन उनलाई । आगामी दिनको पूर्वतयारीका लागि एकदमै उत्तेजित भइरहेका थिए उनी । ज्याक्सनले मुर्रेसँग भनेका थिए, ‘म इङ्गल्याण्डको कन्सर्टका लागि जसरी भए पनि तयार हुनुपर्छ ।’

बिहान १० बजेसम्म ज्याक्सन निदाएका थिएनन् । ज्याक्सनले मुर्रेसँग निद्रा लगाउनका लागि आफूसँग दूध दिन याचना गरेका थिए । तर, उनले दूध भनेर प्रोपोफोल मागेको मुर्रेको भनाइ छ । डाक्टरले उनलाई तत्कालै प्रोपोफोल दिन मञ्जुर भए । र, १० बजेर ४० मिनेटको आसपास ज्याक्सनको नशामा प्रोपोफोल चढाए मुर्रेले ।

डा. मुर्रेसँग ज्याक्सनको हृदयको गति तथा रगतमा अक्सिजनको लेबल जाँच गर्ने आवश्यक उपकरण थिए । डा. मुर्रेको दाबीअनुसार दुई मिनेटका लागि शौचालय जानुबाहेक उनी हरेक समय ज्याक्सनसँगै थिए त्यतिबेला ।

तर, डा. मुर्रे जब शौचालयबाट फर्किए, त्यतिबेला ज्याक्सनले सास फेरिरहेका थिएनन् । दुई मिनेटमै ।

भलै डा. मुर्रेले बताएको समयरेखा र उनको फोन रेकर्ड मिलेको देखिँदैन । अनुसन्धानकर्ताहरुका अनुसार उनको फोन रेकर्डबाट मध्यान्ह हुनु केहीअघि मात्र ज्याक्सनको शरीरमा केही गडबडी रहेको डा. मुर्रेले चाल पाएका थिए ।

केहीबेरको प्रयासपछि डा. मुर्रेले ज्याक्सनको नाडीमा धड्कन फेला पारे । र, उनलाई पुनर्जीवन प्रदान गर्ने कोशिस गरे । निरन्तर ।

‘त्यतिबेला ज्याक्सनलाई सीपीआर दिइरहेकाले आपतकालीन ९११ नम्बरमा फोन गर्ने अवस्था थिएन,’ मुर्रेको दाबी छ ।

तर, उनले त्यसलगत्तै ज्याक्सनका सुरक्षा गार्डलाई भने बोलाएको दाबी गरेका थिए । अल्बेर्टो अल्भारेजका अनुसार डा. मुर्रेले आकस्मिक सेवासँग सम्पर्क गर्नुअघि सुरक्षा गार्डलाई कोठामा रहेका औषधिका सीसी, बोतल र स्लाइन पानीको पोका सफा गर्न अह्राएका थिए । तर, मुर्रेले १२ बजेर २१ मिनेटमा मात्र आकस्मिक सेवासँग सम्पर्क गरेका थिए ।

त्यो घटनापछि ज्याक्सनका छोराछोरी प्रिन्स र पेरिस ज्याक्सन निकै आत्तिएका थिए । आकस्मिक सेवाका चिकित्सकहरुलाई पनि पप स्टारलाई चिन्न समस्या भइरहेको थियो । किनकि, ज्याक्सनको शरीर पहेंलो हुँदै गइरहेको थियो ।

उनको शरीको वजन पनि एकदमै कम भइरहेको थियो । बिरामीको यस्तो अवस्था र स्लाइनपानीको स्ट्याण्ड देखेर चिकित्सक रिचर्ड सेनेफले ज्याक्सन एकदमै बिरामी रहेको हुनसक्ने अनुमान गरेका थिए ।

लगत्तै ज्याक्सनलाई नजिकै रहेको युनिभर्सिटी अफ क्यालिफोर्निया अल एन्जल्स अस्पताल लगियो,  जहाँ उनलाई पुनर्जीवन दिने अनेक प्रयत्न गरियो ।

त्यसको १ घण्टा र १३ मिनेटपछि ज्याक्सनलाई मृत घोषित गरियो ।

त्यसबेला उनका फ्यान र सञ्चारकर्मीहरु अस्पतालबाहिर भेला भइसकेका थिए । र, टिएमजीले उनको निधनको समाचार ब्रेक गर्‍यो । त्यसबेला स्थानीय समयअनुसार दिउँसोको २ बजेर ४४ मिनेट गएको थियो ।

एउटा उदीयमान वेबसाइट टिएमजीले स्थापित मिडियालाई पछि पारेर यो समाचार सार्वजनिक गरेको थियो । त्यसबेला स्मार्टफोनको प्रयोग बढ्दै गइरहेकाले सामाजिक सञ्जालको माध्यमबाट फैलिएको यो पहिलो समाचार बन्न पुग्यो ।

वर्ड म्यागजिनका सम्पादक एण्ड्रियू ह्यारिसन ग्लास्टनबरीमै थिए । उनले बीबीसी रेडियो ५ लाइभलाई त्यसबेला भनेका थिए, ‘ठूलो सङ्ख्यामा मानिसहरु यी साना र चम्किला स्क्रिनमा घटनाको सत्यता पत्ता लगाउने प्रयास गरिरहेका छन्, किनकि मानिसहरुले पत्याउनै सकिरहेका छैनन् । उनीहरु यसबारे जानकारी लिन हरेक वेबसाइटहरु सर्च गरिरहेका छन् ।’

त्यो बेला यो घटनाबारे जानकारीको माग यति धेरै थियो कि यसले इन्टरनेटलाई समेत असर पार्‍यो । केही गुगल प्रयोगकर्ताले माइकल ज्याक्सनको नाम सर्च गर्दा कुनै पनि रिजल्ट पाइरहेका थिएनन् । किनकि उनको नाम जुन स्तरमा खोजी भएको थियो, त्यसलाई गुगलले मलवेयर आक्रमण गर्नका लागि खोजी गरिएको हुनसक्ने आशंका गरेको थियो । ट्वीटर, लस एन्जल्स टाइम्स, टिएमजी, विकिपिडिया र एओएल इन्स्ट्यान्ट म्यासेन्जर लगायतका साइट क्र्यास भएका थिए ।

बेलायती समयअनुसार राति पौने १२ बजे बीबीसी रेडियो ५ लाइभका प्रस्तोता रिचर्ड बकोनले आफ्न श्रोताहरुलाई बीबीसी उक्त समाचार पुष्टि गर्न सक्नेमा विश्वस्त रहेको जानकारी गराए । त्यसअघि लस एन्जल्स टाइम्स र एसोसिएटेड प्रेसले पनि यस्तै घोषणा गरेका थिए ।

दुई वर्षपछि डा. कोनार्ड मुर्रेले अनैच्छिक हत्याको अभियोगमा अदालतबाट दोषी प्रमाणित भई चार वर्षमध्ये दुईवर्षभन्दा कम समय जेल सजाय भोग्नुपर्‍यो ।

ग्लास्टनबरी क्याबिनमा म ज्याक्सनको करिअरको प्रशंसा गरिरहेको थिएँ । भोलिपल्ट म सबेरै बिहान बाहिर हिँडिरहेको थिएँ । ट्वीटरबाट वा एक कान दुई कान मैदान गरी सबैले ज्याक्सनको निधनको खबर थाहा पाइसकेका थिए । प्रायः सबैतिर ज्याक्सनकै सङ्गीत बजिरहेका कारण उनको निधन भएको धेरैले आशंका गरिसकेका थिए ।

‘उनका गीन बज्न थालेपछि हामीलाई अनौठो लागिरहेको थियो,’ एक फ्यानले भने, ‘एकजनाले ज्याक्सनको निधन भइसकेको बताए, पत्याउन गाह्रो पर्‍यो ।’

तैपनि अझैसम्म पनि कसैले उनको निधनबारे थाहा पाइसकेका थिएनन् भने ग्लास्टनबरीमा केही मानिसहरुले ‘माइकल ज्याक्सन इज डेड’ वा ‘आई वाज इन ग्लास्टो ह्वेन ज्याको डाइड’ जस्ता शब्द लेखिएका टिसर्ट लगाएका थिए । एउटा टिसर्ट स्टलले ज्याक्सनको निधन भएको समाचार सार्वजनिक भएको केही घण्टाभित्रै टिसर्ट प्रिन्ट गर्न शुरु गरिसकेको थियो ।

ग्लास्टनबरी फेष्टिभलमा केही कलाकारले उनको गीत कभरमा गाए । तर, एकदमै कमले मात्र ज्याक्सनबारे अन्तर्वार्ता दिन चाहे शायद ती कलाकारका जनसम्पर्क व्यक्तिहरुले भविष्यमा ज्याक्सनका थप प्रकरण सार्वजनिक भए अफ्ठ्यारो पर्न सक्नेबारे सचेत गराएको हुनुपर्छ । यसै वर्ष दुई जनाले आफूहरु बालकै हुँदा ज्याक्सनले दुर्व्यहार गरेको बताइसकेका छन् ।

दशकअघि हामीले ज्याक्सनको निधन हुँदाको विजोग अवस्थाबारे जानकारी पायौं । उनको सङ्गीत सदा रहिरहे पनि उनको जीवनको चिन्ताजनक अवस्थाबारे थप तथ्यहरु खुल्दै गइरहेका छन् ।

(बीबीसीका लागि इयान योङ्सले लेखेको यो लेखलाई खबरहबकर्मी हिमाल कोइरालाले अनुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०