नेपाली खेलकुदमा सन् २०१९ : थोरै निराशाकाबीच धेरै खुसियाली | Khabarhub Khabarhub

नेपाली खेलकुदमा सन् २०१९ : थोरै निराशाकाबीच धेरै खुसियाली



काठमाडौं–आज अंग्रेजी वर्ष सन् २०१९ को अन्तिम दिन तथा सन् २०२० को पूर्व सन्ध्या ।

हरेक बर्षको पहिलो दिन र अन्तिम दिन सबैका लागि विशेष हुने गर्छ । कारण–त्यो बर्षको सुरुवात कसरी भयो र बर्षको अन्त्य कसरी भयो भन्ने नै हो ।

सन् २०१९ मा नेपाली खेलकुद कस्तो भयो त ? ‘अन फिल्ड’ र ‘अफ फिल्ड’ मा यो वर्ष के–के भयो ? खेलाडीको प्रदर्शन, खेल संस्थाका भूमिका तथा सरकारले यसलाई कसरी लियो त ? जस्ता कुरा यस आलेखमा देखाउन खोजिएको छ ।

वर्ष २०१९ नेपाली खेलकुदका लागि सफल नै भयो । वर्षको अन्तिम महिना डिसेम्बरमा नेपालले दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्‍यो । सागको १३ औं संस्करणमा आइपुग्दा नेपालले अहिलेसम्मकै ठूलो सफलता हात पार्‍यो । नेपालमै भएको सागमा ५१ स्वर्ण जित्दै नयाँ कीर्तिमान बनायो ।

०१९ मा नेपाली खेलकुदमा साग, महिला भलिबल टोलीको एभिसीमा स्वर्ण जित्दै बनाएको इतिहास, विश्वकप छनोटमा बलिया टोलीसँगको नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शन, राष्ट्रिय क्रिकेट टोलीका कप्तानको राजीनामा, नेपाल क्रिकेट संघ (क्यान) को शसर्त निलम्बन फुकुवा, नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद, महिला फुटबलमा भारतको दबदबालाई तोड्न नसकेका विषयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा रमेश कुमार सिलवालको आगम हुँदै युवा तथा खेलकुद मन्त्री बाहिरिने सम्मले चर्चा पायो ।

त्यतिमात्रै होइन, नेपालका चार चर्चित फुटबल प्रतिबन्धमा परेका बिषयले पनि निकै धेरै चर्चा पायो ।

सागको सफलता !

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न भयो । यसमा नेपालले भारतपछि सबैभन्दा बढी ५१ स्वर्ण जित्दै साग इतिहासमै पहिलो पटक दोस्रो पदक तालिकामा दोस्रो स्थानमा रहन सक्यो ।

यो बर्ष सागले नेपाली खेलकुदलाई धेरै चलायमान बनायो । बर्षको शुरुदेखि अन्तिमसम्म यसले चर्चा पाइ रह्यो । शुरुदेखि भौतिकपूर्वाधार निर्माणको विषयले चर्चा पायो ।

साग शुरु हुनु १५ दिन अगाडिसम्म पनि साग हुन्छ ? वा हुन्न ? भन्ने महत्वपूर्ण दुई प्रश्नले धेरै चर्चा भइरह्यो । आखिरमा अन्तिम समयमा आएर मात्रै साग हुने निश्चित भयो । सागका लागि बनाइएका सञ्चारहरु हतार–हतार तयार पारिए । नेपालले तेस्रो पल्ट साग आयोजना गर्‍यो । सफल पनि भयो । सागमा नेपालले ५१ स्वर्ण जित्दै सबैभन्दा धेरै तेक्वान्दोले १२ स्वर्ण जित्यो भने १० स्वर्ण करातेले दिलाएको थियो ।

साग अवधिभर चर्चामा रहेकी खेलाडी हुन्, पौडीकी गौरीका सिंह । उनी एक्लैले नेपाललाई विभिन्न विधामा ४ स्वर्ण दिलाइन् भने २ रज र ३ कास्य जित्दै जम्मा ९ पदक जित्दै नेपाली खेलकुदमा नयाँ कीर्तिमान बनाइन् ।

सागमा नेपाली खेलकुदले पाएको सफलताले अन्य सबै नकारात्मक कुरालाई छाँयामा पार्यो । सागमा भएको व्यवस्थापन लगायत कुराहरुमा देखिएका कमिकमजोरी यसमा नेपालले प्राप्त गरेको स्वर्णले नै छायाँमा पार्यो ।

महिला भलिबलमा ऐतिहासिक स्वर्ण

यो बर्ष बंगलादेशबाट शुरु भएको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) महिला भलिबल प्रतियोतिामा स्वर्ण जितेको समाचारले पनि खुवै चर्चा पायो ।

अरुणा शाहीको नेतृत्वमा रहेको महिला टोलीले एभिसीमा अपराजित रहँदै नेपालका लागि पहिलो स्वर्ण पदक जितेको थियो । नेपाली महिला टोलीले देशै भर चर्चा बटुली रहँदा सरकारले पनि उचित पुरस्कारसहित सम्मान गरेको थियो ।

यहि टोलीले सागमा रजत पदक जित्दै अर्को सफलता हात पारेको थियो । सागमा पनि नेपालले अहिलेसम्म रजत जित्न सकेको थिएन ।

क्यान निलम्बिन फुकुवासँगै पारसको राजीनामा

सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवाको प्रक्रियामा पनि यहिँ बर्ष गएको छ ।

लामोसमय अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपेको क्यानको निर्वाचन असोज १० र ११ गते काठमाडौंमा सम्पन्न भएपछि आईसीसीले शशर्त फुकुवा निलम्बन गर्ने निर्णय गरेको हो ।

आईसीसीले असोज २७ गते क्यानको निलम्बन शशर्त फुकुवा गर्ने निर्णय गरेको भोलि पल्ट नै १ दशक लामो सयम नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका पारस खड्काले कप्तानबाट राजीनामा दिएको विषय पनि चर्चामा रह्यो ।

एकाएक कप्तानबाट पारसले राजीनामा दिएको घोषणा गर्दा नेपाली क्रिकेटको भविष्य बारे चर्चा भएको थियो भने उनले आफुले सकेजति काम गरेको र क्यानमा नयाँ नेतृत्व आएसँगै नयाँ तरिकाले अगाडी बढ्नु पर्ने बताउँदै राजीनामा दिएका थिए ।

यो विषयले पनि बर्ष २०१९ मा निकै चर्चा बटुलेको थियो । कप्तानबाट राजिनामा दिएपछि विभिन्न प्रश्न उब्जिए पनि क्यानले पारसको राजीनामालाई स्वीकार्दै कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइसकेको छ ।

क्रिकेटमा क्यानको निलम्बन फुकुवा र कप्तान पारसको राजीनामाले चर्चा पाएपनि यो वर्ष मैदानमा भने खासै प्रगति देखिएन । अस्ट्रेलियामा २०२० मा हुने टी-२० विश्वकप छनौटको अन्तिम चरणमा सिंगापुरमा भएको प्रतियोगितामा नेपाल पराजित भएसँगै विश्वकप खेल्ने अवसर गुमेको थियो ।

विश्वकप छनोटमा सम्यमित प्रदर्शन

नेपाली राष्ट्रिय फुटबल टोलीले यो बर्ष सन् फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत ५ खेल खेलेको छ ।

कुवेतसँगको ‘होम’,‘अवे म्याच’ र अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँगको अवे खेल खेलिसकेको छ । जसमा नेपालले १ खेलमा जीत र ४ खेलमा हार ब्येहोरेको छ ।

नेपालले कुवेतसँग छनोटको पहिलो खेल खेल्दै यात्रा थालेको थियो । तर, उक्त पहिलो खेलमा नेपाल ७–० गोल अन्तरले फराकिलो हार व्यहोर्न बाध्य भएको थियो ।

कुवेतविरुद्धको खेलमा ७–० गोलले पराजित भएपछि नेपाली फुटबलमा पुन एक पटक फिक्सिङको आशंका गरिएको थियो । तर, नेपाली टोलीले चाइनीज ताइपेइलाई २–० गोलले पराजित गर्दै छनोटमा लय समातेको थियो ।

नेपाल अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० पराजित नेपालले कुवेतसँगको ‘होम’ खेल अन्तरगत तटस्थ भूमि भुटानमा भएको खेलमा १– ० गोलले पराजित भएको थियो ।

कुवेतसँगको खेलका लागि भुटान जानु अघिल्लो राति ४ जना खेलाडी नाइट क्लब गएपछि विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलमा म्याच फिक्सिङको आशंका गरिएको थियो ।

नेपालका सशक्त फरवार्ड विमल घर्ती मगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान जानु अघिल्लो रात क्लब गएको समाचारले पनि धेरै चर्चा पायो ।

भुटान जान तयार भएर अखिल नेपाल फुटबल संघ (एन्फा) मा उपस्थित भएका यी ४ खेलाडीलाई रातभर क्लबमा गएपछि उनीहरुलाई टोलीबाट निकालिएको थियो ।

अहिले विमल र दिनेश एन्फाको ९० दिनको प्रतिबन्धमा छन् भने अञ्जन र सन्तोष ४५ दिनको प्रतिबन्धमा छन् भने यी चारै जनालाई ५० हजार जरिवान समेत गरिएको छ । खेलाडी क्लब गएको घटना पनि २०१९ को अन्तिम तिरको चर्चित घटना हो ।

दशरथ रंगशाला र हिटिङ सिस्टमको पौडी पोखरीसम्मको चर्चा

वि.सं २०७२ को भुकम्पले क्षतविक्षत पारेको दशरथ रंगशलामा ४ वर्षपछि फुटबल फर्किएको छ । सागका लागि तयार पारिएको रंगशाला ढिलो भएपनि बनेकोमा धेरैले खुसी मनाएका छन् ।

हतार हतार तयार पारेर सागका खेल रंगशालामा गरिएको थियो । यसमा धेरै खेलाडीले आफ्नो रंगशालामा खेल्ने सपना पुरा भएको प्रतिक्रिया दिए ।

नेपाली यु–२३ टोलीका गोलकिपर विकेश कुथुले दशरथ रंगशालामा खेल्ने आफ्नो सपना पुरा भएको बताएका थिए ।

यहिँ मैदानमा सागको स्वर्ण जित्दा त खेलाडीहरु ‘अवाक’ नै बनेका थिए । लामो समयदेखि फुटबल खेलाडीदेखि नेपाली फुटबल समर्थकले दशरथ रंगशाला बनेन भनेर गरिएको गुनोसो यो बर्ष पुरा भएको छ । अहिले दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग भइरहको छ ।

दशरथ रंगशालाको मात्रै होइन्, सातदोबाटोस्थित हिटिङ सिस्टमसहितको पौडी पोखरी, पोखरा रंगशालाले पनि चर्चा पायो ।

पहिलो पटक बनेको हिटिङ सिस्टमको पौडी पोखरी पनि अन्तिम समयमा तयार पारिएको थियो । भने सागमा खेलाडीहरुले पानी चिसो रहेको समेत बताएका थिए।

पौडीकी स्वर्णविजेता गौरीका सिंहले पौडी पोखरी बेलायतको जस्तो भएको तर, पानी चिसो रहेको बताएकी थिइन् ।

राखेप नेतृत्व परिवर्तन

यो बर्ष नेपाली खेलकुदको माउ संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेतृत्व पनि परिवर्तन भयो । निवर्तमान सदस्य सचिव केशब कुमार बिष्टको कार्यकाल असार ९ गते सकिएर घर फर्किदा राखेपमा नयाँ सदस्य सचिव को बन्ने भन्ने विषयले खुबै चर्चा पायो ।

बिष्टसहित विभिन्न व्यक्तिहरुले त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष हतका नेताहरुसमक्ष राखेप नेतृत्वका लागि दौड धुप समेत गरेका थिए ।

तर, बाजी मारे रमेश कुमार सिलवालले । मदन भण्डारी स्पोट्स एकेडेमीका संस्थापक अध्यक्ष रहेका सिलवाल नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमति पछि राखेपको जिम्मेवारीमा आएका हुन् ।

असार ९ गतेदेखि खाली रहेको राखेप सदस्य सचिवको पदमा असार २३ गते सिलवालले शपथ खाएका थिए । नयाँ सदस्य सचिवसामू रहेको साग आयोजनाको जिम्मा पुरा गरेका सिलवालले बाँकी कार्यकाल नेपाली खेलकुदलाई नयाँ बाटो देखाउने लक्ष्य सुनाएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : १० बजे

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा