देशभर कोरोनाको त्रास, डोल्पामा सीडीओ र चिकित्सकको अलग्गै ‘द्वन्द्व’ | Khabarhub Khabarhub

देशभर कोरोनाको त्रास, डोल्पामा सीडीओ र चिकित्सकको अलग्गै ‘द्वन्द्व’


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्ने भन्दै सरकारले अहिले देशव्यापी लकडाउनको आदेश जारी गरेको छ ।

कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न सर्वसाधारणलाई घरबाट बाहिर निस्किन दिइएको छैन भने संक्रमणको आशंका गरिएकाहरुलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउने जिम्मा स्थानीय प्रशासन हो भने संक्रमणको आशंका गरिएका हरुको उपचार तथा रोकथामको जिम्मा स्वास्थ्यकर्मीको हो ।

तर, डोल्पामा भने स्थानीय प्रशासन प्रमुख (प्रमुख जिल्ला अधिकारी) र जिल्लामा रहेका चिकित्सकहरुबीच नै विवाद उत्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलबीचको विवादका कारण जिल्लामा कोरोनाविरुद्धको अभियान नै प्रभावित हुन पुगेको छ ।

जिल्ला अस्पतालका प्रमुख डा रावलले प्रजिअ सुनारबाट आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारी चिकित्सकहरुको संगठन सरकारी चिकित्सक संघ (गोदान)मा गुनासो नै गरेका छन् । रावलकै गुनासोका आधारमा गोदानले एक विज्ञप्ती नै जारी गर्दै सीडीओ सुनारबाट राणाकालीन शैलीमा हैकम चलाउने काम भएको आरोप लगाएको छ ।

गोदानले जारी गरेको विज्ञप्तीमा सीडीओ सुनारले कोरोनाको विषयमा छलफल गर्न भन्दै बैठकमा बोलाएर दुर्व्यवहार गर्ने तथा अस्पतालका प्रमुख डा. रावललाई हिरासतमा राख्न लगाएको उल्लेख छ ।

‘राणा शासनको झल्को दिने गरी प्रजिअ (सुनार)ले अस्पतालका प्रमुख डा. सिजन रावललाई विना कुनै पत्र वा अदालती प्रक्रिया तत्काल नै वलजफ्ती हिरासतमा राखेको, मोबाइल फोन जफत गरी सम्पर्कविहीन बनाएको र विना आधार मेडिकल जाँच गर्न आदेश दिएको जस्ता आधारभूत मानव अधिकार समेतको ख्याल नगरी चालेको कदमको संघ घोर भर्त्सना गर्दछ,’ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डे र महासचिव रविन खड्काद्वार हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

गोदानका महासचिव डा रविन खड्का कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्लामा बसेको बैठकमा बोलाएर प्रमूख जिल्ला अधिकारी सुनारले चिकित्सकहरुमाथि दुर्व्यवहार आरोप लगाउँछन् ।

सरकारी चिकित्सक संघ(गोदान)ले जारी गरेको विज्ञप्ती

गोदानका महासचिव डा खड्का अनुसार छलफलका क्रममा चिकित्सकहरुले आफूहरुसँग व्यक्तिगत सुरक्षा कवच (पीपीई) नभएकाले शंकास्पद व्यक्तिको उपचार गर्न नसकिने भन्दै गुनासो गरेका थिए । तर, प्रजिअ सुनारले चिकित्सकको गुनासो सुन्नुको सट्टा दुर्व्यवहार गरेका खड्का बताउँछन् ।

‘घटना भएलगतै त्यहाँका चिकित्सकहरुले हामीलाई खबर गर्नुभएको थियो, हिजो (मंगलबार) कोरोना रोकथामको सन्दर्भमा छलफलका लागि चिकित्सकलाई बोलाएर प्रजिअले नै दुर्व्यवहार गरेका रहेछन्,’ गोदानका महासचिव खड्काले खबरहबसँग भने, ‘चिकित्सकहरुले पीपीई विना काम गर्न सकिदैन भनेपछि प्रजिअले अस्पतालका प्रमुखलाई केही समय हिरासतमा पनि लिएको त्यहाँका चिकित्सले गुनासो गरेका थिए ।’

प्रजिअ सुनारले अस्पतालमा काम गर्दा गर्दै बैठकमा ढिला पुगेका चिकित्सकलाई समेत गालीगलौच गरेको खड्काको भनाइ छ ।

कोरानाको सन्दर्भमा जोखिममा काम गरीरहेका चिकित्सकलाई कार्यक्षेत्रको वातावरण सहज बनाइ हौसला प्रदान गर्नुको सट्टा दुर्व्यवहार गरेको भन्दै गोदानले घटनाको भर्त्सना गरेको छ ।

तर, प्रमुख जिल्ला अधिकारी सुनार भने आफुले चिकित्सकहरुमाथि दुर्व्यवहार नगरेको दाबी गर्छन् । कोरोना भाइरसको रोकथामका विषयमा अस्पतालका तर्फबाट पर्याप्त तयारी नभएको विषय उठाएपछि चिकित्सकहरुले आफूमाथि दुर्व्यवहारको आरोप लगाएको हुन सक्ने प्रजिअ सुनारको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पा

‘चिकित्सकमाथि कुनै दुर्व्यवहार भएको छैन । कोरोनाको रोकथामका सन्दर्भमा अस्पतालका तर्फबाट किन केही तयारी भएन ? राम्ररी काम गर्नु पर्‍यो भनेर मैले निर्देशन दिएको हो,’ प्रजिअ सुनारले खबरहबसँग भने, ‘तर, उहाँहरुले हामी काम गर्दैनौं । जे कारबाही गर्नुहुन्छ गर्नुहोस् भनेर उहाँहरु नै निस्किनु भएको हो ।’

प्रजिअ सुनारले जिल्ला अस्पतालका चिकित्सकबाट नै उल्टै त्रुटी भएको औंल्याए । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने मान्छेले अस्पताल बन्द गर्न मिल्छ ? अस्पतालले आफ्नो तयारी गर्नुपर्छ कि पर्दैन ?’ प्रजिअ सुनारले प्रश्न गर्दै भने ।

अस्पतालका तर्फबाट केही कमजोरी भए पनि कोरोनाविरुद्धको अभियानमा कुनै असर भने नपरेको प्रजिअ सुनारको भनाइ छ । ‘कोरोनाको रोकथामका सन्दर्भमा कुनै असर परेको छैन । आज पनि मैले उहाँहरुलाई छलफलका लागि बोलाएको छुँ । हाम्रो छलफल हुन्छ । कोरोना संक्रमण रोक्न हामी सबै गम्भीर छौं । हुनुपर्छ पनि,’ प्रजिअ सुनारले भने ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : २२ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको