काठमाडौं– ‘मम्मी ! म धेरै दिन बाँच्दिन होला है ?’ भन्नुस् न मम्मी मलाई कहिले ठीक हुन्छ ?’ १५ वर्षीया छोरी ज्योतिका यी शब्दले सूर्यमायाको मुटुमै घोच्छ, तिखो काँडाले झैं ।
ज्योति हरेक पटक निर्दोष अनुहार लगाएर आमा सूर्यमायालाई हेरिरहिन्छन्, एक टकले । सायद उनी आमाको बोली सुन्न प्रतिक्षारत छिन् । आमाले कहिले भन्लिन्– छोरी तिमि निको भयौ । अब घर जाऔं हिँड् !
सूर्यमायाले धेरै बेरसम्म केही नबोल्दा ज्योति पुनः सोध्छिन्– स्कूल नगएको धेरै भइसक्यो, घर कहिले जाने, भन्नु न मम्मी…!
सूर्यमायासँग छोरीलाई दिने जवाफ छैन । सायद उनको जिन्दगीको शब्दकोष रित्तो भइसक्यो !
मनैदेखि अमिलो भएर आउँछ । पीडा भरिएर पोखिन खोज्छ आँखाबाट, आँसुका रुपमा । तर, सूर्यमाया आँसु झर्न दिँदिनन् ।
अमिलो मनलाई सम्हाल्दै छोरीलाई सम्झाउन खोज्छिन्– कस्ले भनेको छ बाँच्दिनौ भनेर ? तिम्रो रोग ठीक पार्न त इलामदेखि काठमाडौं आएको हो नि !
आमाका शब्दले ज्योतिलाई सन्तोष मिल्दैन सायद । उनी झन् रुन्छिन् डाको छोडेर । रुँदा रुँदै थाक्छिन् र कोल्टे फेर्छिन् ।
ज्योति रोएर थाकेपछि सूर्यमायाको पीडा पुनः आँखासम्म पुग्छ । आँसु बनेको पीडाले पनि भन्दो हो सायद– अब त झर्न देउ, छोरीले कोल्टे फेरेको बेला !
इलामकी १५ वर्षीया ज्योतिलाई मुखको क्यान्सर भएको छ । उनी दुई ओठ जोडिने गरी बोल्न सक्दिनन् । क्यान्सरका कारण ज्योतिको दाँतको तल्लो भागदेखि बढेको ट्युमर बाहिर निस्केर छातीसम्म पुग्न लागेको छ ।
सूर्यमायाले ज्योतिको उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल नजिकै एक गेस्ट हाउसको एउटा कोठा बूक गरेर बसेकी छन् ।
‘छोरी सधै बाँच्दिन होला है भन्दै रुन्छें, अनेक प्रश्न गर्छे, इलामबाट काठमाडौंसम्म त ल्याएको छु, उपचार खर्च जुट्यो भने त बाँच्थिन् होला,’ सूर्यमायाले मलिन हुँदै खबरहबसँग आफ्नो पीडा सुनाइन्, ‘डाक्टरले अपरेशन गर्नुपर्छ भन्नुभएको छ, अपरेशन भएपछि मात्रै मेरो मन ढुक्क हुन्छ ।’
८ अस्पताल धाउँदा रोग पत्ता लगाउनै समय लाग्यो
इलामकी १५ वर्षिया ज्योति कक्षा ९ मा पढ्दै थिइन् । गत बैशाखमा ज्योतिको अगाडिको तल्लो भागको दाँत हल्लिन थाल्यो ।
उनले आफ्नो दाँत हल्लिन थालेपछि आमालाई सुनाइन् । दाँत हल्लिएको ठाउँमा गिजा पनि सुन्निन थाल्यो । छोरीका दाँत हल्लिएर गिजा समेत सुन्निन थालेपछि सूर्यमायाइलामको जिल्ला अस्पताल गइन् ।
जिल्ला अस्पताल इलामले एक्सरे गर्यो । रोग पत्ता लाउन सकेन । डाक्टरहरुले भने– यहाँ उपचार हुन सक्दैन, अरु ठाउँ देखाउनुहोस् ।
सूर्यमायाले दाँतमा देखिएको समस्या भनेर मेची डेन्टल अस्पतालमा लगिन् ।
मेची डेन्टल अस्पतालले गिजाको मासु काटेर परीक्षण गर्नुपर्ने, तर त्यसका लागि १५ दिन पालो कुर्नुपर्ने बतायो । त्येतिबेलासम्म ज्योतिका हल्लिएका दाँतवरपरका गिगा सुन्निएर मुखबाहिर निस्किन थालिसकेको थियो ।
सूर्यमायाले १५ दिन पालो कुरेर छोरीको गिजाको परीक्षण गराइन् । तर, रोग पत्ता लागेन ।
‘हामीसँग कुनै विकल्प थिएन, १५ दिन पालो कुरेर त्यहिँ जँचायौं, तर रिपोर्ट राम्रो आएन,’ सूर्यमायाले खबरहबसँग भनिन्, ‘डाक्टरले नराम्रो लक्षण छ भन्नुभयो, तर के भएको भनेर बताउनुभएन, त्यहाँबाट धरानमा लैजानु भन्नुभयो ।’
मेची डेन्टल अस्पतालले असार पहिलो साता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्यो । सूर्यमायाले त्यहाँ पनि भिडियो एक्सरे गराइन् । भिडियो एक्सरे गरेर पनि रोग पत्ता लागेन ।
बीपी प्रतिष्ठानका डाक्टरहरुले ज्योतिको ‘होल बडी’को एमआरआई गराउन भने । सूर्यमायाले त्यही गरिन् ।
एमआरआइको रिपोर्ट आएपछि त्यहाँका चिकित्सकले सूर्यमायालाई भने, ‘हड्डी मक्किएको देख्दा क्यान्सर भएजस्तो छ, तर सुन्निएर मासु पलाएको देख्दा ट्युमर जस्तो छ ।’
धरानाको अस्पतालमा स्वास्थ्य जाँच गरेको रिपोर्ट आउनै १५ दिन लाग्ने । रिपोर्टमा के आएको छ भन्नेबारे चिकित्सकले पनि प्रष्ट बताएनन् । उल्टै अझै १५ दिनपछि आउनुस्, फेरी सिटीस्क्यान गर्नुपर्छ भनेर पठाए ।
बैशाखमा देखिएको समस्या के कारणले भयो भन्नेबारे असारसम्म पनि थाहा भएन । तर, ज्योतिका ओठहरु सुन्निएर झन् झन् ठूलो हुँदै गए ।
३ वटा अस्पताल धाउँदा पनि रोग पत्ता नलागेपछि सूर्यमायाको मनमा डर पस्यो– रोग पत्ता नलाग्दै छोरी नै गुमाउन पो पर्ने त होइन ?
अन्ततः सूर्यमाया आफैले छोरीलाई भक्तपुरको क्यान्सर अस्पतालमा लिएर आइन् ।
‘बैशाखदेखि छोरीको दाँतमा समस्या देखिए पनि इलाम, धरानका डाक्टरले रोग नै पत्ता लगाएनन्, रोग पत्ता लगाउन परीक्षण गर्नै १५ दिन पालो कुर्नुपर्ने । छोरीलाई गुमाउनै पो पर्छ कि भन्ने डर लाग्यो,’ सूर्यमायाले भनिन्, ‘धरानको डाक्टरले १५ दिनपछि जचाउँन आउनु भनेका थिए, मैले भक्तपुर लिएर आए । ’
भदौ पहिलो साता भक्तपुर क्यान्सर अस्पताल ल्याएपछि थाहा भयो, ज्योतिको मुखको क्यान्सर पहिलो, दोस्रो हुँदै तेस्रो चरण (स्टेज)मा पुगिसकेको रहेछ ।
‘यहाँ ल्याएपछि डाक्टरले ढिला ल्याएको भनेर गाली गर्नुभयो, छोरीको क्यान्सर त तीन स्टेजमा पुगिसकेको रहेछ,’ सूर्यमायाले भनिन् ।
भक्तपुर अस्पतालका चिकित्सकले क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने बताए । तर, १५ वर्षकी किशोरीको मुखको क्यान्सर अलि जटिल हुने र अनुहार विग्रन सक्ने भन्दै भक्तपुर भन्दा काभ्रेको धुलिखेल अस्पतालमा अपरेशन गर्दा उपयुक्त हुने चिकित्सकहरुले अर्को सुझाव दिए ।
भक्तपुर अस्पतालका चिकित्सकको सल्लाहअनुसार सूर्यमायाले छोरीलाई धुलिखेल अस्पताल लगिन् ।
‘भक्तपुर अस्पतालका डाक्टरहरुले भर्खरै १५ वर्षकी छोरी छन् । यहाँ अपरेशन त हुन्छ तर यहाँ अपरेशन गर्दा अनुहार विग्रन सक्छ, धुलिखेलमा लैजानुहोस् त्यहाँ राम्रोसँग शल्यक्रिया हुन्छ भन्नुभयो,’ सूर्यमायाले भनिन्, ‘त्यसपछि धुलिखेल अस्पतालमा लगे, त्यहाँ पनि १५ दिनजति भर्ना गरेर राखे ।’
धुलिखेल अस्पताल पुगेपछि पनि सूर्यमायाले शान्ती पाइनन् । धुलिखेल अस्पतालले पनि विशेष प्रकारको एमआरआई गर्नुपर्ने भन्दै फेरी अर्को निजी अस्पतालमा पठायो ।
अर्को निजी अस्पतालमा ज्योतिको एमआरआइ गर्नै ५५ हजार ७ सय ५० रुपैयाँ खर्च भयो । एमआरआइ गरेपछि धुलिखेल अस्पताल पुगेकी सूर्यमायालाई धुलिखेल अस्पतालका चिकित्सकले क्यान्सरका कारण निस्किएको ट्युमर घटाउन किमो चढाउनुपर्ने भन्दै भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरमा पठायो ।
अहिले भक्तपुर अस्पताल नजिककैको गेष्ट हाउसमा बसेर सूर्यमाया छोरीको उपचार गराइरहेकी छन् । धुलिखेल अस्पतालका चिकित्सकले ३ पटक किमो थेरापी गरेपछि मात्रै ज्योतिको क्यान्सरको उपचारका लागि शल्यक्रिया हुने बताएका छन् ।
ज्योतिलाई पहिलो पटक किमो थेरापी गराइसकिएको र असोज २३ गते किमो थेपरी गर्ने दोस्रो मिति तय भइसकेको छ । मंसिरमा तेस्रो पटक किमो थेरापी गरेपछि क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्ने धुलिखेल अस्पतालले जनाएको छ ।
घरमा बिरामी पति र साना छोराछोरी
इलामकी सूर्यमायाकी कान्छी छोरी हुन् ज्योति । घरमा एक छोरी, तीन छोरा र बिरामी पति छन् । २०६७ सालदेखि सूर्यमायाका ४८ वर्षीय पति नशासम्बन्धी रोगबाट ग्रस्त छन् । सूर्यमायाका पति लठ्ठी टेकेर बल्लतल्ल हिड्न मात्रै सक्छन् ।
घरको काम धन्दा र मेलापात गरेर २ छोरी र ३ छोराको लालनपालन र पढाइ खर्च सूर्यमाया आफैंले जुटाउँदै आएकी थिइन् । तर, कान्छी छोरी बैशाखदेखि बिरामी परेपछि सूर्यमायाको परिवार विचलित भएको छ ।
क्यान्सरको उपचारमा शल्यक्रिया गर्न मात्रै ९ लाख लाग्ने
छोरीको उपचारमा सूर्यमायाले साढे २ लाख खर्च गरिसकेकी छन् । ज्योतिको मुखमा भएको क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्न मात्रै ९ लाख खर्च लाग्नसक्ने धुलिखेल अस्पतालले जनाएको छ । तर, सूर्यमायासँग गाउँका छिरछिमेकले चन्दा संकलन गरेर जम्मा गरेको एकलाख रुपैयाँ मात्रै साथमा छ ।
छोरीको उपचारका लागि भक्तपुरको गेस्ट हाउसलाई कोठाको मात्रै दैनिक ५ सय बुझाउनु पर्छ । खाना र अन्य खर्च पनि छुट्टै लाग्छ । छोरीको क्यान्सर निको बनाउने आशमा रहेकी सूर्यमायालाई उपचार खर्च कसरी जुटाउने भन्ने थप पीडा छ ।
‘श्रीमान् पनि बिरामी हुनुहुन्छ, केही काम गर्न सक्नुहुन्न, गाइको दूध बेचेर मेलापात गएर जसोतसो छोराछोरी पढाएको थिएँ, कान्छी छोरी बिरामी भएदेखि घरमा कस्तो हालछ थाहै छैन,’ सूर्यमायाले लामो श्वास फर्दै भनिन्, ‘घर टाढा छ, कान्छी छोरीको अवस्था यस्तो छ, अरु छोराछोरी के खादै छन् घरमा थाहै छैन, विजोक भएको छ ।’
छोरी ज्योतिको उपचारका लागि आर्थिक सहयोग पाए उचार गरेर घर फर्कने सूर्यमायाको आसा छ ।
‘अहिलेसम्म त गाउँलेहरुले सहयोग गरेर संकलन गरेको पैसाले उपचार गराइरहेको छु,’ सूर्यमायाले भनिन्, ‘९ लाख त अपरेशन गर्न मात्रै लाग्छ रे । अपरेशन पछि आईसीयूमा राख्नुपर्छ रे, कति खर्च लाग्ने हो थाहा छैन । उपचार खर्च कसरी जुटाउने भनेर चिन्तामा छु । सबैले सहयोग गरिदिनु भयो भने उपचार खर्च जुट्थ्यो कि ।’
धेरै पढेर डाक्टर बन्ने ज्योतिको सपना
इलामको अमर उच्च माध्यमिक विद्यालयमा कक्षा ९ की छात्रा हुन् ज्योति । उनी पढाइसँगै नृत्य गर्नमा पनि रुची राख्थिन् । सहयोगी भावनाकी ज्योति सेवामा लाग्नुपर्छ भनेर विद्यालयमा भएको नेपाल स्काउटमा पनि सदस्य छन् । ठूलो भएपछि डाक्टर बनेर बिरामीको सेवा गर्ने सपना छ उनको छ ।
प्रतिक्रिया