काठमाडौं– गत आइतबार काठमाडौंको महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरेको छ ।
गत आइतबार पक्राउ परेका २५ जनाविरुद्ध नै ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख (डिएसपी) उमेश लम्सालले जानकारी दिए ।
आइतबार पक्राउ परेका उनीहरु यसअघि नै ५ दिन हिरासतमा रहिसकेका छन् । प्रहरीले अबथ प २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।
जुवाखालबाट पक्राउ परेकामध्ये १४ जनाले भने सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सर्वोच्चमा बिहीबार पनि सुनुवाई जारी छ ।
प्रहरीले गत आइतबार काठमाडौं महानगरपालिका–३ महारजगञ्ज (पिपलमार्ग)बाट जुवा खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबर बैंकको चेक बरामद भएको थियो ।
प्रतिक्रिया