प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ « Khabarhub

विश्व रक्तदाता दिवस

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नाराका साथ आज नेपाललगायत विश्वभर विश्व रक्तदाता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।

मानव रगतको रक्तसमूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन (जुन १४) को अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००६ देखि यो दिवस मनाउन थालिएको इतिहास छ । दिवसका अवसरमा सुरक्षित रक्तदान र रगत उत्पादनको आवश्यकताका बारेमा व्यापक सचेतना जगाउनुका साथै मानव जीवन बचाउन योगदान गर्ने रक्तदातालाई धन्यवाद ज्ञापन गर्ने गरिन्छ ।

यस वर्ष पनि ब्लड डोनर्स एसोसिएसन र गणबहाल रेडक्रस उपशाखा लगायतका संस्थाको संयुक्त आयोजनामा जनचेतनामूलक र्‍याली, वक्तृत्वकला, महिला अभिमुखीकरण र रेडक्रसमा ‘नेगेटिभ ब्लड ग्रुप’ भएका रक्तदाताको विशेष अन्तरक्रिया लगायतका सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

विगतको तुलनामा रक्तदानप्रति केही हदसम्म सचेतना फैलिए पनि आवश्यक परेका बेलामा बिरामीले रगत नपाउने समस्या अझै जस्ताको तस्तै कायम छ । यो जटिल समस्या हटाउन रक्तदानप्रति व्यापक सचेतना फैलाउन अझै आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

प्रविधिको अभाव र रगतको दुरुपयोग: बिरामीका आफन्तलाई सास्ती नेपालमा वैज्ञानिक सञ्चय, डिजिटल अभिलेख र न्यायोचित वितरणको अभावमा सङ्कलित रगतको समेत दुरुपयोग भइरहेको सरोकारवालाहरूले औँल्याएका छन् ।

ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष राजेश श्रेष्ठका अनुसार अस्पताल तथा रक्तसञ्चार केन्द्रबीच प्रभावकारी समन्वय र पारदर्शिता नहुँदा बिरामीका आफन्तले सास्ती भोग्नुपरेको छ भने रगतसमेत खेर गइरहेको छ ।

अस्पतालमा पुर्‍याइएको रगत कति प्रयोग भयो, कति फिर्ता भयो वा कति फालियो भन्ने स्पष्ट लेखाजोखा राख्ने आधुनिक प्रविधिको विकास हुन सकेको छैन । कतिपय अवस्थामा बिरामीका आफन्तले अस्पतालमा बुझाएको रगत प्रयोग नभए पनि भित्रभित्रै किनबेच हुने गरेको वा नष्ट हुने गरेको गम्भीर जनगुनासो एसोसिएसनमा आउने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

माग बढ्यो, दाता पर्याप्त बढेनन्: उपत्यकामा दैनिक ५०० युनिटको माग नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक तथा सम्पर्क अधिकृत सन्देश थापाका अनुसार रक्तदाताको सङ्ख्या विगतको तुलनामा बढ्दो क्रममा भए पनि रगतको माग अझ तीव्र गतिमा बढिरहेको छ ।

बढ्दो जनसङ्ख्या, जटिल शल्यक्रिया, दुर्घटना, दीर्घरोग र आकस्मिक उपचार सेवाका कारण रगतको माग निरन्तर बढिरहेको उनको भनाइ छ ।

“दाता बढेका छन् तर मागको अनुपातमा पर्याप्त छैनन् । स्थानीय तहहरूले रक्तदान कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् । तर केन्द्र सरकारले यो विषयलाई आवश्यक प्राथमिकता दिएर काम गरेको देखिँदैन,” निर्देशक थापाले भने ।

हाल काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक ४०० देखि ५०० युनिट रगतको आवश्यकता पर्ने गर्दछ । बिदाका दिनमा विभिन्न सङ्घसंस्थाको सक्रियतामा ८ देखि १० वटा रक्तदान क्याम्पहरू आयोजना हुने गरे पनि दैनिक रगत सङ्कलनको अवस्था भने निकै दयनीय हुने गरेको छ ।

“अहिले दैनिक १०० युनिट रगत सङ्कलन गर्न पनि धेरै धौ–धौ परिरहेको छ,“ ब्लोदानका अध्यक्ष श्रेष्ठले थपे, “माग र आपूर्तिबीच ठूलो खाडल छ । नेपालको कुल जनसङ्ख्याको मात्र २ प्रतिशत नागरिकले नियमित रक्तदान गर्ने हो भने देशमा कहिल्यै रगतको अभाव हुँदैन ।“

राज्यको उदासीनता र नीतिगत कमजोरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको सुरक्षित भण्डारण, डिजिटल अभिलेखन, वैज्ञानिक परीक्षण र दुरुपयोग नियन्त्रणमा खासै चासो नदेखाएको आरोप ब्लोदानको छ । सरकारले गर्नुपर्ने जनचेतनामूलक र समन्वयकारी कार्यहरू समेत स्वयंसेवी संस्थाहरूले आफ्नै बलबुतामा गर्नुपरिरहेको अध्यक्ष श्रेष्ठले गुनासो गरे ।

उपत्यकाभित्र हाल २४ वटा रक्तसञ्चार केन्द्रहरू सञ्चालित छन् भने भक्तपुरमा एउटा थप भई २५ वटा पुग्ने क्रममा छ । तर, यी केन्द्रहरूबीच एकीकृत डिजिटल प्रणाली नहुँदा कुन केन्द्रमा कुन ग्रुपको कति रगत उपलब्ध छ वा अभाव छ भन्ने तथ्याङ्क तत्काल पाउन कठिन रहेको छ ।

स्वयंसेवी रक्तदान अभियानलाई प्रभावकारी बनाउन, रक्तदाताहरूलाई उत्प्रेरित गर्न र सञ्चारमाध्यमहरूले सचेतना फैलाउन विशेष भूमिका खेल्नुपर्नेमा श्रेष्ठले जोड दिएका छन् । यसका लागि प्रदेश स्वास्थ्य मन्त्रालय र सङ्घीय सांसदहरूलाई समेत बजेट तथा नीतिका लागि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

फाइल फोटो

रक्तदानसम्बन्धी मापदण्ड र योग्यता सामान्यतया बालबालिकाबाहेक जोकोहीले पनि रक्तदान गर्न सक्छन् भन्ने सामान्य धारणा समाजमा छ । तर, चिकित्सकहरूले यसका लागि केही निश्चित दिशानिर्देश र मापदण्डहरू तय गरेका छन्, जुन निम्नअनुसार छन्:

उमेर र तौल: १७ देखि ६० वर्ष उमेरका कुनै पनि लिङ्गका व्यक्तिले रक्तदान गर्न सक्छन् । रक्तदाताको तौल न्यूनतम ४५ किलोग्राम र रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्रामभन्दा बढी हुनुपर्छ ।

स्वास्थ्य अवस्था: रक्तदान गर्ने व्यक्ति पूर्ण रूपमा स्वस्थ र कुनै गम्भीर रोगबाट पीडित हुनुहुँदैन । व्यक्तिको मुटु, फोक्सो र कलेजो राम्रो अवस्थामा हुनुपर्छ । जन्डिस, मलेरिया, टाइफाइड, एड्स र हेपाटाइटिसजस्ता रोग विगतदेखि नै लागेको हुनुहुँदैन । यदि दाताले कुनै औषधि प्रयोग गरिरहेको छ भने रक्तदानअघि डाक्टरसँग अनिवार्य परामर्श गर्नुपर्छ ।

रक्तदानको समयसीमा: वर्षमा चार पटकभन्दा बढी रक्तदान गर्न हुँदैन । महिलाहरूलाई भने वर्षमा दुई पटक मात्र रक्तदान गर्न सिफारिस गरिएको छ । मापदण्डअनुसार एक पटकमा ४०० मिलिलिटरभन्दा बढी रगत निकाल्नु हुँदैन ।

शारीरिक पुनर्गठन: प्रत्येक पटक रगत निकालेपछि शरीरमा तरल पदार्थको मात्रा पुनर्गठन हुन ३६ घण्टा र रक्तकोष गणना सामान्य स्तरमा फर्कन २१ दिन लाग्छ ।

कसले रक्तदान गर्न मिल्दैन? क्षयरोग, यौनजन्य रोगहरू, मधुमेह, दम, उच्च रक्तचाप, मिर्गौला समस्या, मुटुरोग, जन्डिस, ज्वरो र एड्सजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई रक्तदान गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

यदि कुनै व्यक्ति लामो समयदेखि औषधि सेवन गरिरहेको छ वा कुनै पनि लागूपदार्थको लतमा छ भने उसलाई रक्तदान गर्न निषेध गरिन्छ । यसका साथै, महिलाहरूको हकमा महिनावारी, गर्भावस्था र स्तनपान गराइरहेको समयमा पनि रक्तदान गर्न मिल्दैन ।

रक्तदाता बढाउन सरकारकै भूमिका आवश्यक काठमाडौँ उपत्यकाको दैनिक ५०० पिन्टको माग र आपूर्तिको खाडल पुर्न सरकारको भूमिका मुख्य हुने ब्लोदानका अध्यक्ष श्रेष्ठ बताउँछन् । आपूर्ति नहुनुको मुख्य कारण सचेतनाको कमी नै हो ।

‘सचेतना फैलाउन सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सबै सरोकारवाला निकायहरूले ध्यान दिनुपर्छ । हामीजस्तो स्वयंसेवी रक्तदान गर्ने गराउने संस्थालाई सँगै लिएर छुट्टै बजेट राखेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्‍यौँ भने माग र आपूर्तिमा सामञ्जस्य ल्याउन सक्छौँ’, उनले भने ।

विगतको तुलनामा सचेतना केही मात्रामा बढे पनि अझै देशलाई चाहिने जति रगत सङ्कलन गर्न नसकिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले १८ वर्ष पुगेका हरेक स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न हार्दिक आग्रह समेत गरेका छन् ।

विश्व रक्तदाता दिवस: माग र आपूर्तिमा ठूलो खाडल, एकीकृत डिजिटल प्रणाली नहुँदा बिरामीलाई सास्ती

रगतको माग तीव्र तर पर्याप्त छैनन् दाता, नीतिगत रूपमा सरकार उदासीन भएको सरोकारवालाको आरोप

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ९ : ०३ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा