प्राकृतिक कारणले नै गैंडा मर्न थालेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड « Khabarhub

प्राकृतिक कारणले नै गैंडा मर्न थालेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ ।

२ वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पुर्‍याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ ओटा गैँडा मरिसकेका छन् ।

चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत थप २ गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बाढीका कारण घाँसे मैदान र पोखरीहरु पुरिएको बताए ।

यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उनले बताए । ढकालका अनुसार नियमितका अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा १/१ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ ।

निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ । करीब  २५ लाख रुपैयाँ खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ । ठूला खरखडाइ र घाँस काट्ने, झाडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ ।

यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । १ करोड २० लाख रुपैयाँ खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, चाक्लो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

यसका अतिरिक्त आगो निभाउन र वन्यजन्तुलाई पानी खुवाउन सहज पार्नका लागि थप १० वटा पोखरीे व्यवस्थापनका लागि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । निकुञ्जभित्र ठूलासाना गरी ८० वटा पुराना पोखरीहरु छन् ।

उनले पश्चिमी क्षेत्रमा गैँडा बढी भएको तर घाँस र पानीको अभाव हुन सक्ने देखिएकाले पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिएको बताए । घाँस र पानीका लागि जाँदा एकै ठाउँमा धेरै गैँडा जुधेर र हानेर मर्ने क्रम बढी भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १ : ३५ बजे

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

वासिङ्टन – अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै

गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि