१५ लाख नेपाली मानव तस्करीको जोखिममा, ३५ हजार बेचिए | Khabarhub Khabarhub

१५ लाख नेपाली मानव तस्करीको जोखिममा, ३५ हजार बेचिए



काठमाडौं– हातहतियार र लागुऔषध तस्करी पछि विश्वमा अर्को समस्या बनेको छ, मानव बेचबिखन । विभिन्न अध्ययनको नतिजा हेर्दा यो समस्याले नेपाल पनि दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको छ ।

मानव तस्करीलाई मुख्य समस्याका रुपमा बुझेको नेपाल प्रहरीले यसको नियन्त्रणका लागि प्रयास पनि थालेको छ । तर, नियन्त्रणको प्रयास योजना अनुरुप सफल हुन सकेको छैन् ।

तस्करी नियन्त्रणका लागि प्रहरीले मानव बेचविखन अनुसन्धान ब्यूरो नै खोलेर काम गरिरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था पनि मानव तस्करी नियन्त्रण गर्ने एजेन्डासहित काम गरिरहेका छन् । तरपनि बेचविखनको दर घटेको छैन । बेचबिखनको शैली भने फेरिएको प्रहरीको दाबी छ ।

घटना–१ : प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले गत मंसिर ९ गते १२ बर्षीया नाबालिकालाई विभिन्न प्रलोभनमा भारतको दिल्लीस्थित रानीबागमा पुर्‍याई बेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई महिलालाई धनुषाबाट पक्राउ गर्‍यो।

त्यसैगरी पीडित नाबालिकालाई नेपाल फर्काउन सफल भयो । मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीका अनुसार, पक्राउ पर्नेमा धनुषा घर भई दिल्लीमा बेश्यालय सञ्चालन गरेर बस्ने जोस्ना भनिने जुनाकुमारी खड्का र वीरगञ्ज घर भई धनुषा बस्ने सीता लामा भनिने सिम्रन तामाङ छन् ।

प्रहरीका अनुसार, नातामा भाउजु पर्ने सीम्रनले पीडित बालिकालाई ललाई फकाई दिल्ली पुर्‍याएकी थिइन् ।

घटना–२ : अमेरिका लैजाने भनी अफ्रीकाको मलावी पुर्‍याएर बन्धक बनाईका ६ जना नेपालीलाई ब्यूरोको टोलीले मालवी प्रहरीसँग समन्वय गरी नेपाल फर्काउन सफल भयो ।

प्रहरीका अनुसार बन्दक हुनेमा पर्वतका ४ जना, दाङका १ जना र रुकुमका १ जना युवा थिए । एसएसपी कार्कीका अनुसार, उनीहरुलाई विगत १ बर्षदेखि भियतनाम, इथियोपिया, नाडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावीमा पुर्‍याएर बन्दक बनाएको थियो ।

मानव तस्करी गर्ने गिरोहले अजरबैजान लैजाने क्रममा नेपालबाट भियतनाम पुर्‍याएर २० दिन राखेको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनीहरुलाई इथियोपिया पुर्‍याएर ४ महिना राखिएको थियो । इथियोपियाबाट उनीहरुलाई नाडागास्कारमा १५ दिन राखिएको थियो । त्यस्तै जोर्डनमा १ महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखी अफ्रिकाको मलावीमा पुर्‍याएर बन्दक बनाइएको प्रहरीको दाबी छ ।

यो घटनामा संलग्न भएको आरोपमा भारतीय मुलमा मलावीयन नागरिक नाजीर अहमदलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना–३ गत भदौ दोस्रो साता ब्यूरोले नेपाली युवतीलाई विवाहको बहानामा चीनमा तस्करी गरेको आरोपमा ६ नेपाली र ४ जना चिनियाँसहित १० जनालाई पक्राउ गर्‍यो ।

प्रहरीले ४ जना पीडितलाई उद्धार गर्‍यो ।

घटना–४ : भदौं पहिलो साता नै इन्डोनेशियाको राजधानी जाकार्ता र प्रसिद्ध पर्यटकीय गन्तव्य बालीमा करिब १० महिनासम्म बन्धक बनाइएका तीन नेपाली युवक र एक नेपाली युवतीलाई ब्यूरोले स्वदेश फर्कायो ।

एसएसपी कार्कीका अनुसार, उनीहरूलाई अस्ट्रेलिया लैजाने भन्दै जाकार्ता र बाली लगेर त्यहाँ बन्धक बनाइएको थियो ।

घटना–५ : अघिल्लो बर्ष मात्र विदेश पठाइदिने भन्दै दिल्लीमा पुर्‍याएर बन्धक बनाइएका ७४ नेपाली युवती तथा महिलाको उद्धार गरिएको थियो । बन्धक बन्न पुगेका महिलामध्ये केहीलाई त्यसअघि इराक र ओमनमा काम गरेर फर्काइएको थियो ।

प्रहरीका अनुसार उनीहरूलाई जबर्जस्ती बन्धक बनाइएको थियो । प्रहरीले नेपाली एजेन्टले नै ती महिलालाई बन्धक बनाएको पाइएको छ । मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ ।

पूर्वएआईजी नवराज ढकालका अनुसार, नेपालबाट खाडी र अफ्रिकामा महिलालाई घरेलु कामदारका जान रोक लगाइएपछि तस्करहरूले भारतको बाटो प्रयोग गर्ने गरेका छन् ।

माथि उल्लेख गरिएका ५ घटना प्रतिनिधिमुलक उदाहरण हुन् । यस्ता घटना दैनिक बढ्दै गएका छन् । अनि पीडित हुनेको उजुरी पनि प्रहरी कहाँ आउने क्रम बढेको छ ।

प्रहरी प्रधान कार्यायको तथ्यांक अनुसार, मानव बेचविखन सम्बन्धि पछिल्लो ४ बर्षमा १ हजार ५ वटा मुद्दा दायर भएका छन् । ती घटनामा १ हजार १ सय ७६ जना पक्राउ परेका छन् ।

मानव तस्करीमा संलग्न नेपालीमात्र छैनन् । विदेशीको संख्या पनि बढ्न थालेका छन् । विभिन्न आरोपमा पक्राउ परेका एजेन्डमध्ये ४६ जना विदेशी नागरिक रहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

मानव बेचबिखन गर्ने घटनामा महिलाको सहभागिता पनि उस्तै छ । अहिलेसम्म मानव बेचबिखनमा संलग्न भएको आरोपमा ३ सय २२ जना महिला संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार यो ५ बर्षको अवधिमा ७ सय ४३ जना अभियुक्त फरार छन् । पक्राउ परेकाहरुलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउँदै आएको छ ।

प्रत्येक वर्ष ३५ हजार बेचिँदै

प्रत्येक वर्ष मानव बेचबिखनमा पर्ने मानिसको संख्या बढ्दो छ । राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचविखन प्रतिवेदन २०७६ ले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि गत वर्ष नेपालका ३५ हजार मानिस बेचबिखनको शिकार भएको थिए ।

तीमध्ये १२ हजार वैदेशिक रोजगारी, ७ हजार वयस्क मनोरञ्जन र ३ हजार बालश्रमका लागि बेचबिखनमा परेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार, अहिलेपनि नेपालका करिब १५ लाख मानिस मानव बेचबिखनको जोखिममा छन् ।

आयोगकी सदस्य मोहना अन्सारीका अनुसार जोखिममा रहेका मध्य १३ देखि १९ वर्ष उमेरका १२ लाख ग्रामीण किशोरी छन् । त्यसैगरी वयस्क मनोरञ्जनका लागि २१ हजार, वैदेशिक रोजगारीको तयारीमा रहेका झन्डै दुई लाख र बालश्रमका लागि एक लाख मानिस जोखिममा छन् ।

मानव अधिकार आयोगको प्रतिवेदनअनुसार यौन शोषणका लागि महिला र बालबालिकाको बेचबिखनले ठूलो हिस्सा लिएपनि बाध्यकारी श्रम, अस्थायी नियन्त्रण, मानव तस्करीसँगै अवैध सामग्रीको तस्करी लगायतका प्रयोजन पनि बढ्दै गएको छ ।

पूर्वएआइजी नवराज ढकालका अनुसार, नेपाली युवतीहरूलाई श्रीलङ्का, माल्दिभ्स, मलेसिया, खाडीका विभिन्न देश र अफ्रिकी महादेशका केन्या र तान्जानियामा मनोरञ्जन क्षेत्रमा काम गर्न पुर्‍याउने गरिएको छ ।

यस्ता छन् मानव बेचबिखनका रुट

मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार अमेरिका लैजानका लागि तस्करीमा संलग्न गिरोहले शुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतको दिल्ली सम्म पुर्‍याउँने गरेको पाइएको छ ।

त्यसपछि दिल्लीबाट मस्को, स्पेन, इक्वेडर, पाना, कोष्टारिका, होण्डुरस, ग्वाटेमाला हुँदै मेक्सीको पुर्‍याउने गरेको पाइएको छ ।

मेक्सिकोबाट मौका छोपेर अमेरिकासम्म पुर्‍याउने गरेको पाइएको ब्यूरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले बताए । कार्कीका अनुसार तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको तहगत संलग्नता पनि देखिएको छ ।

त्यसैगरी यूरोप जानका लागि तस्करहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई–लिबिया हुँदै इटलीमा पुर्‍याउने गरेका छन् । त्यहाँबाट यूरोपका विभिन्न देशहरुमा पुर्‍याउने गरेका छन् ।

यता खाँडी लैजानका लागि तस्करले अर्कै रुट प्रयोग गर्ने गरेका छन् । उनीहरुले नेपालबाट भारतको दिल्ली, त्यहाँबाट मिजुराम, श्रीलंका हुँदै खाडी मुलुक सम्म पुर्‍याउँने गरेका छन् ।

एसएसपी कार्कीका अनुसार, अफ्रिकी मुलुकमा पुर्‍याउनका लागि तस्करहरुले नेपाल, दिल्ली र दुबईको बाटो प्रयोग गर्छन् ।

यता नेपालको राष्ट्रिय मानव अधिकार आयोगको मानव तयार पारेको बेचबिखनबारेको पछिल्लो प्रतिवेदन अनुसार विगतमा नेपालबाट भारत हुँदै हुने मानव बेचबिखनमा अहिले आएर भारत, बाङ्गलादेश, म्यान्मार, थाईल्यान्ड, इन्डोनेशिया लगायतका नयाँ रुटको प्रयोग पनि हुन थालेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ०९ बजे

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको