साउन १५ मै किन खीर खाने? | Khabarhub Khabarhub

साउन १५ मै किन खीर खाने?



स्थानीय जातका गाईभैँसीको दूध । तिनै गाईभैँसीको घिउ । दूधमा मिल्ने स्थानीय जातको चामल । सख्खर वा चिनी । नरिवल, छोकडा, बदाम, काजु, किसमिस जस्ता खाने मसला र ल्वाङ, सुकुमेल, मरिच, दालचिनीजस्ता मसला कुटेर मिसाएपछि बन्छ, स्वादिलो एवं पोषिलो खाना परिकार खीर ।

संस्कृति र खीर

सनातन संस्कृति र समाजमा छपक्कै भिजेको खाद्यपदार्थ हो, खीर । देवकार्यदेखि पितृकार्यसम्म खीर अनिवार्य मानिन्छ । पितृकार्य अर्थात् श्राद्धमा खीर (पायस) कै पिण्ड दिने परम्परा छ । पितृप्रसाद भन्नेवित्तिकै खीर सम्झिइन्छ । देवकार्यमा पनि खीरको महत्त्व छ । पूजाका प्रकृतिअनुसार खीरको भोग लगाउने, खीरकै होम र प्रसाद चढाउने चलन छ । कतिपय सन्दर्भमा बलि दिन पनि खीर (पायसबलि) कै प्रयोग हुन्छ । तीजको दरमा पनि विशेषगरी खीरकै चर्चा हुन्छ ।

लिच्छवीकालीन अभिलेखमा मन्दिरहरूमा खीर चढाउने र प्रसादका रूपमा खाने चलन पाइएको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलाल श्रेष्ठ बताउँछन् । ‘करिब एकहजार वर्ष पुराना अभिलेखमा मन्दिरमा खीर चढाइएको उल्लेख छ’, उनी भन्छन्, ‘चाडपर्वमा समेत यसको प्रयोग भएको पाइन्छ ।’ उनका अनुसार भक्तपुरको महालक्ष्मी मन्दिरमा पाइएको अभिलेखमा राजाहरूले देवीलाई खीर चढाएको उल्लेख छ ।

सनातन नेपाली समाजमा बालबालिकालाई सर्वप्रथम खीरबाट अन्न मुखमा पारिन्छ । अन्नप्राशन (पास्नी) मा खीर नै खुवाइन्छ । बूढाबुढी भएर अन्य खानेकुरा खान नसक्दा पनि खीरकै नाम लिइन्छ। खीरमा क्याल्सियम, कार्बोहाइड्रेट लगायत विभिन्न तत्त्व पाइन्छ । यसले बालबालिकादेखि वृद्धवृद्धाको स्वास्थ्यलाई समेत फाइदा गर्छ । बालबालिकाको वृद्धि विकासमा पनि ठूलो मद्दत गर्छ भने बिरामी भएका वा शारीरिक रूपमा कमजोर भएकालाई पनि शक्ति प्रदान गर्छ ।

साउन १५ मै किन ?

खीरको महत्त्व यति विशाल हुँदाहुँदै पनि साउन १५ लाई किन छुट्याइयो ? साउन १५ मै खीर खानुपर्छ भन्ने चलनचाहिँ कसरी र कहिलेदेखि चल्यो होला ?

कृषिप्रधान नेपाली समाज । असार साउन महिनाभरि खेतीपातीमा व्यस्त हुने जनजीवन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने महिना, साउन । प्रशस्त घाँस हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन् । प्रशस्त दूध भएपछि उपयोग त गर्नैपर्यो । अझ यस वेला यत्रतत्र चरेर जडिबुटी खाएका गाईबस्तुका दूध अधिक गुणयुक्त हुन्छन् । असारभरि र साउनको आधाआधीसम्म खेतबारीमा खट्दा लागेको चिसो भगाउन पनि खीर खाने चलन चलाइएको हुनसक्छ ।

नेपाली संस्कृतिमा गाईलाई लक्ष्मीको रूप मानिन्छ । स्थानीय गाईका दूधलाई पवित्र मानिन्छ । देवतादेखि पितृसम्मको मनपर्ने वस्तु मानिन्छ दूध । यो नचढाई कुनै पनि देवकार्य पितृकार्य सम्पन्न हुँदैनन् । साउनमा रुद्री लगाउने चलन छ । रुद्री गर्दा गाईको दूधद्वारा भगवान् शिवलाई अभिषेक गरिन्छ । पहाडी क्षेत्रमा साउनमा पितृलाई चढाउने, शिवलाई अभिषेक गाराउने र सोही दिन ब्राह्मणलाई खीर खुवाउने चलन अझै पनि छ ।

‘पहाडतिर साउनमा रुद्री लगाउने, ब्राह्मणलाई बोलाएर खीर खुवाउने चलन थियो पहिलेपहिले’, डा.सम्मोद आचार्य भन्छन्, ‘औँसी वा पूर्णिमा जस्ता तिथिमा गरिने यस्ता कर्म पछि गतेमा सरेका हुनसक्छन् ।’ धर्मशास्त्री डा.देवमणि भट्टराईका अनुसार साउन १५ मात्रै होइन महिनाभर नै खीरको महत्त्व छ ।

चिकित्सकहरूका अनुसार दूध मानव शरीरका लागि सर्वोत्तम भोजन हो । यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्व पाइन्छन् । यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन् । त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ ।

स्वास्थ्यसँग जोडिएको पक्ष

वर्षायाममा चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने कारण तातो र तागतिलो पदार्थ खानुपर्छ’, डा.आचार्य भन्छन्, ‘दूधमा हुने तत्त्व र धेरैबेर पकाउँदा बढ्ने गुणका कारण मानव शरीरलाई ज्यादै फाइदा पु¥याउँछ ।’ आचार्यका अनुसार आयुर्वेदमा अन्य पदार्थ ‘यो समय खान हुने, यो समय नहुने’ उल्लेख गरिए पनि दूधलाई त्यस्तो बन्देज लगाइएको छैन । अर्थात् दूध बाह्रै महिना खान सकिन्छ ।

आयुर्वेद र खानपान

सनातन परम्परामा मुख्यतः जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था छ । यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको उल्लेख पनि पाइन्छ । यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ । ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हुने र मानिसले चाहेअनुरूप पुरुषार्थ गर्न सक्ने बताइएको छ । एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउनुपर्ने निर्देश आयुर्वेदमा छ ।

हाम्रा चाडपर्व, संस्कृति र खानपान ऋतुसम्बद्ध छन् । मौसमअनुसारका चाडपर्व र चाडपर्वअनुसारका खानपान नेपाली संस्कृतिको चिनारी हो । निश्चित अवधिभरि खान निर्देश गरिएका खानेकुरा वर्षको एकदिन मात्र खाने चलन चलेका छन् । त्यसले स्वास्थ्यरक्षामा कस्तो भूमिका खेल्लान्, त्योचाहिँ विचार गर्नुपर्ने भएको छ ।

धिताललाई सम्पर्कका लागि [email protected]

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : २४ बजे

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको